मंसिर २२, २०८१ शनिबार

पूर्णबहादुरको सारङ्गी : बलियो कथा, जीवन्त अभिनय

एकराज प्रधान

दशैँमा हामीले दुई खाले फिल्म पायौँ । एउटा कमेडी, अर्को एक्सन । कमेडीमा हाँस्यौँ, रमायौँ । एक्सनमा शोषक सामन्तीलाई ढाल्दा उत्साहित भयौँ । तर, तिहारमा रुवाउने फिल्म आएको छ – पूर्णबहादुरको सारङ्गी । हलहरुमा दर्शकहरु अझै पनि भक्कानिएर रोइरहेका छन् ।

अब रुन पनि को फिल्म हेर्न जान्छ ? भन्नुहोला । तर, त्यसो होइन । पर्दाबाटै मान्छे रुवाउन अहिले त्यति सजिलो छैन । कथानक र अभिनयको डेप्थ, ब्याकग्राउन्ड स्कोरदेखि हरेक कुराले त्यो अनुभूत गराउनु पर्छ, मन छुनु पर्छ अनि मात्र मान्छे रुन्छ । नत्र को रुन्छ, हैन र ?

विजय बराल अभिनयका पुजारी हुन् । हामीले उनलाई अनेक पात्रमा देख्दै आएका हौँ । खासगरी हसाउने क्यारेक्टरमा । यो फिल्ममा उनले गहन चरित्र निभाएका छन् ।

युट्युबमा सार्वजनिक भएका गीत, ट्रेलरबाटै धेरै कुरा थाहा हुन्छ, यो एउटा गन्धर्व समुदायको कथा हो । जो गाइनेका रुपमा गीत गाउँदै गुजारा गरिरहेको हुन्छ । यो गन्धर्वको पेशा नै हो । यो पेशाप्रति समाजको फरक नजर अनि त्यही समुदायले आफ्नो पेशालाई कसरी लिइरहेको छ भन्ने सवालको उत्तर फिल्ममा भेटिन्छ । पेशाको पुस्तान्तरणमा आउने समस्या अनि उनीहरुले बाँचिरहेको जीवनलाई हामी दर्शकले नजिकबाटै देख्न पाउँछौँ ।

सुरुमा प्रकाश सपुत अर्थात् फिल्ममा कमलेको आँखाबाट बा अर्थात् पूर्णबहादुरको कथा भनिन्छ । विजय बरालले गरेको पूर्णबहादुरको क्यारेक्टरले दर्शकमा गहिरो छाप छाड्न सफल छ । फिल्म हेरिसकेर पनि यो पात्रको झझल्को आइरहन्छ ।

पूर्णबहादुरले छोरालाई आमा अर्थात् बाटुलीको कथा सुनाउँछ । बाटुलीको भूमिकामा अन्जना रसाइली रहेकी छन् । अनि बाटुलीको आँखाबाट गन्धर्व समुदायको अवस्था र पेशाप्रतिको सोचलाई प्रस्ट्याउन खोजिएको छ । निर्देशक सरोज पौडेलले दर्शकलाई अलमलिने ठाउँ नदिई फिल्मलाई सलल बगाएका छन् । उनले सुरुबाटै दर्शकलाई कसेर बाँध्छन् । बाउलाई जलाउँदै गरेको दृश्यसँगै दर्शक भित्र एउटा प्रश्न जन्मिन्छ, खासमा बाटुलीले पूर्णेलाई किन छाडिन् ? दर्शकले यही प्रश्नलाई मन राखेर कथा हेर्छन् । विस्तारै निर्देशकले बुझाउँदै जान्छन् ।

दोस्रो हाफमा छोराको सपनाका लागि बुबाले ज्यान फालेर गरेको दु:खलाई हेर्न पाइन्छ । छोराको अगाडि रुन नसकेर रुखमा छलिएर रोएको एउटा दृश्यले साँच्चै दर्शकको मनलाई चिरेर दुई टुक्रा पारिदिन्छ । कमलेमा चेतना भर्न पूर्णेले गरेको क्रान्तिलाई निक्कै मिहिन तरिकाले फिल्मले पस्किन्छ । जब फिल्म क्लाइमेक्समा पुग्छ, दर्शकलाई हुरुक्कै हुने गरी फिल्मले ऐंठन पार्छ । दर्शकको मनलाई टुक्रा मात्रै होइन, पुरै भत्काइदिन्छ । हामी फिल्म हेरिरहेका छैनौँ, कसैले भोगिरहेको जीवन हेरिरहेका छौँ भन्ने लाग्छ । त्यसैले हामी पूर्णे हाँस्दा हाँस्छौँ, उसको खुसीमा ताली पिट्छौँ, अनि ऊ भक्कानिएर रुँदा आँशुलाई रोक्न सक्दैनौँ । विजय बराल आफ्नो अभियन कलाबाट ‘पूर्णबहादुर’ पात्रलाई अमर बनाउन सफल भएका छन् ।

यो फिल्मले २०३९ सालको परिवेशको कथा बोल्छ । जतिबेला पञ्चहरुको शासन चल्थ्यो । त्यो कालखण्डलाई जस्ताको त्यस्तै उतार्न निर्माण टिमले सारै धेरै मेहनत गरेको छ । महेन्द्र माला पुस्तक, विजुली नपुगेको समय, मट्टितेल बोतलमा हालेर बनाइएको कुप्पी, पुरानो बसको हर्न, खाली खुट्टा, पुरानो पहिरन र परिवेश हेर्दा त्यो समय भोग्नेहरुले आफ्नो त्यो उमेरको पुन: यात्रा गर्न पाउँछन् ।

पात्र र चरित्रको कुरा गर्नुपर्दा पूर्णे क्यारेक्टर एउटा गाइने हो । आफ्नो सारङ्गी, पेशा र परिवारप्रति उसको अगाध प्रेम छ । पुस्ताबाट पाएको साँघुरो चेतना र समाजमा विद्रोह गर्न नसक्ने उसलाई जब आफन्तहरुबाट गहिरो चोट पुग्छ, तब ऊ क्रान्तिकारी बन्न पुग्छ । यहाँ बन्धुकधारी भन्न खोजेको होइन, चेतनाको लागि उसले गरेको क्रान्तिको कुरा गर्दैछु ।

विजय बरालले पूर्णेको मुडलाई मिहिन पारामा पछ्याएका छन् । जीवनको हरेक कालखण्ड, मनोदशा र परिस्थितिलाई गज्जबले प्रस्तुत गरेका छन् । तन्देरी, छोराको बाउ र बुढ्यौली कहीँ कतै खोट लाउने ठाउँ भेटिँदैन । डायलग डेलिभरी र बडी ल्याङ्ग्वेजमा निक्कै मेहनत देखिन्छ । फिल्म हेरिरहँदा विजय बराललाई बिर्सेर हामीले केवल पूर्णे पात्रलाई मात्र हेर्छौं ।

मुकुन भुषाल विरेका रुपमा देखिन्छन् । पूर्णेको साथी । अलिअलि पढेको, अलिअलि आरिसे । र, भैपरी आउँदा घ्याप्पै अँगालो हाल्ने साथी । उनले पनि आफ्नो चरित्रलाई निक्कै मेहनतपूर्वक निभाएका छन् ।

अन्जना बराइली छिन् बाटुली चरित्रमा । गाइनेको गीतमा मक्ख परेकी उनको विवाहपछिको मनोदशाले दर्शकलाई गम्भीर बनाउँछ । एकातिर प्रेम अर्कोतिर टिठलाग्दो जीवन । सिँउदो त भरी छ तर मन भने खाली । गाइने हुनु भनेको माग्ने हुनु हो । माग्नेको कुनै इज्जत हुँदैन भन्ने सोच उनमा भेटिन्छ । स्वाभिमान र प्रेमबीचको लडाइँले फिल्मलाई टर्निङ पोइन्टमा र्पुयाउँछ । उनले लिने केही निर्णयबाट पूर्णेको जीवनमा उतार चढाव आउँछ । पूर्णेको पक्ष लिने कि बाटुलीको ? दर्शकको मनभित्र द्वन्द्व सुरु हुन्छ । एकातिर उनी गम्भीर देखिन्छिन् भने पूर्णे हँसिमजाक गरिरहन्छ । बाटुलीलाई भविष्यको चिन्ताले सताएको छ, पूर्णेले भने गन्दर्भको जीवन यस्तै हो भनेर चित्त बुझाएको छ ।

कमलेको भूमिकामा छन् प्रकाश सपूत र बाल कलाकार स्वयम् केसी । समयका हिसाबले स्वयम् केसीलाई पर्दामा धेरै देख्न सकिन्छ । उनको अभिनय निक्कै प्यारो रहेको छ । दर्शकले प्रकाशलाई भन्दा बढी स्वयम्लाई सम्झिने छन् । बाल मनोविज्ञानमा पनि फिल्मले निक्कै मेहनत गरेको छ ।

प्रकाशको भने आशा गरे अनुसार कमजोर नै लाग्छ । केही मुडहरु निकै हतारको अभिनय देखिन्छ । बुद्धि तामाङ माइलाका रुपमा देखिन्छन् । भोलाराज खनाललाई मास्टरको रुपमा देखिन्छ । मास्टर भए पनि सोच र उनले बोकेर हिँडेको क्रान्तिप्रति दर्शकलाई चित्त बुझ्दैन । समाज यस्तै अगुवाहरुका कारण अघि नबढेको भाव यो क्यारेक्टरबाट पाउन सकिन्छ । विनोद न्यौपाने हर्के क्यारेक्टरमा छन् ।

फिल्ममा देशझखनाल, माओत्से गुरुङ, शंकर आचार्य लगायत धेरै कलाकारहरुलाई देख्न सकिन्छ ।
फिल्मको ब्याकग्राउन्डमा बज्ने सारङ्गी, सिंक साउन्ड, अनि मुड अनुसारका ब्याकग्राउन्ड म्युजिकले कथामा सहयोग गरेको छ । छायाँकन पनि दमदार छन् । पात्रको हरेक इमोसनलाई प्रस्ट देख्न सकिन्छ । स्टोरीलाइन अनुसारको गीत र्फक्ट छ । गीतभित्रको कहानीले साँच्चै मन छुन्छ । यतिसम्म याद गरिएको छ कि धुन अनुसार नै विजयको हात सारङ्गीमा चलिरहेको देखिन्छ । संवादहरु उत्कृष्ट छन् ।

सब्बै कुरामा फिल्म परफेक्ट छ । यति भन्दा भन्दै केही जिज्ञासा भने रहन्छ । कमलेको आँखाबाट फिल्म सुरु भएपछि उसले नभोगेको अथवा नसुनेको कुरा किन देखाइयो भन्ने प्रश्न उब्जिन्छ । बाटुलीको क्यारेक्टर जस्टिफाइ गर्न केही सिन क्रिएट गरिएको छ । तर, के यो जरुरी थियो ? कथावाचनमा सामान्य कुरा त्रुटी भएको अनुभूति हुन्छ ।
केही सिनमा धेरैले छोरो डोर्होयाएको देखिन्छ । ती नानीहरु सबैलाई एकै ठाउँ राखेर खेलेको वा उनीहरु के सोच्छन् भन्ने देख्न पाइएन । अनि मुकुनले बोल्ने ‘बिप’ शब्दलाई अनावश्यक धेरै ठाउँमा घुसाएको जस्तो लाग्छ ।

फिल्मले गन्धर्व समुदायप्रति सहानुभूति त देखाएको छ तर यसको ट्रिटमेन्ट गर्न सकेको छैन । यो पेशाको संरक्षण कसरी हुन्छ र आफ्नो पेशामा गर्व गर्न कसरी सक्लान् भन्ने प्रश्नको उत्तर फिल्मले दिन सकेको छैन । यो केवल माग्ने माध्यम होइन, यो पेशा हो भन्ने कुरामा फिल्मले जोड दिन आवश्यक थियो । फिल्ममा एउटा डायलग पनि छ, ‘काम गरेर खानु नि !’ तर, गाइनेको गीत सुनाएरै गुजारा गर्ने पेशा हो । प्रकाश सपूत सफल गायक भएकाले पनि कथामा केही आश गरिएको थियो । तर, अर्कै पेशालाई टाँसेर फिल्मले सारङ्गीलाई रुवाइदिएको छ । सारङ्गी बजाउनेहरुले दु:ख मात्रै सुनाउँदैनन्, देशविदेशको घटना, इतिहासका कुरा अनि रमाइला हँसिमजाकका कुरा पनि सुनाउँछन् भन्ने कुरालाई कमै महसुस गर्न पाइन्छ ।

२ घण्टा २५ मिनेटको फिल्मले पूर्णे पात्रबाट गरिएको एउटा क्रान्तिको परिभाषा दिन्छ । छोराछोरीको उज्यालो भविष्य कोर्न कुन हदसम्म दु:ख गर्नुपर्छ भन्ने सिकाउँछ । हरेक संस्कार र पेशाको सम्मान गरिनुपर्छ भनेर आमदर्शकलाई घच्घच्याउँछ । फिल्म एकदमै राम्रो छ ।

सेभेन सिज र बाँसुरी फिल्म्सको ब्यानरमा बनेको फिल्ममा हाँसो-रोदन दुवैको मिश्रण छ । त्योभन्दा बढी गन्धर्वको जीवन छ । पात्रहरुको मनोदशा र सामाजिक सोचसँग लडाइँ छ । रोमान्टिक दोहोरीसँगै निश्चल प्रेम छ । भनौँ फिल्ममा चाहिने जति सबै छ । विजय बरालको अभिनयको जति तारिफ गरे पनि कम हुन्छ । दर्शकको धेरै माया पाउनेमा ढुक्क हुन सक्ने अवस्था छ ।

प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]