कनकाई माइमेलाको भव्य तयारी, वडाको संयोजनमा ५ दिन मेला लगाइने
सरोज भट्टराई
शिवसताक्षी । पूर्वकै प्रसिद्ध कन्काई माई मेला यस वर्ष भव्य रुपमा लगाउने तयारी सुरु गरिएको छ । माइमेला शिवसताक्षी नगरपालिकास्थित वडा नम्बर १० माइधारमा धुमधामले लगाउने तयारी भएको हो ।
स्वतः स्फूर्त धार्मिक मेलाको रुपमा लाग्दै आएको कन्काई माई मेला शिवसताक्षी नगरपालिका वडा नं. १० को संयोजनमा लगाउने बताइएको छ । वडा कार्यालयले माइमेलालाई व्यवस्थित बनाउन तयारी सुरु गरेको जनाएको छ ।
मेलालाई व्यवस्थित गर्न र कनकाई पुलमा भीडभाड कम गर्नका लागि कनकाई नदिमा वैकल्पिक पुल निर्माणका लागि काम सुरु गरिएको शिवसताक्षी नगरपालिका वडा नं. १० वडाध्यक्ष तथा माइमेला संयोजक हर्क सिगुले बताए ।
वडाध्यक्ष सिगुका अनुसार गएको वर्षहरु भन्दा ठूलो रुपमा मेला लगाउने योजना रहेको छ । मेलामा लगाउन ठेक्का दिदाँ भिटौरी शुल्क महंगो भयो भन्ने व्यापारीको गुनासो आएपछि यस वर्ष वडाले आफै मेला लगाउने तयारी गरेको वडाध्यक्ष सिगुले जानकारी दिए । उनले भने, हामी गएका वर्षहरु भन्द कम शुल्क तोकेर भिटौरी लिने व्यवस्था मिलाउँछौ । सबै व्यापारीहरुलाई मेलामा व्यवसाय सञ्चालन गर्न आग्रह समेत गर्दछौ ।
कन्काई माई विशेष गरी हिन्दु धर्मावलम्बीहरुको धार्मिक मेला भएको हुँदा मेलामा मकर नुहाउने, पुजा आरधाना लगायत कार्यक्रम हुने गरेको छ । मेलामा विभिन्न खेल तमासा, पिङ, नौका, ड्रागन, सकर्स, बुगीबुगी डान्स, सरकारले मान्यता दिएको आधिकारिक खेलवाडहरु, चिल्ड्रेन खेलहरु सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
यो वर्ष माइ मेला ५ दिन लाग्ने व्यवस्था मिलाइएको छ । पौष २७ गते बेलुकासम्ममा सम्पूर्ण तयारी पुरा गरेर २८ गते दिउँसो १२ बजे मेला उद्घाटन गरिने छ भने मेला माघ ४ गते सम्म सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
करिब ५ विगाह क्षेत्रफलमा मेला लगाइने र मेलाका लागि जग्गा व्यवस्था भइसकेको वडाध्यक्ष सिगुले जानकारी दिए । मेलामा यातायात व्यवस्थापन र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी तथा ट्राफिकहरुलाई परिचालन गरिने छ । एसियन हाइवे निर्माणका चरणमा रहेकाले सडक छेउमा सवारी पार्किङ्गमा समस्या रहेको भन्दै वडाध्यक्ष सिगुले सडक उत्तरपट्टीको सागरनाथ वन क्षेत्रमा पार्किङ्गको व्यवस्था मिलाइने बताए ।
माघ १ गते मकर नुहाउन र धार्मिक अनुष्ठान गर्न नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भुटान, भारतको सिक्किम, असम, मनिपुर, दार्जिलिङ, सिलिगुडी लगायतका तीर्थालु भक्तजनहरु आउने गरेका छन् । झापाको कनकाई माई पश्चित माईधार तथा नदीको तट आसपासमा मेला लाग्ने गरेको छ भने कनकाई नगरपालिकाको कोटिहोम परिसरमा धुमधामले मेला लाग्ने गरेको छ ।