माघ २८, २०८१ सोमबार

निर्माण व्यवसायी संघमा नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार

रोहित काफ्ले
भद्रपुर । निर्माण व्यवसायी संघ झापाको नवनिर्वाचित कार्यसमितिले सोमबारदेखि कार्यभार सम्हालेको छ ।
संघको सभाहलमा आयोजित पद हरुतान्तरण समारोहका बीच नवनिर्वाचित कार्यसमितिले पदभार सम्हालेको हो । संघका अध्यक्ष मिलन वस्नेतले नवनिर्वाचित अध्यक्ष रमेश अधिकारीलाई पद हस्तान्तरण गरे ।

संघका अध्यक्ष वस्नेतकै अध्यक्षता तथा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष मोहनप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा आयोजित समारोहमा निर्वाचन समितिका संयोजक गोपालबहादुर थापाले नवनिर्वाचित पदाधिकारी–सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउँदै प्रमाणपत्र हस्तान्तरण गरेपछि नवनिर्वाचित अध्यक्ष अधिकारीले समारोहको अध्यक्षता गरेका थिए ।

समारोहमा नवनिर्वाचित अध्यक्ष अधिकारी, प्रथम उपाध्यक्ष केदार गिरी, द्वितीय उपाध्यक्ष राजकुमार राई, तृतीय उपाध्यक्ष नयन बराल, महासचिव पुष्पराज निरौला, सचिव लोकेन्द्र श्रेष्ठ, कोषाध्यक्ष यज्ञनिधि भुर्तेल, सह कोषाध्यक्ष सुरेन्द्र धिमाल तथा सदस्यहरु प्रविण कटुवाल, विवेक जवेगु, गंगाप्रसाद गौतम, मनोजप्रसाद उप्रेती, दिनेश मैनाली, ज्ञानबहादुर तामाङ, डालिम खड्का, आशिष वान्तवा, उद्धप कुँवर, भरत भट्टराई र महिला सदस्य कमला थाम्सुहाङलाई सपथ गराइएको थियो ।

महासचिव पुष्पराज निरौलाले सञ्चालन गरेको समारोहमा नवनिर्वाचित अध्यक्ष अधिकारीले प्रतिवद्धता मन्तव् राखेका थिए भने अध्यक्ष वस्नेतले धन्यवाद ज्ञापन गरेका थिए । प्रमुख अतिथि अधिकारी, निर्वाचन समितिका संयोजक थापा, संघका पूर्व अध्यक्ष गणेश बस्नेत र पूर्व महासचिव ओम पौडेलले नवनिर्वाचित कार्यसमितिको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

समारोहमा अध्यक्ष वस्नेतले आफ्नो कार्यकालका पदाधिकारी–सदस्यहरुलाई मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै, कर्मचारीको तर्फबाट कार्यालय सचिव ज्योति पौडेलले निवर्तमान अध्यक्ष वस्नेत र नवनिर्वाचित अध्यक्ष अधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए ।

गत पुस २१ र २२ गते सम्पन्न १६ औं साधारणसभा तथा अधिववेशनले अधिकांश पदाधिकारी सर्वसम्मत चयन गरे पनि अध्यक्ष, सह कोषध्यक्ष र सदस्यमा निर्वाचन भएको थियो । अध्यक्ष पदमा अधिकारीले इञ्जिनियर प्रकाश सिंहलाई पराजित गरेका थिए भने तीनजनाले उम्मेद्वारी दिएको सह कोषाध्यक्षमा सुरेन्द्र धिमाल विजयी भएका थिए । त्यस्तै, १० जना सदस्यका लागि १५ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति : माघ ७, २०८१ सोमबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]