बैशाख २३, २०८२ मंगलबार

साहित्यकार सरोज ओलीको निधन

झापा । झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

अर्जुनधारा ८ निवासी ओलीको आज दिउँसो आफ्नै निजी निवासमा निधन भएको हो । साहित्य लेखनमा चर्चित ओलीले २०५३ र २०७२ मा गरी दुईपटक राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै तीन वर्षअघि अर्जुनधारा नगरपालिकाले उनलाई दीर्घ साहित्य सेवा पुरस्कारबाट सम्मानित गरेको थियो ।

नेपाली साहित्य क्षेत्रमा उनको अतुलनीय योगदान रहेको छ । उनका १६ वटा कृति प्रकाशित छन् । निबन्ध संग्रह, कविता संग्रह, उपन्यास र कथा संग्रह प्रकाशित छन् । उनी नेपाल प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य र झापा अध्यक्ष भएका थिए ।

शैक्षिक क्षेत्रमा ठूलो योगदान दिएका उनले शनिश्चरे माध्यमिक विद्यालयमा ३३ वर्षसम्म अध्यापन गरेका थिए । विसं। १९९८ सालमा आठराराईको होडास्थित गैरीघरमा जन्मिएका ओलीले झापाको दोस्रो पुरानो हाइस्कुल शनिश्चरे माध्यमिक विद्यालयमा २०२९ सालदेखि ३३ वर्षसम्म शिक्षा सेवा गरेका थिए ।

सेवा निवृत्त भएपछि पनि शनिश्चरे माविको व्यवस्थापन समितिको अध्यक्ष भएर सेवा दिएका थिए भने शनिश्चरे बहुमुखी क्याम्पसको उनी संस्थापक अध्यक्ष हुन् । उनले क्याम्पसमा ३ कार्यकाल सेवा प्रदान गरेका थिए ।

सुगर र प्रेसरबाट ग्रसित उनलाई पछिल्लोपटक निमोनिया भएको थियो । १७ दिनसम्म बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार गरिएको परिवारजनले जानकारी दिएको छ ।

उनका दुई छोरा र एक छोरी रहेका छन् । जेठा छोरा निरजकुमार ओली कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अध्यक्ष हुन् भने कान्छा छोरा सार्दुलहाङ ओली न्यू भिजन बचत तथा ऋण सहकारी संस्थाका सचिव रहेका छन् । छोरी सुम्निमा ओली थपलिया हुन् । दिवंगत ओलीको पार्थिव शरीरलाई शनिवार बिहान ११ बजे कनकाई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक १६, २०८१ शुक्रबार  ११ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]