चैत्र १६, २०८० शुक्रबार

बुद्धशान्तिद्वारा कानुन विपरित क्रसरलाई अनुमति

सागर गौतम

बिर्तामोड । बिर्ता मुल पैनी सिंचाई आयोजनाका लागि गत जेठ १ गते बुद्धशान्ति गाउँपालिकाले वासिङ प्लान्टको काम गर्न कुमार आशिष जेभी प्रालिलाई अनुमति दिएको खुलासा भएको छ । चितवनको भरतपुरमा सञ्चालन रहेको जेभीलाई गाउँपालिकाको कार्यपालिका बैठकले बालुवा धुने (वासिङ प्लान्ट) अनुमति दिएको प्रमाण फेला परेको छ । सिंचाई आयोजनका लागि दिएको अनुमतिबाटै अहिले सोहि जेभीले क्रसर उधोग सञ्चालन गरिरहेको जिल्ला अनुगमन समितिले जनाएको छ । सो कामका लागि गाउँपालिकाले अनुमति दिने प्रावधान नरहेको समितिले दावी गरेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकाले आईई (प्रारम्भिक वातावरणीय परिक्षण) प्रतिवेदनले तोकेको क्षेत्र भन्दा बाहिर उत्खनन गरिरहेको छ । तोकिएको क्षेत्रभन्दा बाहिर उत्खनन् गर्नुलाई जिल्ला अनुगमन समितिले गैरकानुनी उत्खनन् भनेको छ ।

गाउँपालिकाले जिल्ला अनुगमन तथा समन्वय समिति झापाले जारी गरेको जिल्ला स्तरीय नदी तथा खानीजन्य पदार्थको व्यवस्थापन तथा अुनमन कार्यविधि उल्लंघन गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदन अनुसार उत्खनन् क्षेत्रमा क्षेत्रफल, गहिराई, चारकिल्ला उल्लेख गरी होर्डिङबोर्ड समेत राखिएको छैन ।

बुद्धशान्ति गाउँपालिकामा पर्ने विरिङ खोलाको भोटेटार क्षेत्रमा स्वीकृत आईई प्रतिवेदन भन्दा बाहिर गएर अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् भइरहेको प्रतिवेदनमा समितिले समावेश गरेको छ । सो क्षेत्रको विपलचोक, जयपुर र विन्दुली नाकाबाट जथाभावी रुपमा ढुङ्गा, बालुवा उत्खनन् गरी गाउँपालिकाले कानुनी राज्यको उपहास गरिरहेको समितिको ठहर छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापाका नदीजन्य पदार्थको अनुगमन गर्दा नियम बिपरित बुद्धशान्ति गाउँपालिकाले उत्खनन् गर्दै आएको दावी गरे ।

आईईई प्रतिवेदन जिल्ला समन्वय समितिमा स्वीकृत भएको थियो । खोला ठेक्का नलगाई बुद्धशान्तिले आफ्नै नगदी रसिद बनाई नदीजन्य पदार्थको उत्खनन् र बिक्री वितरण गरिरहेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए । उनले भने– प्रदेशको आर्थिक ऐनले तोकिएको उत्खनन् दर प्रति क्युवफिट दुई रुपैँया छ, विक्री वितरण दर प्रति क्युवफिट ४ रुपैँया तोकिएको छ, दर अनुसारको प्रति ट्रयाक्टर दर सहित भ्याट समेत उल्लेख नगरी जथाभावी नदीजन्य पदार्थको उत्खनन् गरिरहेको पाएका छौँ । सो क्षेत्रको नाकाबाट ढुङ्गा प्रति ट्याक्टर ४ सय ५०, वालुवा र पुरुवा प्रति ट्रयाक्टर ३ सय रुपैँयाका दरले अवैध विक्री हुने गरेको पोर्तेलले जानकारी दिए ।

आईईई प्रतिवेदन अनुसार भोटेटार क्षेत्रमा उत्खनन्को लागि गहिराई १ मिटर तोकिएको छ, तर गाउँपालिकाले सो क्षेत्रमा ३ देखि ४ मिटरसम्मको गहिराईसम्म उत्खनन् गरी अवैध रुपमा दोहनको काम गरिरहेको बताइएको छ ।

भोटेटार क्षेत्रमा निर्माणधिन एकीकृत विरिङखोला पैनी सिँचाई उप–आयोजनालाई असर पर्ने गरी आईईई स्वीकृत क्षेत्रभन्दा फरक ठाउँबाट नदीजन्य पदार्थको उत्खनन् भइरहेको जिल्ला अनुगमन तथा समन्वय समितिमा पेश गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सो स्थलगत अनुगमन प्रतिवेदनका अनुसार विहान ३ बजेबाट बेलुकी ६ बजेसम्म ढुवानी कार्यका लागि भन्दै दैनिक ५० देखि ६० वटा ट्याक्टरहरु सञ्चालनमा रहेका छन् ।

सो गाउँपालिका क्षेत्रमा सञ्चालित सबै क्रसर उधोगहरु पनि मापदण्ड विपरीत संचालनमा रहेको समितिको प्रतिवेनमा उल्लखे छ । लिला न्यौपाने र भुवनेश्वरी राउतले बुद्धशान्ति–२ मा संचालन गर्दै आएको कनकाई माई क्रसर उद्योगले नदीजन्य पदार्थको अवैध धन्दा चलाइरहेको समितिले जनाएको छ ।

जिल्ला अनुगवन समितिका प्रतिवेदन अनुसार उद्योग भन्दा १ सय मिटर आसपासमा बस्ती रहेको छ भने स्टक सामग्री करिब बीस हजार घन मिटर छ । यसैगरी, कारोबारको हिसाब किताब, बैंक दाखिला भौचरहरु उद्योगीसँग छैन् । यस्तै प्रशासनिक कार्य संचालन स्थितिका दस्तावेज समेत नभएको बताइएको छ ।

प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार  ६ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]