पूर्वमेयर शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
बिर्तामोड । घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए । यो अवधिमा प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्नेछ । त्यसपछि अनुसन्धानका लागि थप समय हिरासतमा राख्नलाई फेरि समय माग्नेछ ।
इलाका प्रहरी कार्यालय अनारमनीले शिवाकोटीलाई सोमबार अपराह्न पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पीडित बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदार राखेका थिए ।
बालिकाले सुरुमा इलाका प्रहरी कार्यालय, काँकरभिट्टास्थित महिला सेलका अधिकारीहरुलाई घटनाबारे सुनाएकी थिइन् । भारत जान लागेका बेला उद्दार गरिएकी उनले जबरजस्ती करणीबारे बताएपछि काँकरभिट्टा प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीमा पठाइदिएको थियो ।
अनारमनीमा पनि उनले त्यही अनुसारको बयान दिएपछि उनलाई पक्राउ गरिएको थियो । शिवाकोटी बिर्तामोड नगरपालिकाको यसअघिका प्रमुख हुन् ।