झापाका क्यासिनोले नेपाली व्यापारीलाई नरोके बिर्तामोड बाणिज्य संघले आन्दोलन गर्ने
बिर्तामोड । झापामा सञ्चालित क्यासिनोहरुमा नेपालीहरुलाई प्रवेश दिएको विषय फेरि उठेको छ । पटक–पटक उठ्दै आएको क्यासिनोको विषयमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले मुख खोलेका छन् ।
बिर्तामोड महोत्सवको सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै न्यौपानेले धेरै नेपाली व्यापारीहरुलाई क्यासिनोले सडकमा ल्याइसकेको जानकारी दिए । बिर्तामोड र मेचीनगरमा सञ्चालित क्यासिनोको कारण व्यापारीहरु अप्ठ्यारोमा परेको उनको भनाई छ । ‘अब केही समय पर्खनुहोस्, पीडित परिवारहरु आफैले पत्रकार सम्मेलन गरेर भन्नेछन्, न्यौपानेले थपे – पीडित व्यापारीका श्रीमति र छोराछोरीहरुले यो विषयलाई तत्कालै बाहिर ल्याउनेछन् ।
महिनौदेखि व्यापारी परिवारका छोराछोरीहरु क्यासिनोले बर्बाद बनाएको भन्दै समस्या लिएर आउने गरेका छन् ।
वाणिज्य संघका अध्यक्ष न्यौपानले महिनौ देखि क्यासिनोको विषय उठाउदा समेत सरोकारवालाहरुले ध्यान नदिएको गुनासो गरे । उनले प्रश्न गरे– बिर्तामोडका डिएसपीलाई पटक–पटक भनियो, उहाँ पुग्दा नेपाली भेटिदैनन्, कसरी सूचना चुहावट हुन्छ ? क्यासिनो खेलिरहेका व्यापारीहरु डिएसपी पुग्दा स्वीमिङ पुलमा भेटिन्छन्, यो कसरी भइरहेको छ ?
केहि समयअघि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, बिर्तामोडका डिएसपीलाई सँगै भएको कार्यक्रममा समेत जानकारी गराइसकेको उनको भनाई छ । अब, क्यासिनोमा नेपाली व्यापारीहरु रोकिएन भने वाणिज्य संघको नेतृत्वमा आन्दोलन हुनेछ । र, त्यहाँ नेपालीहरुलाई पूर्ण रुपमा रोकिनेछ ।
नेपालीहरुलाई प्रवेश निषेध हुने क्यासिनोमा खुलेयाम प्रवेश गर्न दिइएको उनको भनाई छ । धेरैले यो विषयलाई बाहिर ल्याएका छैनन्, विस्तारै सबै पीडित व्यापारीको नाम सुन्न पाइनेछ । कानुनी रुपमा बन्देज भएको काम क्यासिनोहरुले गरिरहेको उनले दावी गरेका छन् ।
अध्यक्ष न्यौपानेले भने – विना हेल्मेट मोटरसाइकल कुँदाउदा कारबाही हुन्छ, नेपालीहरुलाई क्यासिनो प्रवेश दिनेहरुलाई किन कारबाही हुदैन ?
बिर्तामोडमा केहि समयअघि छोरीको विवाहका लागि बैंकमा राखेको १ करोड १६ लाख रुपैयाँ क्यासिनोमा सकेको विषय पनि आएको अवगत गराएका छन् । छोरीको विवाहको लागि जम्मा गरेको रकम क्यासिनोमा सिध्याएपछि सो परिवारको विल्लिवाठ भएको थियो ।
क्यासिनोहरुले गाडि लिएर जाने व्यापारीहरुलाई गाडि नै धरौटीमा राखेर पैसा समेत दिने गरेको बुझिएको छ । झापामा पैसा भएका व्यापारीको पहिचान गर्ने गिरोह नै सक्रिय बनाएर व्यापारीहरुलाई सडकमा पुराउने काम भइरहेको चर्चा चलिरहेको छ ।
झापाको बिर्तामोडमा सञ्चालित होटल किंङसवेरीमा सेभेन हर्स क्यासिनो, जोरसिमलस्थित एचएमसीमा भेगास र काँकरभिट्टामा मिनि क्यासिनोहरु सञ्चालनमा रहेका छन् ।
क्यासिनो नियमावली २०७० को नियम १८ विपरीत नेपाली नागरिकलाई क्यासिनो स्थलमा प्रवेश गराएमा वा क्यासिनो खेलाएमा ईजाजतपत्र रद्द गर्न सकिनेछ व्यवस्था उल्लेख छ । क्यासिनो स्थलमा प्रवेश गर्ने प्रत्येक व्यक्तिको अनुहार प्रष्ट खिचिने गरी र सो स्थलभित्र खेल खेलेको गतिविधि देखिने गरी सि.सि.टि.भि. जडान गर्नुपर्ने नियमावलीमा प्रस्ट भनिएको छ ।
क्यासिनोले सि.सि.टि.भि. को अभिलेख छ महिनासम्म सुरक्षित राख्नुपर्ने र मन्त्रालयले माग गरेमा उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।
इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालनसँग सम्बद्ध कर्मचारी र खेलाडी क्यासिनो स्थलमा प्रवेश गर्दा र बाहिर निस्कदा रजिष्टरमा समय जनाएर प्रवेश गर्ने र निस्कने व्यवस्था मिलाई सो प्रयोजनको लागि छुट्टा छुट्टै रजिष्टर राख्नुपर्ने नियमावलीमा उल्लेख गरिएको छ ।