लोकप्रिय बन्दैछ बिर्तामोडको टि- हब
बिर्तामोड । युवाहरुको अगुवाईमा सञ्चालनमा ल्याइएको टि–हब लोकप्रिय बन्दै गएको छ । बिर्तामोड–५ मा सञ्चालित टि–हब (चिया पसल) युवाको रोजाईमा परेको हो ।
चियाका विभिन्न परिकार बनाइने टि हबमा यतिवेला चिया पारखीहरुको भीड दिनप्रतिदिन बढिरहेको सञ्चालक आशिष राईले जानकारी दिए । राईसहित टि– हब जिम्पा तामाङ र पवन बराइलीको संयुक्त लगानीमा सुरु भएको हो ।
साथीहरुबीच चिया पसल सञ्चालन गर्ने सल्लाह भयो, आशिष भन्छन्– थोरै पैसामा राम्रै ठाउँमा बसेर चिया पिउन मिल्ने योजनाले टि–हब बन्यो । करिव ६५ लाख लगानीमा चियाको व्यापार थालेका उनीहरुलाई ग्राहकको आकर्षणले सुरुआतमै उत्साहित बनाएको छ ।
हरेक दिन ३ सय हाराहारी चियाका पारखीहरु चिया पिउन आउनुहुन्छ, आशिषले थपे – अहिले दैनिक एक सय लिटर दुधको चिया विक्रि गरिरहेका छौं । चियाको १६ परिकार बनाउदै आएको टि हबमा मट्का र मसला चिया सर्वाधिक रुचाइएको छ ।
कनकाई कलेज नजिकै ४ वर्ष सञ्चालन भएको टि हब अहिले सुविधा सम्पन्न संरचना सहित धर्मकाटा रोडमा सञ्चालनमा ल्याइएको छ । चिया पारखी युवाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको टि हबमा १८ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ ।
४० देखि ८० रुपैयाँसम्म पर्ने चिया पसलमा कफि तालिम समेत सञ्चालन गर्ने योजना बनाइएको बताइएको छ । सो हबमा विद्यार्थी वर्गलाई रोजगारीमा अवसर दिइएको राईले जानकारी दिए । चियासँगै खाजा समेत सुरु गरिएको टि हबले इटहरीमा चाँडै शाखा सञ्चालन गर्ने तयारी थालेको छ ।