जेष्ठ २७, २०८२ सोमबार

रुपन्देहीमा रविको थुनछेक बहस आजदेखि

काठमाडौँ  – बुटवलस्थित सुप्रिम सहकारी ठगीका एक प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे रुपन्देही जिल्ला अदालतमा आज (बिहीबार) थुनछेक बहस सुरु हुँदै छ।

बुधबार आफैँ अदालतमा हाजिर भएका लामिछानेले जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा दिनभर बयान दिए। बयान सकिएपछि रविलाई श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएर अदालतबाट पठाइएको थियो। अब आज उनी सर्तअनुसार बिहान १० बजे अदालतमा उपस्थित हुने छन्।

यसपछि थुनछेक बहस सुरु हुने जिल्ला अदालत, रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताएका छन्। थुनछेक बहस सकिएपछि रुपन्देही अदालतले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने वा बाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने आदेश दिनेछ।

गएको आइतबार लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो। पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ।

दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणमा प्रतिवादी बनाइएकाहरूलाई पनि कसुर र बिगो थप गरेर प्रतिवादी बनाइएको छ।

कुमार रम्तेल, शिवबहादुर गुरुङ, छविलाल जोशी, रवि लामिछाने, लक्ष्मीप्रसाद पौडेल, दिपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, नरेश जिसी, गितेन्द्रबाबु राई, भुपेन्द्र राई, देवेन्द्रबाबु राई, सागर केसी, नवीन अछामी, असरफ अलि सिद्दिकी र हेमन्त अधिकारीलाई प्रतिवादी छन्।

तर यीमध्ये दुई जनाबाहेक सबै फरार छन्। दुई जना जिल्ला कारागार कास्कीमा छन्। रविलाई गोर्खा मिडियामा जाँदा लिएको सेयरको २ करोड र गोर्खा मिडियामा सहकारीबाट लगिएको १० करोड ९९ लाख रुपैयाँमा बिगो भराउनु पर्ने सरकारी वकिलको माग दाबी रहेको छ। यो सबै गर्दा उनको नाममा साढे ४ करोडजति बिगो कायम हुन आउँछ।

यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा धरौटी बुझाएर रिहा भएका थिए। पोखरामा ६५ लाख र काठमाडौँमा ६० लाख धरौटी बुझाएका थिए।

प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार  १० : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]