बिर्तामोडको समाजसेवी सहकारीले सुनेन विरामी बचतकर्ताको हारगुहार
बिर्तामोड । छोरी–ज्वाईले बुबाआमालाई औषधि उपचारका लागि जम्मा गरिदिएको रकम नपाउँदा बिर्तामोडका एक दम्पत्ति जीवनमरणको अवस्थामा पुगेका छन् । बिर्तामोड–४ मा डेरा गरी बस्ने तारादेवी राय र हेमबहादुर राय यतिबेला औषधि उपचार गर्ने खर्च अभावमा तड्पिरहेका छन् ।
सुगर, प्रेसर, डिप्रेसन र किड्नीका विरामी हेमबहादुरले सहकारीको तनावकै कारण परिवारलाई अब उपचार नगर्न भनिसके । श्रीमति तारादेवी पनि सहकारीकै पीडामा दिनरात छट्पटाइरहेकी छन् ।
बिर्तामोड – १ मा रहेको समाजसेवी बहुउद्देश्यीय सहकारी संस्थाले औषधि उपचार गर्नलाई जोहो गरेको पैसा फिर्ता नदिएपछि राय दम्पत्ति कठिन परिस्थितिमा पुगेका छन् ।
छोरी ज्वाँईले उपचारमा सहयोग गर्ने उद्देश्यले २० लाख रुपैयाँ ५ वर्षे खातामा जम्मा गरिदिएका थिए । मासिक व्याजबाट घर खर्चसँगै औषधि उपचार गर्ने योजना थियो । बचत गरेर राखेको पैसाको व्याज नपाएकै कारण अस्पतालबाट डिस्चार्ज लिन नसकेको उनको भनाई छ । पैसा राख्दा पनि उनीहरुले औषधि उपचारका लागि राखेको भन्दै सहकारीलाई अग्रिम जानकारी गराएका थिए ।
वितेको १५ दिनमा तारादेवी र श्रीमान हेमबहादुर दुवै जना विरामी परे । श्रीमति बिर्तासिटी अस्पताल भर्ना भइन् । उनी डिस्चार्ज हुनासाथ श्रीमानलाई विएण्डसीमा भर्ना गर्नु परेको थियो । रायले आफू बिर्तासिटीमा हुँदै सहकारीलाई विरामी परेको खवर गरेकी थिइन् ।
यता, श्रीमानलाई बिएण्डसी लगेपछि पनि सहकारीलाई जानकारी दिइएको थियो । सहकारीबाट आउने ब्याजबाट उपचार गर्ने सोच बनाएको राय परिवार डिस्चार्ज भएर पनि घर फर्किन पाएनन् । तीन दिनसम्म सहकारीको बाटो कुरेको राय परिवारलाई आफन्तले उकासेर शनिवार साँझतिर घर ल्याए । अस्पतालको बेडबाट सहारा माग्दा पनि समाजसेवीले असहयोग गरेको उनीहरुको गुनासो छ ।
उपचारका क्रममा सहकारीले उनीहरुलाई व्याज वापतको रकम समेत उपलब्ध नगराएपछि सबै बचत रकम फिर्ता गरिदिन माग गरेका छन् । सहकारीले २ वर्षदेखि विल्लीबाठ बनाएको छ, उनले भनिन्, ‘खानपान कसरी गर्ने, भाडा के ले तिर्ने रु अब विरामी परियो भने बाँच्दैनौं ।’ राय परिवारको आम्दानी भनेकै व्याज हो ।
राय आफै विरामी छिन् । श्रीमान पनि ओच्छ्यान परेका छन् । आम्दानीको कुनै बाटो छैन । सहकारीले पनि बर्बाद बनाइदियो, छरछिमेकीहरु भन्छन्– कसरी हुन्छ उहाँहरुको बचत फिर्ता गराइदिनु पर्यो ।
राय परिवारले समाजसेवी बहुउद्देश्यीय सहकारी संस्थामा ०७८ साल असारमा रकम जम्मा गरेका थिए । त्यस वापत सहकारीले ५-६ महिनासम्म २२ हजार ५ सयका दरले व्याज रकम उपलब्ध गराएको थियो । त्यसपछिदेखी सहकारी व्याज रकम दिएको छैन ।
सहकारीका तत्कालिन अध्यक्ष लक्ष्मण दाहाल, सचिव उमानाथ प्याकुरेल र कार्यालय प्रमुख राहुल नेपालले बचत सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता गर्नेहरु हाल संस्थाभन्दा बाहिर रहेको बुझिएको छ ।
पैसा झिक्न समस्या हुन्छ भने ५ वर्षे खातामा नराख्ने भन्दा तत्कालिन अध्यक्ष लक्ष्मण दाहालले कहिल्यै धोका नहुने भन्दै राख्न लगाएको उनले सुनाइन् । उनले भनिन्, व्याजले पुगेन भने साँवा पनि उपलब्ध गराइदिने भनेका थिए । अहिले व्याज पनि नपाएको २६ महिना भइसक्यो ।
- वर्तमान अध्यक्ष विष्णु अधिकारी
व्याज खोज्दा अहिलेका अध्यक्ष विष्णु अधिकारीले आफ्नो कार्यकाकालमा कारोवार नगरेको भन्दै पन्छिने गरेका छन् । उनले जो सँग कारोवार गरेका छन्, उसैसँग जान भनेको पीडित रायको भनाई छ । तत्कालिन अध्यक्ष दाहाललाई भेट्न पटक–पटक घर समेत गएकी उनले कहिल्यै भेट्न नपाएको सुनाइन् । दाहाल अहिले बिर्तामोड–२ स्थित चैतुवारीमा रहेको पञ्चरत्न माविको प्रधानाध्यापकका रुपमा कार्यरत रहेका छन् । विद्यालयमै आफ्नो समस्या लिएर पुगेकी रायलाई अन्य शिक्षक कर्मचारीहरुले उल्टै हप्कीदप्की गरेर पठाएको सुनाइन् । विद्यालय बाहिरको समस्या लिएर आएको भन्दै उनलाई हप्की दप्की गरिएको उनको भनाई छ ।
सहकारीले दिएको पीडाले विरामी परिवारलाई विक्षिप्त बनाएको छ । उनले भनिन्, सहकारीले दिएको पीडा सम्झिदै श्रीमानले अब उपचार नगर्नु भन्दै मलाई दुख पोख्न थाल्नु भएको छ । रायले सहकारीका वर्तमान अध्यक्ष अधिकारी देखावटी मात्रै भएको बताएकी छन् । उनले सहकारीलाई अरुले नै चलाइरहेको दावी गरिन् ।
संस्थाका वर्तमान अध्यक्ष अधिकारी गैरजिम्मेवार रुपमा प्रस्तुत हुँदै आएका छन् । उनले सदस्यहरुको बचत रकम फिर्तामा प्राथमिकता नदिएको बुझिएको छ । हरेक दिन बचतकर्ताले बचत फिर्ता माग्न फोन गर्दा उनले केही समयपछि सम्पर्क गर्नु भन्दै पन्साउने गरेका छन् ।
राय परिवारसँग अघिल्लो कार्यसमितिले गरेको कारोवार भन्दै पन्छिदै आएका अधिकारीले सकेको गर्छु, नसके अघिल्लो समितिसँग गुहार माग्ने प्रतिक्रिया दिदैं आएका छन् ।
तीन महिनाअघि अध्यक्षको जिम्मेवारी लिएर आएका अधिकारी संस्थाको व्यवस्थापकीय जिम्मेवारीमा समेत देखिएका छन् । उनले आफू अध्यक्ष भएर आएपछि बचतकर्ताको ७२ लाख रुपैयाँ फिर्ता गरिसकेको जनाएका छन् । ३ करोड रुपैयाँ लगानी भएको बताउँदै आएका अधिकारीले राय परिवारलाई व्याज दिन नसकेको स्वीकार गरेका छन् । पटक–पटक पैसा दिने भन्दै आशा देखाउने अध्यक्ष अधिकारीले राय परिवारको दुखमा संस्थागत जिम्मेवारी पुरा गर्न नसकेको बताए ।
सहकारी धरायसी भएको बताउँदै अध्यक्ष अधिकारीले केही समयमा सुधार ल्याएर सदस्यहरुको बचत फिर्ता गर्ने बताएका छन् ।
सहकारीका कर्मचारी सनिल श्रेष्ठले संस्थाको कारोवार हेर्ने सफ्टवेयर बन्द भइसकेको जानकारी दिए । उनका अनुसार सफ्टवेयरलाई बुझाउनुपर्ने रकम नबुझाएका कारण बन्द भएको बताए । संस्थाले कर्जा लगानीको विवरण कागजमा प्रिन्ट गरेर राखेको श्रेष्ठको भनाई छ । बचतकर्ताहरुको बचत बारे आफुलाई थाहा नभएको जानकारी दिए । उनी भन्छन्, हामीलाई कर्जा उठाउने काम मात्र दिएकाले बचतबारे थाहा भएन ।
बचत सम्झौताका बेला संस्थाका अध्यक्ष रहेका लक्ष्मण दाहालसँग कुराकानी गर्न उनको मोवाइल नम्बर ९८२४०२०९१० र ९७०७६०७७६५ मा पटक–पटक सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।