हुलाकी राजमार्गः रतुवा खोलामा बन्यो पक्की पुल
झापा, २ फागुन – झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको रतुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी उपेन्द्र दासका अनुसार निर्माण सुरु भएको १७ वर्षपछि पुल बनेको हो । उहाँले पुल निर्माण सम्पन्न भएसँगै पहुँच मार्ग विस्तारको काम भइरहेको बताउनुभयो ।
विसं २०८१ असार १७ गते सम्पन्न हुनेगरी देव एण्ड सायर-समता-आशिषदीप जेभीसँग विसं २०७९ पुस १७ गते रु २२ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको थियो । उक्त कम्पनीले अघिल्लो निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको पुल निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो ।सूचना अधिकारी पन्तका अनुसार पहिलोपटक आर्थिक वर्ष २०६४-६५ मा कालिका–ओसिए जेभीले रु १० करोड ३२ लाखमा पुल निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो । तीन सय ४८ मिटर लम्बाइ रहेको सो पुल दुई सय चार दशमलव आठ मिटर मात्रै निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो ।
“पुल निर्माणपछि सवारीसहित आवतजावत सुरु भएको छ”, उहाँले भन्नुभयो, “सम्भवतः यही महिनाभित्र पहुँच मार्ग निर्माणपछि पुल सञ्चालन सहज रूपमा हुन्छ ।” पुलको सुरक्षाका लागि खोलामा तटबन्ध निर्माण पनि भइरहेको छ ।
उहाँले कनकाइ खोला पुल निर्माणसँगै पूर्वको मेची पुलदेखि विराटनगरसम्म हुलाकी राजमार्ग सहज रूपमा सञ्चालनमा आउने बताउनुभयो । ठेकेदारको लापरवाहीले सो पुल निर्माणमासमेत ढिलाइ भइरहेको छ ।