विद्युतीय भुक्तानी गरे भ्याटको १० प्रतिशत रकम फिर्ता हुने नियम कार्यान्वयन
काठमाण्डाै – विद्युतीय भुक्तानी गरेमा मूल्य अभिवृद्धि कर (भ्याट) बापत तिरेको मध्ये १० प्रतिशत रकम फिर्ता पाइने भएको छ ।
विद्युतीय भुक्तानी अर्थात् डिजिटल पेमेण्ट गर्ने क्रम बढाउन सरकारले यस्तो निमय लागू गरेको हो । आन्तरिक राजश्व विभागमा भएको कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भ्याट फिर्ता कार्यान्वनयको शुभारम्भ गर्नुभयो ।

अब एटीएम कार्ड, क्रेडिट कार्ड मास्टर कार्ड का साथै मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गमार्फत भुक्तानी गरेमा पनि भ्याट बापत तिरेको रकमको १० प्रतिशत रकम स्वचालित रुपमा बैंक खातामा फिर्ता आउनेछ ।
उपभोक्ताले कुनै सामान किने बापत नगद वा चेकको साटो कार्ड, इ बैंकिङ्ग वा इण्टरनेट बैंकिङ्ग वा ई सेवा, खल्ती, आइएमई पे, प्रभु पे, फोन पे, सेल पे लगायतबाट पैसा तिरेमा भ्याट बापतको रकमको १० प्रतिशत उपभोक्ताको खातामा फिर्ता आउनेछ ।
उदाहरणका लागि कुनै उपभोक्ताले यसरी भुक्तानी गर्दा एक हजार रुपैयाँ भ्याट तिरेको छ भने उपभोक्ताको खातामा १ सय रुपैयाँ फिर्ता आउनेछ । यसका लागि बिक्रेता, सेवा प्रदायक, विद्युतीय बीजकसम्बन्धी काम गर्ने कम्पनी लगायत विभागको सफ्टवेयरमा आवद्ध भइसकेका छन् ।
सुरुमा विद्युतीय कार्डमार्फत भुक्तानी गर्दा मात्रै भ्याटको १० प्रतिशत रकम फिर्ता हुने नियम भए पनि अहिले ई सेवा, खल्ती लगायतका भुक्तानी सेवा प्रदायकबाट पैसा तिर्दा पनि पैसा फिर्ता हुने आन्तरिक राजश्व विभागले जनाएको छ ।
सरकारले यस वर्षको बजेटमा विद्युतीय भुक्तानी गरेमा भ्याट बापत तिरेको रकम १० प्रतिशत रकम सम्बन्धित भुक्तानीकर्ताको खातामा जम्मा हुने व्यवस्था गरेको थियो । सरकारले पुस १५ गतेदेखि नै यो व्यवस्था लागू गर्ने बताए पनि कार्यविधि बनाउन ढिलाइ हुँदा कार्यान्वयन भएको थिएन ।