बिरिङ खोलामा छठ पुजाको तयारी पुरा
बिर्तामोड । झापाको विरिङ खोला किनारमा आयोजना गरिने छठ पुजाको तयारी पुरा भएको छ । आज पत्रकार सम्मेलन गर्दै छठ समाज सेवा समिति बिर्तामोडले पुजाका लागि आवश्यक तयारी पुरा भएको जनाएको हो ।
छठ समाज सेवा समिति बिर्तामोड ०७१ सालदेखि विरिङ खोलाको किनारमा पुजा आयोजना गर्दै आएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार त्यसअघि बिर्तामोडस्थित अदुवा खोलामा पुजा गर्ने गरिन्थ्यो । पुजा गर्नेहरुको संख्या बढ्दै गएपछि विरिङमा पुजा गर्न थालिएको हो ।
छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष रामेश्वर द्विवेदीले यो वर्षको छठ विगत वर्षहरुको भन्दा भव्य हुने बताएका छन् । उनले छठ पुजा गर्ने घाटको संख्या ४ सय पुराउने जानकारी दिए । गत वर्ष ३ सय मात्र थियो । उनले वर्षेनी छठ पुजाको लागि ब्रत बस्नेहरुको संख्या बढ्दै गएको जानकारी दिएका छन् । छठ पुजा सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको उनको भनाई छ ।
छठ पुजालाई सुरक्षित र व्यवस्थित बनाइने समितिका पूर्व अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए । उनले ट्राफिक व्यवस्थापनदेखि पार्किङसम्मको व्यवस्थापनलाई व्यवस्थित गरिने बताए ।
विरिङमा बिर्तामोड, चारपाने, लक्ष्मीपुर र दुर्गापुरका भक्तालुहरुले पुजा गर्ने महासचिव अशोक कुमार चौधरीले जानकारी दिए । पुजा सम्पन्न गर्नका लागि १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
कार्यक्रम अनुसार बिहीवार दिउँसो ३ बजे बृहत सांस्कृतिक आयोजना गरिएको छ । बिहीवार साँझ अस्ताउँदो सुर्य र शुक्रवार विहान उदाउँदो सुर्यलाई अघ्र्य दिई छठ पुजा सम्पन्न गरिने छ ।