बिर्तामोड र अर्जुनधारालाई उपमहानगर बनाउन माग
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा मंगलवार नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईले पत्रकारहरुसँग उपमहानगर बनाउन आवश्यक रहेको प्रसंग सुनाइन् । मेयरको कार्यकक्षमा पुगेका पत्रकारहरुसँग कुराकानी गर्दै उपमहानगरको आवश्यकताबारे उनले छोटो कुराकानी गरेकी हुन् ।
जिल्लाको ठुलो बजार रहेको बिर्तामोड नगरपालिका र नजिकै रहेको अर्जुनधारा नगरपालिकालाई उपमहानगर बनाउन उपयुक्त हुने उनको धारणा थियो । बिर्तामोड र अर्जुनधारालाई उपमहानगर बनाए दुवै पालिकाका नागरिकलाई पनि सहज हुने मेयर प्रसाईको आसय थियो । दुवै पालिकाका नागरिकहरु एक अर्को पालिकामा निर्भर छन्, बजार एउटै छ । शहर एउटै छ । बसपार्क साझा छ, उनले थपिन – पालिका मात्र फरक भएका छन् । सबै मापदण्ड पुग्ने अवस्थामा एउटै स्थानीय सरकार बनाउन उपयुक्त हुन्छ ।
पत्रकारहरुले कतिपय समस्याहरु बारे जिज्ञासा राख्दा जवाफ दिदैं उनले भनिन्, केही यस्ता प्राविधिक समस्याहरु छन् । जसको समाधानका लागि दुई पालिकाहरुलाई एक बनाउनुपर्छ , अर्थात उपमहानगर बनाउनुपर्छ । दुई पालिकालाई एक बनाउन सकियो भने एक अर्काबीच देखिएका कतिपय समस्याहरु समेत समाधान भएर जानेछ ।
झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकालाई उपमहानगरपालिका बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही महिनाअघि ध्यानाकर्षण पत्र समेत बुझाई सकिएको छ ।
दुई नगरपालिकालाई उपमहानगर बनाउनुपर्ने, उपमहानगर बनाउदा बुद्धशान्तिका ३ वटा वडा, कनकाईको २ वटा वडालाई समेट्नुपर्ने माग गरिएको बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिए । बिर्तामोड १० नं. वडालाई पनि क्षेत्र नं. २ मा समेटिनुपर्ने माग गरिएको छ ।
झापा क्षेत्र नं. २ को भूगोललाई उपमहानगरपालिका बनाउनपर्ने आधार र मापदण्डसहितको ध्यानाकर्षण पत्र बुझाइएको संग्रौलाले जानकारी दिएका हुन् । उनका अनुसार प्रधानमन्त्री ओलीलाई यहाँको मापदण्डका आधारका उपमहानगर घोषणाका लागि पहल गरिदिन माग गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७ मा व्यवस्था भए बमोजिम दुई वा सो भन्दा बढी पालिकाले बहुमतबाट गाभिने प्रस्ताव पारित गर्न सक्ने छ । गाभिएपछि नाम, वडा, सीमा र केन्द्र खुलाई प्रदेशमा पठाउनका लागि ऐनमा व्यवस्था गरिएको छ ।
उपमहानगरका लागि १५ वटा मापदण्ड पुरा गरिसकेकाले घोषणा गरेर जानुपर्ने आधारहरु समेत प्रधानमन्त्री ओलीलाई प्रस्तुत गरिएको छ ।
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८ को उपदफा (१) को खण्ड (ख) मा उल्लेखित उप महानगरपालिका बन्न आवश्यक मापदण्ड अनुसार २ लाख जनसंख्या हुनुपर्ने उल्लखे छ । उपमहानगपालिका हुन कम्तिमा दुई लाख जनसंख्या हुनुपर्नेमा हाल बिर्तामोड र अर्जुनधाराको जनसंख्या दुई लाख चार हजार रहेको जनाइएको छ ।
पछिल्लो ५ बर्षको औषत आन्तरिक आय २७ करोड पुगेको र ३२ करोडसम्म पुग्न सक्ने सम्भावना रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । पत्र अनुसार कम्तिमा एक सय शैयाको एक अस्पतालसहित कम्तीमा दुई सय शैयाको अस्पतालको सुविधा भएकोमा दुवै नगरपालिकाको ३० बेडको अस्पतालसहित विर्तामोडमा नीजि अस्पतालमा २०० शैयाभन्दा माथिको नीजि अस्पतालको सुविधा उपलब्ध छ ।
फोहोरमैला व्यवस्थापनका लागि तिन वटा पालिकाको साझेदारीमा कन्काई विर्ता अर्जुन नवीकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडबाट तीन वटै नगरपालिकाको जैविक तथा अजैविक फोहोरमैलाको दिगो व्यवस्थापनको कार्य प्रारम्भ भईसकेको, सरकारी र निजी क्षेत्र दुबै क्षेत्रले राष्ट्रिय सम्मेलन गर्न सक्ने सभाहलको पूर्वाधार भएको, राष्ट्रियस्तरको डोमालाल रङशाला र बिभिन्न खेलसँग सम्बन्धित कभर्डहलको व्यवस्था भएको, विद्युत, खानेपानी र सञ्चार सुविधा सबै वडामा पर्याप्त भएको, नगरभित्रका प्रमुख सडकहरु पक्की भईसकेको र अन्य शाखा सडकहरु पनि पक्की र पेबर्स हुने क्रममा रहेको, उच्च स्तरीय शिक्षाका लागि एक मेडिकल कलेजले सम्बन्धन पाइसकेको र अन्य सरकारी र निजी कलेजहरु संचालनमा रहेको, सीटीईभिटी लगायतका प्राविधिक शिक्षालयहरु रहेको जनाइएको छ ।
नगरपालिकाभित्र सार्वजनिक उद्यान निर्माणाधिन रहेको र नगर सभागृह निर्माणका लागि आवश्यक छलफल भईरहेको, कृषि थोक बजारमा नगरपालिकाको आर्थिक सहयोगमा निजी आधुनिक पशु वधशाला निर्माण भई प्रयोगमा रहेको बताइएको छ । मापदण्ड अनुसार व्यवस्थित शवदाह स्थल बन्ने क्रममा रहेको पत्रमा उल्लेख छ ।
सार्वजनिक प्रयोगका स्थल र भवनहरु अपाङ्गमैत्री तथा भौतिक रुपमा पहुँचयोग्य हुने क्रममा रहेको, नगरक्षेत्रभित्र किङ्ग्सवेरी (क्यासिनो सहित) को ५ तारे होटल सहित होटेल तथा रिसोर्ट समेत भएको बताइएको छ । नगरपालिकालाई तोकिएका अन्य सम्पुर्ण पूर्वाधार नगरक्षेत्रभित्र भएको र पहाडीक्षेत्र ताप्लेजुङ पाँचथरदेखि दक्षिणी सीमाक्षेत्र कचनकवलसम्मको व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकामा तोकिए बमोजिमको अन्य शहरी सुविधा समेत रहेकोले उपमहानगर घोषणा गर्न उपयुक्त हुने आधार प्रस्तुत गरिएको छ ।
उपमहानगरपालिका घोषणा हुँदा दुवै पालिकाका नागरिकलाई फाइदा पुग्ने र विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । प्रधानमन्त्री ओलीलाई २ वटा पालिकामध्ये अर्जुनधारामा मात्र नदीजन्य गिटी, बालुवाको संभावना भएकाले यसले दुबै नगरक्षेत्रको विकासमा टेवा पु¥याउने जानकारी गराइएको छ ।
खुल्ला मैदान, राष्ट्रियस्तरको खेल मैदान, पार्कको निर्माण गरि खेलकुद क्षेत्रको विस्तार र विकास गर्न उपयुक्त देखिएकोले उपमहानगर बनाउन आवश्यक रहेको छ । विर्तामोडका कृषिक्षेत्रमा ६५ मात्र जमिन देखिएकाले अर्जुनधारा समेत गाभिँदा कृषिक्षेत्रको जमिनमा कृषिबाली उत्पादनमा टेवा पुर्याउन सकिने, एउटा निर्वाचन क्षेत्रमा शहीद उद्यान पार्कको व्यवस्थापन गर्न सकिने, दुवै नगरपालिकामा भएका हेभी सवारी साधनलाई जोडेर विपत्ति, विकास निर्माण र निःशुल्क सेवाका कामलाई प्रभावकारी बनाउन सकिने जनाइएको छ ।
उपमहानगर बनाउँदा सुख्खा बन्दरगाको निर्माण र आधुनिक टर्मिनल सहितको बसपार्क समेत निर्माण गर्न सकिने प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको संग्रौलाले बताए । उपमहानगरपालिका भएपश्चात समग्र झापा जिल्लाकै पहिचान तथा अर्गानिक, मानवीय एवं सामाजिक विकासमा थप अभिवृद्धि गर्न सहज हुने बताइएको छ ।
उपमहानगरपालिका हुनका लागि ऐनले तोकिए बमोजिमका १५ वटा मापदण्डहरु पुरा भइसकेको र अबको २ बर्षमा अझ बढी क्षेत्रमा सेवा बिस्तार हुने हुँदा नगरबासीका लागि दीगो आर्थिक वृद्धि, खाद्य सुरक्षा, गुणस्तरीय शिक्षा, उत्पादनमुलक रोजगारी तथा शान्तिपुर्ण समाज निर्माणका लागि उपमहानगरपालिका निर्माण गर्न जरुरी रहको पत्र बुझाइएको छ ।
उपमहानगर बनाउनुपर्ने मागसहित हरिचरण शिवाकोटी, देवराज कार्की, नगेन्द्र प्रसाद संग्रौला, किशोर कुमार पौडेल र माधव खरेलले प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।