बैशाख २३, २०८२ मंगलबार

धुलाबारीमा माघ ४ गतेदेखि ‘दोस्रो मेची महोत्सव’

मेचीनगर । आगामी माघ ४ गतेदेखि नौ दिनसम्म धुलाबारीको कोलेनीमा ‘दोस्रो मेची महोत्सव’ लाग्ने भएको छ । सोमवार मेची चेम्बर अफ कमर्स मेचीनगरले धुलाबारीस्थित छहारी होटलमा पत्रकार सम्मेलन गरेर आगामी माघ ४ गतेदेखि १२ गतेसम्म ‘दोस्रो मेची महोत्सव’ आयोजना गर्न लागेको जानकारी गराएको हो ।

कमर्स मेचीनगरका अध्यक्ष रविनकुमार वस्नेतले कृषि, व्यापार, पर्यटन, खेलकुद, सांस्कृतिक सांगीतिक, औधोगिक प्रवद्र्धनको पुर्वाधार, समृद्ध मेचीनगर निर्माणको आधार मुल नारासहित महोत्सव सञ्चालन गर्न लागिएको बताए ।
कृषि र उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धन र बजारीकरण, लागूऔषधमा फसेका युवाहरुलाई सचेतना गराउने उदेश्यले महोत्सव लगाउने तयारी गरिएको उनले बताए ।

कमर्सका वाणिज्य उपाध्यक्ष एवम् मेचीनगरको सामुदायिक विद्यालय व्यवस्थापन महासंघका संयोजक समेत रहेका शान्तिराम चिमरियाले विद्यार्थीसहित आम नागरिकलाई लागूऔषध र स्थानीयस्तरबाट उत्पादित कृषिका सामग्रीको कसरी बजारीकरण गर्न सकिन्छ, त्यसका विषयमा महोत्सवमा छलफल र बहस गरिने बताए ।

महोत्सवमा साना–ठुला ३६ वटा स्टलहरु रहने छन् । ९ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर, रक्तदान लगायतका कार्यक्रमहरु हुने उपाध्यक्ष भीम कुँवरले बताए । स्थानीय र राष्ट्रिय कलाकारहरुद्वारा सांगातिक कार्यक्रम पनि प्रस्तुत हुनेछ ।

१०८ जनाको मुल आयोजक समिति रहने महोत्सवमा करिव ६ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको महासचिव प्रकाश खड्काले बताए । कमर्सले यसअघि प्रथम मेची महोत्सव पनि भव्यरुपमा सम्पन्न गरेको थियो । मुख्य प्रायोजक, सहप्रायोजकका लागि मेचीनगर नगरपालिका, यहाँका पाँच तारे होटल तथा अन्य विभिन्न संघ–संस्थासँग सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।

मेची चेम्बर अफ कमर्सका अध्यक्ष रविनकुमार बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए ।

प्रकाशित मिति : पुष २३, २०८१ मंगलबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]