झापा गोल्डकप फुटाउने होइन, जुटाउने होस्
सम्पादकीय
फुटवल क्षेत्रमा ठुलो सपना बोकेर सुरु भएको झापा गोल्डकपले स्थापनाकालदेखि प्रतियोगिता सञ्चालन गरिरहेको छ । झापा गोल्डकपको स्थापनामा धेरैलाई श्रेय जान्छ, त्यो भन्दा धेरै जलकुमार गुरुङलाई अवश्य जानेछ । फुटवल क्षेत्रको विकासमा निस्वार्थ लागिरहेको व्यक्तित्वका रुपमा परिचित गुरुङकै अगुवाईमा भर्खरै झापा कप २०८१ सम्पन्न भएको छ । झापा गोल्डकपभन्दा बाहिर रहेर पनि गुरुङको अगुवाईमा सम्पन्न झापा कपले २८ लाख रुपैयाँ जोगाएको छ । झापा गोल्डकपले सधैं देशको ध्यान खिच्ने गरेको छ । पूर्वको फुटवल क्षेत्रलाई माथि उठाउन योगदान गरिरहेको झापा गोल्डकपको गति त्यो बेला देखेको सपना जस्तो छैन ।
झापा गोल्डकपको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । झापा गोल्डकपले यो अधिवेशनबाट पाँचौं अध्यक्ष पाउने छ । यसअघिका अध्यक्षहरुले धेरै दुख र मेहनतबाट यहाँसम्म ल्याएको गोल्डकपलाई अघि बढाउने चुनौतिसहित नयाँ अध्यक्षले जिम्मेवारी ग्रहण गर्नुपर्नेछ । झापाको फुटवल विरासतलाई जोगाउने दायित्व नै झापा गोल्डकपको हो । अहिले फुटवल क्षेत्रमा जिल्लाभित्र विभाजनको अवस्था छ । स्वार्थ प्रेरित गतिविधिहरु सञ्चालन भइरहेको जस्तो देखिन्छ । खेल क्षेत्रलाई साझा बनाएर अघि बढिरहे जस्तो पनि देखिदैन । केहि व्यक्तिहरुले झापा गोल्डकपलाई साझा संस्थाको रुपमा अघि बढ्न दिइरहेको छैन ।
एक दशकअघि स्थापना भएको झापा गोल्डकपको मेरुदण्ड भनेको झापा ११ फुटवल क्लव हो । तर, गोल्डकप एकातिर, झापा ११ अर्कातिर जस्तो देखिन्छ । त्यसकै परिणाम स्वरुप झापा गोल्डकपको व्यानरमा आयोजना गरिने भद्रपुर झापा गोल्डकपको पूर्वसन्ध्यामा बिर्तामोडमा झापा कप सम्पन्न भयो । फुटवल आयोजना गर्ने स्वतन्त्रता सबैलाई छ । फुटवलमा दाताहरुको मन पनि फराकिलो नै हुन्छ । जसका कारण प्रतियोगिताहरु सञ्चालन गर्न कठिनाई हुदैन । अब, नयाँ नेतृत्वले झापा गोल्डकपलाई साझा संस्था, सबैलाई अटाउन सक्ने संस्थाको रुपमा स्थापित गर्नुपर्छ । दाताको सहयोगलाई पारदर्शिता ढंगले चलाउनुपर्छ । खेलाडी उत्पादन र संरक्षणमा विशेष योगदान हुनुपर्छ । समग्रमा झापाको फुटवल क्षेत्रलाई एकतामा बाँध्न झापा गोल्डकपको महत्वपूर्ण भूमिका हुनुपर्छ । अबको झापा गोल्डकप फुटाउने होइन, जुटाउने किसिमको हुनुपर्छ । खेलभित्रको राजनीतिक सफा गर्ने नेतृत्वको जरुरी भएको छ ।