दोमुखामा करोडौं लगानी भित्राइनेछ : नगरप्रमुख थोप्रा
दोमुखा प्रदेशद्वार दुई मुखे गेटको उद्घाटन
शिवसताक्षी । झापा शिवसताक्षीको गैडेस्थित पर्यटकीय क्षेत्र दोमुखाको प्रवेशद्वार दुई मुखे गेटको आज उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङफेले संयुक्त रुपमा रिवन काटेर गेटको उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले लामो समयको पर्खाइलाई चिर्दै दोमुखाको विकासमा नगरपालिका लागेको बताए । अघिल्लो आवमा दोमुखा जाने सडक कालोपत्रे भइसकेको छ । चालु वर्षमा गेट र दोमुखा देखि पिकनिक स्र्पोट हुँदै स्वीमिङपुल सम्म जाने ७३० मिटर सडकमा पनि इन्टरलक ब्लक लगाउने काम सम्पन्न भएको नगरप्रमुख थोप्राले जानकारी दिए । नव निर्मित गेटको माथि पशुपतिनाथ, स्वयम्भु र जनजातिहरुको सिलाम साक्माको आकृति राखिने र यसलाई बहुसांस्कृतिक हिसाबले विकास गर्न लागेको उनको बताए ।
नगरपालिकाले दोमुखाको पूर्वाधार विकासका लागि ठूलो बजेट लगाउँदै यही चालु आवमा करिब एक करोड लगानी गरिने छ । सडकमा बत्ती, रात्रीकालिन पर्यटकलाई मनोरन्जन गर्ने सक्ने गरी लाइटहरु जडान गर्ने समेत नगरपालिकाको योजना गरेको नगरप्रमुखले बताए । दोमुखाको विकासलाई अघि बढाउन प्रदेश स्तरीय लगानी सम्मेलनमा डिपिआर सहित गुरुयोजनाको प्रोजेक्ट अघि बढाइएको नगरप्रमुखले बताए । उनले भने, दोमुखामा करोडौं लगानी भित्र्याउने छौं ।
दोमुखा प्रवेशद्वारमा दुई मुखे गेटमा चाइनिज इटा र माथिल्लो भागमा टायल्स, मार्वल प्रयोग गरेर निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । हाल निर्माण भएको गेट, सडक भ्याट कन्सलटेन्सीसहित ८४ लाख ६१ हजार ५५० रकममा भिमेश्वर कन्स्ट्रक्सन प्रालिले काम गरेको इन्जिनियर उत्तम बरालले जानकारी दिए । निर्माणधिन सडकमा ६ मिटर चौडाई, ६० एमएमको ब्लक लगाइएको छ ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्कीले दोमुखा शिवसताक्षी नगरकै गहना भएको बताइन् । यहाँ दोमुखा, सतासीधाम र चिल्लागढका कारण नै देशभर शिवसताक्षी नगर भनेर चिनाउने छ । देश भरमा तीन–तीन वटा पर्यटकी तथा धार्मिक क्षेत्र भएको नगर कमै होला । यो नगरले त्यो शौभाग्य पाएको छ । यसको विकासका लागि हामी सबै जनप्रतिनिधिहरु एक भएर लागेको उनको भनाई छ ।
शिवसताक्षी नगरपालिकाका वडा नं. १० वडाध्यक्षको हर्कबहादुर सिगुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्हाङ्फेले स्वागत र लेखा शाखा प्रमुख प्रकाश योङहाङ्गले सञ्चालन गरेका थिए ।