बैशाख १२, २०८१ बुधबार

‘जातीय विभेद् अन्त्य नभएसम्म नेपाली जनताको समृद्धि संभव छैन’

प्रदीप परियार

दलित जनप्रतिनिधिहरुको १ नं. प्रदेशस्तरीय भेला शुरु

इलाम । प्रदेश २ का प्रमुख तिलक परियारले जातीय विभेदको अन्त्य नभएसम्म समृद्ध नेपाल सुखी नोपली संभव नहुने बताएका छन् । उनले समृद्धको लागि सामाजिक समस्याको रुपमा रहेको जातीय विभेदको अन्त्य हुनुपर्ने बताए ।

इलाममा शुक्रवारबाट शुरु भएको दलित जनप्रतिनिधिहरुको १ नं. प्रदेशस्तरीय भेला एवम् दक्षिण एसियाली मिट २०७६ को उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि परियारले जातीय विभेद्को समस्या दलितहरुको मात्र नभएको बताउँदै सिंगो नेपालीले साझा समस्याको रुपमा लिएर अन्त्य गर्न लाग्नुपर्ने बताए । जातको आधारमा भारत र नेपालमा मात्र विभेद हुने गरेको भन्दै यसलाई समाधान गर्न आम नेपाली एकजुट हुनुपर्ने उनको भनाई । प्रदेश प्रमुख परियारले उत्पीडनमा परेको समुदाय उठ्नैपर्छ, उनले भने यो समस्या दलितको मात्र होइन । संविधानले दलित समुदायको निम्ति पर्याप्त अधिकारको व्यवस्था गरेकोले त्यसको सदुपयोगमा लाग्न उनको आग्रह छ ।

१ नं. प्रदेशबाट सहभागी जनप्रतिनिधिलाई उनले दलितको मुद्दामा कुरा नसुन्ने जनप्रतिनिधिलाई घेरा हाल्न निर्देशन दिए । अधिकारको निम्ति घेरा पनि हाल्नुपर्छ, परियारले भने । उनले दलित समुदायको आन्दोलनले धेरै उपलब्धी हासिल गरेकोले त्यसको रक्षा गर्न समेत आग्रह गरेका छन् । उनका अनुसार जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन उपलब्धी हो । त्यसलाई समुदायले हतियारको रुपमा प्रयोग गर्न जरुरी छ ।

देशभरबाट दलित समुदायका अगुवा, मन्त्री , सांसद र जनप्रतिनिधिसहभागी भएको कार्यक्रम दुई दिनसम्म चल्नेछ । आयोजक मुल समारोह समितिका संयोजक नवराज शंकरका अनुसार भेलाले दलित अधिकारलाई मार्ग निर्देश गर्ने गरी इलाम घोषणा पत्र समेत सार्वजनिक गर्ने छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य खेम नेपाली, जिसस महासंघको केन्द्रीय अध्यक्ष सिता सुन्दास, संविधान सभा सदस्य जीतु गौतम, टेकु नेपाली, जिसस झापाका प्रमुख सोमनाथ पोर्तेल, इलामका प्रमुख गणेश बराल, प्रदेश सांसद् उमिता विक, राज्यमन्त्री जसमाया गजमेर र सांसद सुजता परियार लगायतले दलित मुक्ति आन्दोलनका बारेमा भनाई राखेका छन् ।

अधिकांश वक्ताले दलित जनप्रतिनिधिलाई अझै काम गर्ने वातावरण नभएको बताएका छन् । उनिहरुले अहिले प्राप्त गरेको उपलब्धीलाई अवसरको रुपमा लिई दलित जनप्रतिनिधिले समुदायको निम्ति काम गर्न सूझाव दिए । पछिल्लो समय दलित अधिकारको निम्ति आन्दोलन शिथिल भएको बताउँदै अधिकांशले सशक्त भएर लागि पर्न आग्रह गरे ।

वक्ताहरुले दलित जनप्रतिनिधिलाई अझै पुरातन मानसिकता भएकाहरुले काम गर्ने वातावरण नदिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार  ६ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]