बैशाख २०, २०८२ शनिबार

हात्तीपाइले रोग नियन्त्रणमा लापरबाही नहोस्

सम्पादकीय
सरकारले हात्तीपाइले रोग नियन्त्रणका लागि लामो समयदेखि आमऔषधि सेवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्ला स्वास्थ्य कार्यालयमार्फत यो कार्यक्रम वर्षेनि सञ्चालन हुन्छ । कार्यक्रम सञ्चालनका लागि सयौँ स्वास्थ्यकर्मी परिचालित हुन्छन् । देशव्यापी अभियानका रूपमा सञ्चालन हुने कार्यक्रम चलेको एकदशक भइसक्यो । तर, हात्तीपाइले रोग उन्मूलन गर्ने सरकारी लक्ष्य अपेक्षाकृत रुपमा पूरा हुन सकेको छैन । यसका पछाडि के के कारण छन् त ? स्वास्थ्य अधिकारी वा सरकारी निकायले यसको गम्भीर समस्या गरेको छैन । केवल अभियान सञ्चालन गर्ने ध्याउन्नमा मात्रै सरकार देखिन्छ ।

हात्तीपाइले रोग विरुद्धको आमऔषधि सेवन कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्दा बर्सेनि करोडौं रुपैयाँ खर्च भइरहेको छ । यसलाई सरकारी खर्च मात्रै हो भन्ने ठानेर बस्ने बेला छैन । जनताले तिरेको करको एउटा हिस्सा सरकारले आमऔषधि सेवन कार्यक्रमका लागि खर्चिने हो । नेपालले सन् २०२० भित्र हात्तीपाइले रोग उन्मुलन गर्ने लक्ष्य राखेर सन् २००३ मा ६१ जिल्लाबाट यो अभियान सुरु गरेको थियो । तर यो अभियान प्रभावकारी हुन सकेको छैन । वर्षेनि हात्तीपाइले रोगका नयाँ नयाँ संक्रमित थपिँदै गएका छन् । पछिल्ला तथ्याङ्कले पनि हात्तीपाइले रोग विरुद्धको सरकारी अभियान निष्प्रभावी भएको पुष्टि गर्छ ।

पूर्वी जिल्ला झापाकै सन्दर्भलाई हेर्ने हो भने पनि यो अभियानले अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा अहिले दुई हजार दुई सय भन्दाबढी हात्तीपाइले रोगका संक्रमित छन् । सरकारी अस्पतालमा संक्रमितको निशुल्क उपचार हुन्छ । तर, संक्रमितको संख्या घट्दो क्रममा होइन बरु बर्सेनि बढिरहेको छ । अभियान सफल नहुनुका पछाडि अनेक थरी कारण छन् । पहिलो त सरकारले आमरुपमा जनतालाई सजग र सचेत बनाउन प्रभावकारी प्रचारका कार्यक्रम सञ्चालन गर्न सकेको छैन । सुरुमै हात्तीपाइले रोगको औषधि सेवन गर्दा ज्यानै जोखिममा पर्ने भ्रमपूर्ण प्रचारले समुदाय आतङ्कित भएको थियो । त्यसलाई चिर्ने गरी सरकारले प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्न सकेन ।

पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्छ । सरकारले मूलत लामखुट्टे नियन्त्रणका लागि पनि प्रभावकारी पहल गर्न नसकेको देखिन्छ । अभियान सफल नहुनुका पछाडिको अर्को मुख्य र गम्भीर कारण भनेको कर्मचारीले प्रस्तुत गर्ने गलत तथ्य र तथ्याङ्क हो । धेरैभन्दा धेरै मानिसले औषधि सेवन गरेको तथ्याङ्क देखाएर कर्मचारी संयन्त्रले अभियानलाई प्रभावित बनाएको चर्चा यसअघि पटक–पटक चलेको थियो । यसमा नियमनकारी निकायहरूको सक्रियता झन् धेरै कमजोर देखिन्छ । अभियान जति धेरै सञ्चालन भयो त्यति धेरै फाइदा हुन्छ भन्ने मानसिकता व्याप्त रहेसम्म हात्तीपाइले रोग उन्मूलन गर्ने सरकारी लक्ष्य पुरा हुँदैन ।

प्रकाशित मिति : माघ २१, २०८१ सोमबार  ५ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]