अग्रवाल दम्पतिले मनाए सन्थाल वस्तीमा विवाह वर्षगाँठ
बिर्तामोड । रोटरी क्लब बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल र धर्मपत्नी माया अग्रवालले आफ्नो ४४ औं विवाह वर्षगाँठ सन्थाल बस्तीमा मनाएका छन् ।
बिर्तामोड नगरपालिका वडा नम्बर – ८ स्थित प्याकुरेल चोकमा रहेको सन्थाल बस्तीकी एक बालिका दुर्गा बास्केलाई सहयोग गर्ने उद्देश्यले घरैमा गएर अग्रवाल दम्पतिले वैवाहिक वर्षगाँठ मनाएका हुन् । गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत दुर्गाको दायाँ हात अपाङ्ग रहेको र उनको उक्त हातलाई कृत्रिम हात निर्माण गरी दिने उद्देश्यका साथ अग्रवाल दम्पतिले बास्केको घरैमा गएर परिवारसँग परिचय गर्नुका साथै वैवाहिक वर्षगाँठको अवसरमा विभिन्न उपहारहरू समेत प्रदान गरेका थिए ।
सो अवसरमा अध्यक्ष अग्रवालले ति बालिकालाई झापाबाट बीरगंज अस्पतालसम्म जाने आउने र खान बस्नको समेत प्रबन्ध गरिदिने घोषणा गरेका छन् । रोटरी क्लबको संयोजनमा ती बालिकाको हातको उपचार गर्ने प्रबन्ध मिलाइएको अग्रवालले बताए ।
अग्रवाल दम्पति सन्थाल परिवारमा पुग्दा वरपरका अन्य समुदायहरूको समेत उपस्थिति रहेको थियो । उनले उपस्थित समुदायलाई मिठाई बिस्कुट चाउचाउ लगायतका सामग्रीहरु उपहार स्वरूप प्रदान गरेका थिए । बास्के परिवारलाई एक बोरा चामल पानी तताउने इलेक्ट्रिकल जग र बालिकालाई १ सेट ट्राउजर समेत उपहार स्वरूप प्रदान गरेका थिए ।
अग्रवालले हरेक वर्ष जन्मदिन वा वैवाहिक वर्षगाँठको अवसर पारेर सामाजिक सेवा गर्दै आएका छन् । बालिकाको हातको उपचार गरिदिने घोषणा गरेपछि बास्के परिवारमा खुसी छाएको छ । दुर्गा कि आमाको निधन भएपछि बाबु समेत भारतमा काम गर्न गएकाले मामा माइजूको शरणमा बस्दै आएकी छिन् ।