जेष्ठ ६, २०८१ आईतबार

पाँचथर प्रकरण : हत्या गरिएको परिवार सामान्य किसान, एकसाताअघि पनि रहस्यमय घटना

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा दुई परिवारका नौजनाको गएराति रहस्यपूर्ण ढंगले हत्या भएको छ ।
हत्या भएको दुवै परिवारका सदस्यहरु कृषि पेशामा आवद्ध भएको मिक्लाजुङ वडा नं. ३ का वडाध्यक्ष हस्त फियाकले इजलासलाई जानकारी दिएका छन् । उनीहरु दुवैको परिवार सामान्य आर्थिक अवस्था भएका परिवार हुन् – फियाकले भने ।


सामान्य आर्थिक जीवनमा गुजारा गरिरहेका परिवारसँग आर्थिक लाभको लागि घटना नभएको स्थानीयवासीले अनुमान गरेका छन् । वडाध्यक्ष फियाकका अनुसार कृषिमा पनि आत्मनिर्भर मात्र थिए । घटनापछि मिक्लाजुङ शोकमग्न भएको छ । वडाध्यक्ष फियाकले दिएको जानकारी अनुसार सबै शव हत्याभएकै अवस्थामा छोडिएको छ । शवलाई चलाइएको छैन, उनले भने – जिल्ला प्रशासन र प्रहरीको जिल्ला टोली घटनास्थल पुगिसकेको छ । अब, पोष्टमार्टमका लागि छलफल गरिदैछ ।


घटनास्थल नजिकै रहेका छरछिमेकका अनुसार मनमाया फियाकको श्रीमानसँग सम्बन्ध राम्रो थिएन । मनमायाको श्रीमानसँग उनी छुट्टिएर बस्दै आएकी थिइन् । वडाध्यक्ष फियाककले छरछिमेकले बताए अनुासर इजलासलाई जानकारी गराएका हुन् । श्रीमतिसँगको सम्बन्ध कै कारण घटना भएको भन्ने पुष्टि भएको छैन ।


यता, सो गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताएअनुसार एक साताअघि मात्रै दुईमध्ये एउटा घरमा अर्को रहस्यपूर्ण घटना भएको थियो ।
स्थानीय स्तरमा आयोजित एक कार्यक्रमका क्रममा ५ जनाको मृत्यु भएको घरमा खाना बनाइएकोमा खानामा प्रयोग गरिएको नुनमा सिसाको धूलो पनि हालेको पाइएको थियो । माखिमले भने,‘‘त्यो खाना खाएर केही मान्छे बिरामी पनि भएका थिए । अहिले त्यही घरमा हत्या भएको छ । अचम्म लागिरहेको छ ।’’ त्यतिबेला नुनमा कसले सिसा हालेको थियो भन्ने कुरा अझै नखुलेको समेत अध्यक्ष माखिमले बताए ।


दुई परिवारका नौ जनालाई गएराति खुकरी प्रहार गरी हत्या गरिएको स्थानीयले बताएका छन् । दुवै परिवार आफन्त हुन् । धनराज लिम्बुको घरमा पाँचवटा र बमकुमार लिम्बुको घरमा चारवटा शव फेला परेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिएका छन् । घटना भएको स्थानदेखि सदरमुकामबाट ७० किमी टाढा रहेको छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार  १२ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]