बैशाख १७, २०८१ सोमबार

बिर्तामोडले कृषिमा जगायो आशा

प्रदीप परियार

झापा जिल्लाकै महत्व राख्ने बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले प्रायः कार्यक्रमहरुमा विषादी विरुद्धको भाषण गर्दै आएका छन् । उनी आफै पनि अर्गानिक माछा उत्पादन गर्दै आएकोले अर्गानिक उत्पादनमा जोड दिन आम नागरिकलाई झकझकाई रहेका हुन्छन् । अधिकांश कार्यक्रममा उनले भाषणमा नछुटाउने विषय नै बनेको छ, विषादीको कुरा ।

कार्यक्रममा उनले सहभागीलाई विषादीको प्रभावले स्वास्थ्यमा पार्ने असरका बारेमा पनि चर्चा गरिरहेका हुन्छन् । उनको त्यो भाषणलाई बिर्तामोडका खिसी टिउरीको विषय पनि बनाइन्छ । अर्गानिक मेयर भन्दै उनलाई होच्याइन्छ । टिप्पणी गर्नेहरुलाई मेयर एउटा पात्र पनि बनेका छन् । तर, कृषिलाई अर्गानिक बनाउने उनको प्रयास भने सकारात्मक छ । पूर्ण रुपमा विषादी मुक्त बनाउन अहिले नसकिएला मेयर शिवाकोटी भन्छन्, अहिलेबाटै विषादी कम गर्यो भने अबको केहि वर्षमा बिर्तामोडलाई पक्कै विषादी मुक्त नगर बनाएरै छोड्छु ।

खिसी टिउरी बनाइएको बिषय अर्गानिक अभियान हो । हामीले कृषिमा बिर्तामोड नगरपालिकाले बोलेको मात्र हो या केहि काम पनि गरिरहेको छ भनेर बिर्तामोडका केहि वडा घुमेका छौं । मेयरले अर्गानिक अभियानलाई नारा मात्र बनाएका हुन वा त्यसका लागि केहि प्रयास गर्दैछन् भन्ने पनि हेरेका छौं । बिर्तामोड नगरपालिकामा जनप्रतिनिधि आएपछि मेयरले अर्गानिक उत्पादनमा जोड दिए । धेरैले अर्गानिक उत्पादन संभव नभएको प्रतिक्रिया पनि दिए । तर, होइन रहेछ ।

बिर्तामोडमा धेरै किसान अर्गानिक उत्पादनमा लागिसकेको पाइयो । विषादीको प्रयोग नगरी पनि धेरै किसान अर्गानिक उत्पादनमा लागिसकेका छन् । उनीहरुलाई उत्पादन पछिको बजारको समेत चिन्ता छैन । अर्गानिक उत्पादन भएको थाहा पाएर धेरै उपभोक्ता घर मै गएर खरिद गरिरहेको बुझ्न पायौं ।

बिर्तामोड नगरपालिकामा यतिबेला ‘एक समूह , एक उत्पादन’ कार्यक्रम सञ्चालन भइरहेको छ । सँगै मेयर विषादी मुक्त कार्यक्रम पनि सञ्चालन भइरहेको छ । २ समूहले १० विगाहमा आलु खेती गरिरहेको छ । ५ समूहले ९८ विगाहमा तोरी, १ समूहले २० विगाहमा राज्मा, १ समूहले २२ विगाहमा फापर र २ समूहले ३० विगाहमा सुर्यमुखी खेती लगाएका छन् ।

तरकारी उत्पादन असिमित जस्तै छ । नगरपालिकाले उनीहरुलाई विउ र प्रति विगा १५ सयका दरले सहयोग उपलब्ध गराएको छ । जमिनको क्षेत्रफल र किसानको उत्साह अनुसार नगरपालिकाको सहयोग सामान्य भए पनि कृषिमा नगरले संभावना देखाउने काम अवश्य गरेको छ । बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरिया भन्छन्, हामीले किसानलाई उत्साह मात्र दिएका छौं , त्यसको परिणाम अहिले पनि गौरवपूर्ण छ । यदि ठुलो सहयोग गर्न सक्यौ भने बिर्तामोड सबै उत्पादनमा आत्मनिर्भर बन्न सक्छ ।

हाम्रो कृषक समूह बिर्तामोड – ७ ले ५ विगाहमा आलु रोपेको छ । २ समूहले ५÷५ विगाह आलु लगाएका छन् । १२ जनाले मिलेर आलु उत्पादन गरिरहेका छन् । सामूहिक खेतिको अवधारणा अनुसार लगाइएको आलु आधुनिक खेति प्रणाली अनुसार गरिएको छ । मेयर विषादी मुक्त कार्यक्रममा तालिम लिएर कृषिमा थप सिप सहित लागेका किसान आलुबाट चौगुणा मुनाफा कमाउन सकिनेमा विश्वस्त छन् । उनीहरुको मेहनतमा स्थानीय सरकारको उत्तिकै साथ रहेको नगरका प्रशासन प्रमुख देवराज कार्कीको भनाई छ ।

उनले बिर्तामोड भन्नाले मुक्तिचोकलाई मात्र हेर्न नहुने बताए । किसानले गाउँगाउँमा उत्साहजनक काम गरिरहेको कार्कीको भनाई छ ।
बिर्तामोड –७ मै होमनाथ घिमिरेको समूहले पनि कृषिमा नयाँ आशा जगाएका छन् । उनी रेखा नगर कृषक समूहका अध्यक्ष हुन् । हरेक दिन १ सय मुठा अर्गानिक धनिया बजार पु¥याइरहेका छन् । १ सय मुठा बजार पु¥याउन कुनै समस्या छैन । अर्गानिक धनियाँ, टमाटर र रायो उत्पादन गरेर बजार पु¥याइरहेको अधिकारीको भनाई छ । मुल्य पनि राम्रो पाउँछौ, विक्रि गर्न पनि कठिन छैन– उनले भने । विषेश गरी तरकारी उत्पादनलाई जोड दिइरहेको रेखा नगर कृषक समूहले तोरी लगाएको छ ।

उनीहरुको समूहमा आवद्ध सबै परिवार तरकारी उत्पादन गर्दै आएका छन् । तरकारी बजारसम्म पु¥याउनै पर्दैन, घरमै आएर लैजानुहन्छ । सो समूहका सचिव डिल्लीराम बाँस्कोटाले कृषिमा सामान्य साथ सहयोग पाइए ठुलो फड्को मार्न सकिने बताउँछन् । उनी भन्छन्, सबैभन्दा ठुलो कुरा भनेकै स्वास्थ्य हो ।

हामीले उत्पादन गरेको स्वस्थ्य तरकारी खान पाउने परिवारलाई स्वास्थ्य जोखिम कम हुन्छ । आफै पनि स्वस्थ्यकर तरकारी खाइरहेका छौ । बाँस्कोटाका अनुसार विषादी छिट्नेलाई झनै खतरा हुन्छ । त्यसैले हामी किसान पनि सुरक्षित छौं । उनले स्थानीय सरकारले सहयोग मात्र गरेर नपुग्ने बताए । सहयोग गरेको ठाउँमा अनुगमन र निगरानी अनिवार्य गर्नुपर्ने उनको भनाई छ ।

सोहि समूहमा आवद्ध बृद्धा ज्ञानमाया खतिवडा तरकारी उत्पादक किसान हुन् । उनी आफ्नै बारीमा बन्दाकोभी, रायो, राज्मा, आलु उत्पादन गर्दै आएकी छन् । अहिले कुनै पनि तरकारी बोकेर बजार जानुपरेको छैन । घरमै उनका ग्राहक तरकारी किन्न आइपुग्छन् । तरकारी उत्पादन गरेर घर खर्च, बालबच्चाको शिक्षा खर्च र अन्य खर्च चलाइरहेको बृद्धा खतिवडाले जानकारी दिएकी छन् । उनले भनिन्, विना रसायनिक मलले तरकारी फलाउने भनेर चिन्छन् । त्यसैमा म खुशी छु ।

बिर्तामोड–९ कि लक्ष्मी देवि अधिकारी सयपत्री फुल उत्पादन गर्ने किसान हुन् । उनको बारीमा अहिले पनि सयपत्री फुलिरहेको छ । विउका लागि सयपत्री सुकाएर पनि राखिएको छ । सयपत्री फुल उत्पादन भन्दा पनि विरुवा विक्रिमा जोड दिइरहेकी छन् । भारतीय बजारबाट विषादी सहितको फुल आउने भएकाले त्यसको विकल्पमा उनले आफै विरुवा उत्पादन गर्दै आएकी छन् । सँगै आफै फुल उत्पादन पनि गर्छिन् ।

भारतबाट महंगो मुल्यमा फुल ल्याउनु परेको सुनेपछि आफै यो व्यवसायमा लागेको उनको भनाई छ । त्यहाँबाट ल्याएको फुलले स्वास्थ्यमा समेत असर गर्ने भएकाले स्थानीय उत्पादन गरेर फुलमा बिर्तामोडलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको सुनाइन् । सयपत्री फुल उनको जग्गामा प्रायः फुलिरहेको हुन्छ । विभिन्न कार्यक्रममा फुल आवश्यक पर्नेहरु उनैको घरमा पुगेर खरिद गर्ने गर्छन् । सयपत्री फुलसँगै उनी मेवा र तरकारी फलाइरहेकी छन् । नगरपालिकाले उनलाई प्राविधिक रुपमा सहयोग गरेको छ ।

युवा स्वरोजगार मार्फत काम थालेकी उनलाई नगरले ६० हजार सहयोग गरेको थियो । तिहारको समयमा ८ कठ्ठा मा सयपत्री फुल रोप्ने उनी १/२ कठ्ठामा १२ महिनै फुल रोप्ने गर्छिन् । तिन वर्षदेखि शुरु गरेको फुल खेतीमा अधिकारी सन्तुष्ट छिन् ।


यस्तै, बिर्तामोड ९ मा फापरले वातावरण नै सुन्दर बनाएको छ । २२ विगाहमा लगाइएको फापर पनि किसानले समूह मार्फत उत्पादन गर्दैछन् । फापरको व्यवसायिक उत्पादन गर्ने साहस बोकेका किसानलाई बिर्तामोड नगरपालिकाले आवश्यक सहयोग गरिरहेको छ । जनसेवा कृषक समूहका किसान फापर उत्पादनमा विशेष जोड दिइरहेका छन् ।

सो समूहका कर्ण बहादुर मगरले किसानलाई सिचाई मुख्य चुनौतिको रुपमा रहेको बताएका छन् । उनले सिचाई सुविधा र आवश्यक विधुत खर्च निशुल्क बनाउन माग गरेका छन् ।
यस्तै, पुरन थेगिम लिम्बू वैदेशिक रोजगारमा लामो समय काम गरेर फर्किएका छन् । बिर्तामोड– १० मा नमूना किसानको परिचय बनाइरहेका लिम्बू डेढ विगाहमा तरकारी खेति गरिरहेका छन् । गत कात्तिक महिनादेखि तरकारी खेतिमा लागेका उनी मनग्ये आम्दानी गर्न थालिसके । उनको ८ कठ्ठा जमिनमा अहिले क्याप्सिकन र १४ कठ्ठा जमिनमा स्क्वास फर्सि फलेको छ ।

अब १० कठ्ठामा काक्रा र १० कठ्ठामा भिन्डी लगाउने योजना बनाएका छन् । स्थानीय क्षेत्र र बिर्तामोडको कृषिथोकमा उनले उत्पादन गरेको तरकारी खपत भइरहेको छ । २ लाख ५० हजार लगानी गरेका लिम्बुले ८ लाख कमाउने योजनाका साथ काम गरिरहेका छन् । तर, उनीहरुले उत्पादन गरेको तरकारीमा उचित मुल्य नपाएको सुनाए ।

क्याप्सिकन ६० रुपैयाँ प्रति केजी किसानबाट उठाइन्छ । र, बजारमा व्यापारीले १ सय २० रुपैयाँदेखि १ सय ५० सम्म प्रति केजी विक्रि गरिरहेका छन् । किसानसँग खरिद गरेको मुल्यभन्दा १ सय प्रतिशत भन्दा बढि मुनाफा लिएर व्यापारी कमाइरहेका छन् । यसले किसानलाई भने निराश बनाइरहेको छ । किसानले आफुहरुलाई लगानी र मेहनत अनुसारको मुल्य दिन आग्रह पनि गरेका छन् ।

बिर्तामोड –१० का करिव ३५ किसानले सुर्यमुखी खेति शुरु गरेका छन् । केहिले सुर्यमुखी रोपिसकेका छन् भने केहि किसान लगाउने क्रममा छन् । अन्नपूर्ण कृषक समूह र बिशाल कृषक समूहले जम्मा ३० विगाह क्षेत्रमा सुर्यमुखी लगाउने तयारी गरेका छन् । उनीहरुलाई पनि नगरले विऊ र प्रति विगाह १५ सयका दरले उपलब्ध गराउने छ ।

समूह मार्फत सुर्यमुखी लगाएको देखेर अन्य किसान समेत आर्षिक बनेका छन् । अन्नपूर्ण कृषक समूहमा बिर्तामोड कृषि शाखाका प्रमुख कडरिया आफै आवद्ध छन् । उनी आफै कृषक र आफै प्रमुख भएकाले बिर्तामोडको कृषि क्षेत्रमा काम गर्न सहज भइरहेको छ ।

कृषिमा बिर्तामोड नगरपालिकाले एक समूह एक उत्पादन अन्तर्गत अनुमानित आम्दानीको लक्ष्य १ करोड ४२ लाख बनाएको छ । त्यसमा किसानलाई नगरले १९ लाख सहयोग गरेको छ । १९ लाख बाहेक बाँकी किसानले लगानी गरेका छन् ।

कृषि शाखा प्रमुखका अनुसार तोरी ९८ विगाहमा १४ सय ७० मन, फापर ३० विगाहमा ६ सय ६० मन, आलु १० विगाहमा ३ हजार मन, राज्मा २० विगाहमा २ सय मन र सुर्यमुखी ३० विगाहमा ९ सय मन उत्पादन गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार  ११ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]