मुद्रण उद्योग संघ झापाको साधारण सभामा संस्थापकहरू सम्मानित
बिर्तामोड । मुद्रण उद्योग संघ झापाले संस्थापक अध्यक्ष गणेशकुमार श्रेष्ठसहित विभिन्न व्यक्तित्वलाई शनिबार सम्मान गरेको छ । झापाको धनुषकोटी धाममा आयोजित सातौं वार्षिक साधारण सभा तथा बनभोजका अवसरमा संघले विभिन्न नौ जनालाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष गोपाल ढकाल र संघका अध्यक्ष रोहितकुमार भट्टराईले पुष्पहारसहित सम्मानपत्र प्रदान गरेका थिए ।
सम्मानित हुनेहरूमा संस्थापक उपाध्यक्ष गोविन्द निरौला, सहसचिव रमेशकुमार रिजाल, कोषाध्यक्ष टंकप्रसाद दुलाल, सदस्यहरू टीकादेवी नेपाल, देवेन्द्रकिशोर ढुङ्गाना, खड्गबहादुर खड्का, पदमबहादुर बुढाथोकी र युवराज डाँगी रहेका छन् ।
कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले मुद्रण उद्योगमा भएको लगानी र सृजित रोजगारी रक्षाका लागि विभिन्न चरणमा सरकारसँग छलफल भएको बताउनुभयो ।
नेपाली मुद्रण व्यवसायीलाई ओझेलमा पार्ने नियतले सरकारले हालै सुरक्षण मुद्रणको नाममा निजी क्षेत्रलाई उपेक्षा गर्न खोजेको भन्दै उपाध्यक्ष ढकालले कडा आपत्ति प्रकट गरे ।
मुद्रण उद्योगलाई संकटमा पार्ने गरी आएका नियम कानुन खारेज गर्ने गरी सरकारलाई दबाब दिन संगठित प्रयासको खाँचो रहेको उपाध्यक्ष ढकालले औँल्याएका छन् ।
कार्यक्रममा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले मुद्रण व्यवसायीले छपाइको गुणस्तरलाई वृद्धि गर्दै आधारभूत मूल्यमा एकरूपता कायम गर्न जरुरी भएको बताए ।
साधारण सभामा अध्यक्ष भट्टराईले व्यवसाय प्रवद्र्धन गर्दै आधुनिक उपकरण र जनशक्ति उत्पादनका लागि डिजिटल मार्केटिङ र कर सम्बन्धी प्रशिक्षण लगायतका विषयमा कार्यक्रम प्रस्ताव गरेका थिए ।
सदस्य राहत कोष स्थापना, अध्ययन अवलोकन भ्रमण, अक्षय कोषका लागि कार्यविधि निर्माण लगायतका विषय पनि अध्यक्ष भट्टराईको प्रतिवेदनमा समेटिएका छन् । संघको आफ्नै जमिन खरिद गरी भवन निर्माण गर्ने प्रस्ताव पनि अध्यक्ष भट्टराईले साधारण सभा समक्ष राखेका छन् । संघमा मुद्रणसँग सम्बन्धित १०५ जना व्यवसायी संगठित भइसकेका छन् ।
सदस्य विस्तार अभियानलाई पनि तीव्रता दिइने संघका सचिव भानुभक्त खनालले बताए । छापाखाना व्यवसायीहरूलाई एकत्रित गरी व्यवसायिक हितका लागि काम सुरु गरिएको र आगामी दिनमा यसलाई निरन्तरता दिइने सचिव खनालले उल्लेख गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले कच्चा पदार्थ आयातमा बढी कर लगाउने सरकारी नीतिका कारण मुद्रण व्यवसाय संकटमा पर्न सक्ने बताउँदै यस विषयमा समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष युवराज डाँगी, सल्लाहकार कृष्ण अधिकारी, कोशी प्रदेश अध्यक्ष लवकुमार घिमिरे, सह कोषाध्यक्ष राजु पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य केदार खनाल लगायतको आतिथ्य रहेको थियो । सचिव खनालले सञ्चालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष याम थुलुङले स्वागत मन्तव्य राखेका थिए ।