बैशाख २०, २०८२ शनिबार

हात्ती नियन्त्रण गर्न दीगो र भरपर्दो उपाय खोजौं

सम्पादकीय

झापामा जंगली हात्तीको समस्या देखिएको वर्षौं भइसक्यो । हात्तीको समस्यालाई लिएर आर्थिक, सामाजिक र राजनीतिक बहस लगातार भइरहेका पनि छन् । बढ्दो धनजनको क्षति, बसाईसराई र निर्वाचनताका व्यक्त हुने राजनीतिक प्रतिबद्धता सधैँ बहसको विषय बन्छन् । झापामा हात्तीको समस्या समाधानको उपाय अझै पहिल्याउन सकिएको छैन । हात्तीको सीमावर्ती आवागमन रोक्न प्रारम्भमा उत्तरी झापाको बाहुनडाँगीदेखि झन्डै काँकडभिट्टासम्मको १८ किलोमिटर क्षेत्रमा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार लगाइएको थियो ।

भारतबाट मेची नदी पार गरेर बाहुनडागी हुँदै प्रवेश गर्ने हात्तीको उपद्रो रोक्न लगाइएको तारबारको प्रभावकारितामाथि पनि प्रश्न उठिरहेको छ । तर, यसलाई हात्ती नियन्त्रणको अल्पकालीन उपायका रूपमा विस्तार गर्दै लैजाने सरकारी नीति अझै कार्यान्वयनमा छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अग्रसरतामा झापाका विभिन्न वन क्षेत्र वरपर सौर्य ऊर्जामा आधारित यस्ता विद्युतीय तारबार निर्माण गरिएका छन् । पछिल्लोपटक झापाको चारआली जंगल क्षेत्र वरपर यसको विस्तार गरिएको छ । बिर्तामोड नगरपालिकाको पूर्वी क्षेत्रमा समेत विद्युतीय तारबार विस्तारको काम भइरहेको छ । जङ्गलबाट सोझै समुदायमा हात्तीको प्रवेश रोक्ने उपायका रूपमा लिएको विद्युतीय तारबारको संरक्षणका विषयमा भने अझै पनि प्रश्न उठिरहेका छन् । विद्युतीय तारबार गरिएका क्षेत्र वरपर नै हात्तीको प्रवेश बढेको, धनजनको क्षति हुने गरेको देखिने गरेको छ ।

झापामा मानव हात्ती द्वन्द उत्कर्षमा छ भन्दा पनि हुन्छ । वर्षेनि हुने मानवीय क्षति, बालीनालीमा भइरहेको विनाश र राज्यले वितरण गर्नु परेको राहतको लेखाजोखा गर्ने हो भने हात्ती नियन्त्रणका लागि अझै अरु दीगो उपाय खोज्नुपर्ने परिस्थिति छ । यसका लागि राज्यका निकायहरूले थप चासो दिनुपर्छ । जङ्गल क्षेत्रमा चरण अभाव हुँदा हात्ती सोझै समुदायमा प्रवेश गरिरहेका छन् । मूलत हात्ती हिँड्ने क्षेत्र वरपर बस्ती विकास हुँदै गएपछि त्यसको प्रत्यक्ष प्रभाव परेको विषयलाई नकार्न पनि सकिन्न । तर, यति भनेर मात्रै चित्त बुझाउने ठाउँ छैन । हात्ती नियन्त्रणको दीगो र भरपर्दो उपाय खोज्ने मामिलामा अझ धेरै सरकारी प्रयास र प्रयत्नको खाँचो छ ।

प्रकाशित मिति : पुष २८, २०८१ आईतबार  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]