सहाराबाट ६४ हजार सदस्यलाई ७ अर्ब ६८ करोड ऋण, कृषिमा ६६ करोड
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो कार्यक्षेत्रभित्र ६४ हजार सदस्यहरुलाई कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष ०८०-८१ मा सहाराले ६४ हजार ४७ जनालाई कर्जा प्रवाह गरेको हो ।
सहाराले १० शिर्षकमा कर्जा प्रवाह गरेको २८ औं वार्षिकसाधारणसभाको प्रतिवेदनमा उल्लेख छ । आय आर्जनका लागि ४५ हजार ७३ जनाले ऋण लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आय आर्जन शिर्षकमा सबैभन्दा धेरै र प्रोफेसनलमा सबैभन्दा कम ७ जनाले ऋण लिएका छन् ।
प्रतिवेदनमा भएको विवरण अनुसार ४ हजार २ सय २९ जनाले आवासीय ऋण शिर्षकमा १ अर्व १७ करोड २२ लाख २१ हजार ५ सय, कृषि ऋण ३ हजार ३० जनाले ६६ करोड ६१ लाख ८१ हजार, हरित उर्जा ऋण ६ हजार २ सय ७९ जनाले ६ करोड १६ लाख ५६ हजार, आय आर्जनमा ४५ हजार ७३ जनाले ३ अर्ब ८१ करोड ५४ लाख ६३ हजार, लद्यु उद्यम ऋण ३ हजार ८ सय ५३ जनाले १ अर्ब ३० करोड ३७ लाख ५९ हजार, लघु साना तथा मझौला उद्यमी ऋण ६३२ जनाले ३७ करोड ९९ लाख ३७ हजार रुपैया लिएका छन् ।
सरल ऋण शिर्षकमा ४५४ जनाले ६ करोड २७ लाख १२ हजार ३ सय, प्रोफेसनलमा ७ जनाले ३१ लाख, युवा स्वरोजगार ऋण ८९ जनाले २ करोड ९३ लाख ४९ हजार ५ सय, नियमित सदस्य ऋण ३३३ जनालाई १८ करोड ८० लाख ५ हजार ऋण उपलब्ध गराइएको छ । ६४ हजार ४७ जना सदस्यहरुलाई ७ अर्ब ६८ करोड २३ लाख ८४ हजार ३ सय रुपैयाँ कर्जा लगानी गरिएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका सदस्य सचिव महेन्द्र कुमार गिरीले जानकारी दिए ।
संस्थाले ऋण व्यवस्थापन तथ असुली कार्यविधि २०८० को आधारमा ५२ सय १७ जना सदस्यको भाखा नाघेको रकम ५९ करोड ७९ लाख ८३ हजार ३३० रुपैयाँ असुलउपर गरिरहेको जनाएको छ । ०८१ असार मसान्तमा ७० हजार २ सय ९७ जना ऋणी सदस्यमा १० अर्ब ९३ करोड ४५ लाख ६१ हजार ३९८ रुपैयाँ लगानी रहेको थियो ।
१ लाख ७३ हजार २ सय ६५ जना सदस्य रहेको सहाराको शेयर पुँजी १ अर्ब ६७ करोड रहेको छ । १ अर्ब २६ करोड जगेडा कोष रहेको सहाराले बाह्य ऋण शून्य रहेको जनाएको छ । १२ अर्ब ७५ करोड बचत रहेको संस्थामा करपछिको नाफा ८ करोड ५२ लाख रहेको प्रतिवेदनमा उल्लेख छ ।