बैशाख २३, २०८२ मंगलबार

झापाको सहकारी अभियान देशभरकै लागि चासोको विषय हो : पोखरेल

बिर्तामोड । राष्ट्रिय सहकारी महासंघका कार्यबाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारीबीचमा एकता र मेलमिलाप हुनुपर्ने बताएका छन् । सहकारीबीचमा एकता नभए बाहिरबाट यो क्षेत्रविरुद्ध प्रहार हुने बताए ।

झापा जिल्ला सहकारी संघ लिमिटेडको २८औँ वार्षिक साधारण सभामा बोल्दै पोखरेलले सहकारी परिवारभित्र मेलमिलापको खाँचो भएको बताए । उनले मेलमिलाप र गरिवी भएमा सहकारी क्षेत्रमा समस्या हुने बताएका हुन् । उनले भने, कुनै पनि परिवारमा द्वन्द्वको कारण भनेको गरिवी र मेलमिलापको अभाव नै हो । सहकारीले दुवै कुराहरुलाई मिलाएर काम गर्नुपर्छ ।

आज बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै उनले झापाको सहकारी अभियान सबैको चासोको विषय भएको बताए । झापाका सहकारीले के कस्ता निर्णय गरिरहेका छन्, अन्य जिल्लाहरुलाई पनि चासो हुनछ, उनले थपे – यहाँको सहकारी अभियान हामी सबैका लागि अध्ययनको विषय पनि हो ।

उनले सरकारले जारी गरेको सहकारी सम्बन्धी अध्यादेशको विषयमा सरोकारवाला निकायहरुसँग छलफल नगरिएको गुनासो गरे । सहकारी समस्या समाधानका लागि ल्याइएको अध्यादेश सरोकारवाला निकायसँग छलफल नगरी ल्याइएकाले त्यसमा संशोधन आवश्यक रहेको उल्लेख गरेका छन् ।

संशोधनका लागि मन्त्रालयमा छलफल भइरहेको बताउँदै उनले प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्ने आश्वासन पाएको धारणा राखे । ०६२ सालमा नै सहकारीको नियमनका लागि दोस्रो तहको निकाय वा प्राधिकरणको आवश्यकता रहेको आफूहरुले औंल्याए पनि सोको बेवास्ता गरिएको उनको भनाइ छ । सहकारी ऋण सूचना केन्द्रको आवश्कता औँल्याइएकोमा कर्जा सूचना केन्द्रमार्फत व्यवस्थापन गर्ने, सहकारी कर्जा सुरक्षण कोषको व्यवस्था जस्ता केही राम्रा कामको थालनी गरिएको उनले उक्त कार्यको स्वागत गरेका छन् ।

विश्वमा काहीँ नभएको बचत सीमा सरकारले तोकिदिएकोमा उनको आपत्ति थियो । सरकारले जिल्लाभर कार्यक्षेत्र हुने सहकारीले १० लाख, प्रदेशभर कार्यक्षेत्र भएकाले २५ लाख र देशभर कार्यक्षेत्र भएका सहकारीले एक जना सदस्यबाट ५० लाखसम्म बचत संकलन गर्न पाउने व्यवस्था हटाउन महासंघले माग गरेको बताएका छन् ।
बचत तथा ऋण सहकारी संस्थामा बढीमा दुई कार्यकाल भन्दा बढी एक जना व्यक्ति बस्न नपाउने गरी सरकाले गरेको व्यवस्था परिमार्जन गरिनुपर्ने माग सरकार समक्ष राखिएको जानकारी दिए ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष गणेश ढकालले झापा जिल्ला सहकारी संघको शेयर पूँजी ३ करोड ५९ लाख ५६ हजार एक सय रुपैँया, कोषमा ८ करोड ९ लाख ६६ हजार ८४१ रुपैँया रहेको जानकारी दिए । संघले गत आवमा संघले २ करोड ५ लाख ७० हजार २८७ रुपैँया निक्षेप संकलन गरेको र १ करोड २८ लाख २ हजार १७२ रुपैँया कर्जा लगानी गरेको छ । संघमा ४९६ वटा प्रारम्भिक संस्थाहरु सदस्य रहेका छन् ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का महासचिव घनश्याम अधिकारीले शुभकामना मन्तव्य राखेका थिए । कोषाध्यक्ष अर्जुन दंगाल र लेखा सुपरिवेक्षण समिति संयोजक चुडामणि ओझाले प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका सचिव भवानीप्रसाद दंगाल (भानु) ले कार्यक्रमको सञ्चालन गरेका थिए भने स्वागत उपाध्यक्ष प्रेमकुमार कोइरालाले गरेका थिए ।

संघको नयाँ नेतृत्वका लागि माघ २० गतेदेखि फागुन ३ गतेसम्मको निर्वाचन तालिकासमेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : पुष २७, २०८१ शनिबार  ६ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]