बैशाख १४, २०८१ शुक्रबार

झापामा ओलीका १९ बुँदे भाषण : के-के भने ?

दमक – प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो गृहनगरमा खुलेर दमदार भाषण गरेका छन् । दमक चिसापानी सडक शिलान्यास समारोहमा बोल्दै उनले आफ्नो निजी जीवन र स्वास्थ्यबारे पनि खुलेर बोलेका छन् । 

प्रधानमन्त्री ओलीका मन्तव्यका महत्वपूर्ण अंशहरु :- 

अब हुँदैन जनताका छोराछोरीको दुर्गति

काठमाडौंमा कुकुरसँग खानेकुराका लागि मान्छेले सडकमा लडाईं गरिरहेका हुन्थे, कुकुरसँगै फोहोर टिपिरहेका हुन्थे । मानिसका छोराछोरीको त्यो दुर्गति जनताको यस सरकारले हुन दिँदैन भनेर मैले पहिले नै भनिसकेको हो । नेपाललाई सडक मानवमुक्त बनाउने अभियान चलाइएको छ । सामान्यतया सडक मानवका रुपमा अलपत्र, सुस्त मनस्थितिका, विमारी, ठूला घाउ भएका मानिस पसारिएको अब देख्न पर्दैन । सरकारले व्यवस्था गरेको छ । 

जाडाेले मानिस मर्न छाडे

हिउँदै पिच्छे दर्जनौं मानिस जाडोले कठाङिग्रएर मर्थे । मैले दुई वर्ष अगाडि नै घोषणा गरेको थिएँ–यो देशमा गरिबलाई हेर्ने सरकार छ, त्यसैले जाडोले कठाङिग्रएर कोही पनि मर्देन । यो दुई वर्षमा तराईको शितलहरमा होस् या हिमाली भेगमा, जाडोले कठाङिग्रएर कोही मरेका छैनन् । 

बाँदर पनि भोकै मर्दैन नेपालमा

यस्तो उर्वर देशमा बाँदर पनि भोकै मरेको थाहा छैन । जंगलमा फलफूल कन्दमूल खान भ्याउँछ । चरा पनि भोकै मरेको थाहा छैन । जंगलमा खान पाउँछ । सबैले खान पाउँछ । मान्छे भोकै पर्ने र भोकै मर्ने कुरा यस देशमा सह्य हुन सक्दैन । त्यसकारण मैले अघिल्लो पटक नै प्रधानमन्त्री भएपछि मैले भने– नेपालमा अब उप्रान्त कोही भोकै पर्दैन, कोही भोकै मर्दैन । 

चामल किनेर राख्या छु

आकस्मिक रुपमा केही पर्‍यो भने मैले चामल किनेर स्टकमा राखेको छु । कसैलाई अभर पर्‍यो भने चामलको पोका बोकेर त्यहाँ नेकपा पुग्छ । भवितव्य आइपर्‍यो भने त्यसको व्यवस्था हामी गर्छाैं । 

फुस र पराल हटाउने, टिन लगाउने

देशभरी नै फुसका छानालाई टिनका छानाले विस्थापित गर्दैछौं । सरकारले टिन किनिदिन्छ, फुसका परालका छाना हटाउनुस्, टिनका छाना लगाउनुस् । 

सुकुम्वासी र सार्वजनिक जग्गा लुट्न दिन्नँ

कसैले पनि सुकुम्वासी केहीका नाममा सरकारी र सार्वजनिक सम्पत्ति र जग्गा केहीको पनि अतिक्रमण नगर्नुस् । ठूलाठूला ठगहरुले धेरैधेरै सरकारी र सार्वजनिक जमिन हडपिरहेका छन् । ती जग्गा सरकारले फिर्ता ल्याइरहेको छ । विभिन्न जालझेल गरेर हडपिरहेको छ । ती फिर्ता ल्याउने सिलसिला जारी छ । नेपालमा पहिले यस्तो हुँदैनथ्यो ।  कसैले नाममा पारिहाल्यो भने पार्‍यो । सिद्धियो । उसको नाममा लेखाएपछि सिद्धियो । अब लेखाएर हुँदैन । जालझेल गरेर सरकारी सार्वजनिक जमिनहरु आफ्नो नाममा पार्ने यस प्रकारका क्रियाकलाप मान्य हुँदैन । 

विकासको तिव्र गति

 म प्रधानमन्त्री भएपछि दुई सय ३५ वटा पूल निर्माण भयो । तीन हजार किलोमिटरभन्दा धेरै सडक दुईवर्षमा कालोपत्र भए । विकासको गति कति तिव्रतासाथ अगाडि बढिरहेको छ भन्ने यसबाट पनि बुझ्न सक्नुहुन्छ । 

अब दुई वर्षभित्र…

८८ प्रतिशित जनता आज विजुली प्रयोग गर्न सक्ने अवस्थामा छन् । पहिले घरमा एउटा चिम, दुईटा चिम बाल्थे । अहिले प्रतिव्यक्ति दुई सय ४५ किलोवाट प्रतिघन्टा विद्युत खपत हुन थाल्यो । अब दुई वर्षभित्र विद्युत पुग्न १२ प्रतिशत जो बाँकी छ, त्यहाँ पुराउने हामीले भनेका छौं । 

हेर्दा सानो कुरा तर…

‘मैदान जाने’ अविकसित पछौटे, लज्जास्पद प्रचलनबाट ट्वाईलेट जाने स्तरमा उठाइएको छ र नेपाल खुला देश घोषणा हुन सफल भएको छ । हेर्दा सानो कुरा हो तर बालबालिकाको पढाईमा, बालिकाहरुको पढाईमा, महिनावारी हुँदा स्कुल जान नसक्ने अवस्था थियो । स्यानेटारी प्याड सरकारले वितरण गरेपछि उनीहरु ढुक्कले स्कुल जान सक्छन् । महिनामा चारपाँच दिन पढाई छुट्नु सानो कुरा होइन । त्यसले पनि बालिकाहरु पढाईमा पछाडि पर्थे । हाम्रो ध्यान रेल, पानीजहाज, ठूलाठूला राजमार्गमा मात्र होइन, सडकमा फालिएका मानिसहरु, अशक्तहरु, बुढाबुढीहरु, हरेकको जीवनमा हाम्रो ध्यान गएको छ । 

रुवावासी गर्नेहरु…

चिच्याउनेहरु, गाउनेहरु, मनपरी बोल्न पाइएन भनेर रुवावासी गरिरहेका छन् । मनपरी बोल्न किन रोक्ने ? मनपरी बोल्न पाउनुपर्छ भन्नेहरु छन् । यहाँ बाँच्न पाउनुपर्छ पहिले, खान, लाउन पाउनुपर्छ । छोराछोरी पढाउन पाउनुपर्छ, विरामी हुँदा उपचार पाउनुपर्छ, आवास नहुनेले आवास पाउनुपर्छ, रोजगारी पाउनुपर्छ, जिविकाको बाटो पाउनुपर्छ । जनताले अधिकार पाउनुपर्छ, अधिकारसम्म पुग्न, त्यसको उपभोग गर्नका लागि अवसर पाउनुपर्छ । निर्भय भएर बाँच्न पाउनुपर्छ, सुरक्षित जिन्दगी पाउनुपर्छ । कसैले हेलाहोचो गर्न नपाओस्, सम्मानित जीवन बाँच्न पाउनुपर्छ । यही हो लोकतन्त्र । 

सभ्य लोकतन्त्र

विकसित र सभ्य, सामाजिक न्याय र समानता भएको, विकसित पनि सभ्य पनि, हामीले बनाउन खोजेको देश असभ्य होइन, छाडातन्त्र होइन लोकतन्त्र,  अनुशासनहीनता होइन लोकतन्त्र, आफ्नो अधिकार प्रयोग गर्दा अरुका अधिकार वास्ता नगर्ने र अरुका अधिकारको कुनै मतलब नराखेर अरुका अधिकारमाथि थिचोमिचो गर्ने काम कसैको हक अधिकार हुन सक्दैन । हरेकको हक अधिकारभित्र आफ्नो अधिकारको सुरक्षा पाउने अधिकार छ । कानुन उल्लंघन गर्ने सबैले कानुनका कठघरामा उभिन पर्छ । कानुन उल्लंघन गर्ने र अपराध गर्ने जो कसैले पनि दण्ड सजायको भागी हुनुपर्छ । अहिलेको सरकार सामाजिक न्याय सहितको समृद्धि, सुखका आधारहरु सहितको समृद्धि, सामाजिक न्याय र समानता सहितको समृद्धि र सबै जनतामा समृद्धि, समाजको एउटा अंश या पक्षमा होइन, सबैमा समानता । 

शान्ति र स्थिरता विरुद्ध

यी चिज सरकारले गरिरहेको देखेर, स्थिरता, स्थायित्व शान्ति, सुशासन र विकासको जुन लहर सिर्जना गरेको छ सरकारले, त्यसका विरुद्ध देशी विदेशी षडयन्त्रकारी तत्वहरु र प्रतिक्रियावादी तत्वहरु लागेका छन् । 

नेपाल किन गरिब ?

नेपाल किन गरिब भयो ? यति उर्वर देश दुनियाँमा कुनै छैन । फेरि यो देश कसरी गरिब भयो ? यो देशमा खानी छन्, यो देशमा यत्रो जलस्रोत छ । सय वर्ष अघि दक्षिण एसियामा सबैभन्दा पहलिे विजुली निकाल्ने देश हो । सय वर्ष पाँच सय मेगावाट मात्रै विद्युत निकालियो । यो दुई वर्षको अवधीमा हजार मेगावाट भन्दा धेरै निकाल्यौं । सय वर्षमा भन्दा दुई वर्षमा डबल गरेका छौं । विकासको रफ्तार अगाडि बढेको छ । 

संघीयता साधक हुन्छ

अब विकास हुन्छ । हामीले विकासका लागि लोकतान्त्रिक प्रणाली स्थापना गरेका छौं । संघीय लोकतानित्रक गणतन्त्र स्थापना गरेका छौं । यो प्रणाली विकासमा साधक हुन्छ । यसको सफल कार्यान्वयतर्फ अगाडि बढेका छौं । त्यसकारण तपाईंहरुलाई भन्छु– देशले विकासको बाटो लिएको छ, तपाईंहरु आत्मविश्वास र उत्साहसाथ आफ्नो ठाउँबाट देश विकासको काममा जुट्नुस् । 

भूटानीलाई अमेरिका पुर्‍याएँ

भूटानी शरणार्थीहरु देशबाट लखेटिए । शरणार्थी भएर नेपालमा बसे । कतिपय मानिसले भने– अरु देशमा भूटानीलाई पठाउनु हुँदैन, शिविरमै कोचेर राख्नुपर्छ । तर, कति समय कोचेर राख्ने ? त्यसकारण मैले अमेरिका लगायत विभिन्न देशसँग कुरा गरें । र, आज उनीहरु एक लाख १५२० हजारभन्दा धेरै तेस्रो देशमा गइसकेका छन् । आरामको जिन्दगी बिताएका छन् । २००६ मा मैले तेस्रो देशमा बसोबासको व्यवस्थाको कुराकानी सुरु गरें । ०६५ बाट अरु देशमा बसोबासको प्रक्रिया सुरु भयो । दुई वर्षजति पछि म अमेरिकाको विभिन्न राज्यमा जाँदा त्यहाँ धेरै भूटानीहरु भटें । मलाई भेट्न आउँदा निजी कारमा आए । म शरणार्थीहरुको आफ्नै घरमा बसें । दुई वर्षभित्र आफ्नै घर भयो । जागिर भयो । दुखको जीवनबाट सहज जीवनमा प्रवेश गरे । उनीहरुले मलाई धन्यवाद पनि भने । 

जसले मलाई भोट दिएनन्

तपाईंहरुले सरकारहरुको भिन्नता पनि देखिसक्नुभएको छ, कामको भिन्नता पनि देखिसक्नुभएको छ । मैले भनेको थिएँ– तपाईंहरुको मत खेर जान दिन्न, मलाई मतदान गरेर तपाईंहरुलाई पछुतो हुने छैन, जसले मतदान गरेन त्यसलाई पछुतो हुन्छ । मत त खेरै गयो । खेर गयो गयो । बेठिक ठाउँमा गयो । जसले मतदान गर्नुभयो राष्ट्र निर्माको काममा ईंट्टा थप्ने काम गरेको छ । 

बहुमत भए पनि…

विभिन्न जालझेल षडयन्त्र विरुद्ध संघर्ष गरिरहनुपरेको छ । जो यो देशको विकास भएको हेर्न चाहँदैन त्यस्ता शक्तिहरुले रोक्न खोज्छ । तपाईंहरुलाई लाग्ला बहुमत छ । बहुमत भए पनि फर्किफर्कि फेरि उनीहरु यो सरकारलाई असफल पार्ने, यसलाई ढाल्ने, यसलाई बदनाम पार्ने प्रयासमा कसरी लागिरहेका छन् भन्ने देखिरहनुभएको छ । हामीलाई सरकारमा तपाईंहरुले हो, जबसम्म तपाईंहरुको साथ शुभेच्छा र शुभकामना रहन्छ, तबसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन । हामी अगाडि बढिरहन्छौं । 

मैले चुनाव हार्दा आश्चर्य

१३ वर्ष अघि मैले किड्नी बदलेको थिएँ ०६४ सालमा । त्यसबेला नेपालमा एउटा ठूलो आश्चर्य भयो । साह्रै ठूलो आश्चर्य । यस क्षेत्रमा मैले चुनाव हारें । नेपालमा ठूलो आश्चर्य भयो । मैले भनें– अब संविधान बन्दै र संविधान सभाले संविधान बनाउन सक्दैन । बनेन । ०७० मा मैले चुनाव जितें र मैले घोषणा गरें । मानीय सांसद्हरुले अँध्यारो मुख लगाएर फर्कन यसपटक पर्दैन भनेको थिएँ । र, संविधान बनाएरै छाडियो । विभिन्न प्रकारका बाधा व्यवधान अवरोध हटाएर बनाइयो । 

आफ्नै स्वास्थ्य बारे

मेरो जिन्दगी रोगसँग लडेर, प्रतिक्रियावादीसँग लडेर, जनविरोधी शक्तिसँग लडेर, कोसँग लडेर यत्तिकै वितेको थियो । विरामी भएँ भनेर रोगसँग लड्न मलाई अप्ठेरो लाग्दैन, अप्ठेरो स्थिति गरे भने प्रतिक्रियावादीसँग लड्न पनि अप्ठेरो मलाई लाग्दैन । म लडाईंको मैदानमा, अखडामा खडा छु । ०४६ वर्ष भयो विरामी नै विरामी लडिरहेको छु । विरोधीहरु मुकाबिला गर्न सक्दैनन् मनलाग्दी भनेर आश गर्छन् तर मर्न त मर्छ एकदिन तर अलि पछि । 

अस्ति झण्डै गएको डाक्टरसाबले चिरफार गरेर फेरि ठिक पार्नुभयो । मेरो पेट चारपल्ट राम्रैसँग चिरिएको छ । केही अंग फालिएका छन्, केही अंग थपिएका छन्, केही अंग काटिएका छन् । बानी पर्‍या छ मलाई । म किन यसरी बाँचिरहेको छु, काम गर्न सकिरहेको छु भने नेपाली जनताको स्नेह, शुभेच्छा र शुभकामनाले । यस देशमा भ्रष्टाचार नगरेर, भ्रष्टाचार रोकेर अगाडि बढाउन म बाँचिरहेको छु । 

प्रकाशित मिति : फाल्गुन ४, २०७६ आईतबार  १० : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]