जेष्ठ ७, २०८२ मंगलबार

काँकरभिट्टामा खैरो हिरोइन कारोवारीसँग प्रहरीले भेटायो गैंडाको खाग

बिर्तामोड । झापामा लागूऔषध कारोबारी खोज्न गएको प्रहरीले गैंडाको खाग जस्तो देखिने वस्तुसहित एक जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टामा रहेको हिमालय गेस्ट हाउसबाट प्रहरीले लागूऔषाधसहित एउटा गैंडाको खाग जस्तो देखिने वस्तुसमेत बरामद गरेको हो ।

प्रहरीले होटलको कोठा नं. १०२ बुकिङ गरी बसेका भारतीय नागरिक नारायण रामधामलाई पनि पक्राउ गरेको छ । उनी वेष्ट बङगालको उत्तर मेन्दाबारीका हुन् ।

लागूऔषध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरी टोली रामधाम बसेको होटलमा पुगेको थियो । प्रहरीले उनी बसेको कोठाबाट लागूऔषध खैरो हिरोइन, पेभान स्पेस प्लस लेखिएको औषधि र गैंडाको खाग जस्तो देखिने वस्तु फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनका अनुसार पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।

कार्टुनभित्र राखेको अवस्थामा भेटिएको खाग जस्तो वस्तुको सतहको गोलाइ १८.६ इन्च, उचाइ ८.६ इन्ज र तौल एक किलोग्राम ७०० ग्राम छ ।

गैंडाको खाग हो होइन भन्ने विषय परीक्षणपछि मात्रै खुल्ने प्रहरीले बताएको छ । प्रहरीले भारतीय नागरिक बसेको कोठाबाट प्लास्टिकको पोकाभित्र राखेको अवस्थामा ३ ग्राम ७६० मिलिग्राम र प्लाष्टिक बाहिर २ ग्राम ८०० मिलिग्राम खैरो हिरोइन पनि बरामद गरेको छ ।

पेभन स्पास प्लस लेखिएको ट्याब्लेट १८ पत्ता, लागूऔषध जोख्नका लागि प्रयोग हुने एउटा डिजिटल तराजु र दुई वटा मोबाइल पनि फेला परेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टमा राखेर थप अनुसन्धान भइरहेको तामाङले बताइन् ।

प्रकाशित मिति : पुष २५, २०८१ बिहीबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]