माओवादीको दोहोरो चरित्र
सम्पादकीय
माओवादीले झापाबाट जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान थालनी गरेको छ । एमाले–कांग्रेसले गर्दै आएको अभियान जस्तै माओवादीले पनि सोमवारबाट अभियानको थालनी गरेको हो । जनताको बीचमा सबैभन्दा धेरै पटक र लामो यात्रा गर्ने एमाले हो । त्यसपछि बेला बेला नेपाली कांग्रेसले पनि जनताको बीचमा जाने अभियान सञ्चालन गर्दै आएको छ । अहिले दुई ठुला राजनीतिक दलहरुको सिको गर्दै अभियान थालेको माओवादीले सरकारबाट बाहिर हुनुको राजनीतिक फाइदा उठाएको छ । सधैं सरकारको जोडघटाउमा लाग्ने माओवादी जनतामा जाने कार्यक्रम अनौठो जस्तै भएको छ ।
सरकारमा जान कहिले एमाले त कहिले कांग्रेसको पछि लाग्ने माओवादी अहिले दुई ठुला दलहरुको सत्ता सहकार्यले कुनै जोडघटाउनको कसरत गर्न ठाउँ पाएको छैन । सकेसम्म विकल्पहरु खोजिरहेको माओवादीले सत्ताको लागि जस्तोसुकै गैर राजनीतिक चरित्र देखाउन सक्छ । कांग्रेस – एमालेबाट बेठिक निर्णय नभएसम्म माओवादीले कुनै पनि अवसर पाउने देखिदैन । तराई मधेशको यात्रामा रहेको माओवादीले जनतासँग अवश्य साक्षात्कार गर्ने छ । साक्षात्कारमा माओवादीले अब द्वैध चरित्र त्याग गर्ने प्रण गर्नुपर्छ । जनता सामु गर्ने प्रणमा दोहोरो चरित्र देखिनु हुदैन ।
माओवादीले कोशी प्रदेशको नाममा देखाएको दोहोरो चरित्रले राजनीतिक प्रतिवद्धतालाई उदांगो बनाएको छ । ‘कोशी’ को पक्षमा मतदान गरेको माओवादी अहिले प्रदेश नं. १ लेख्दै कार्यक्रमहरुलाई अघि बढाएको छ । कोशी प्रदेश लेख्नुपर्ने ठाउँमा कतै १ नं. प्रदेश थप गरिएको छ । कतै, प्रदेशको केहि पनि उच्चारण गरिएको छैन । पहिचानको आन्दोलनमा अस्पष्ट माओवादी कहिले कोशीमा मतदान गर्छ, कहिले कोशीको बदलामा प्रदेश नं. १ लेख्छ । माओवादी यस्तै दोहोरो चरित्रले समस्यामा छ । अनुकुलताका आधारमा उभिने माओवादीले जनताका सामुन्ने अब एकै अनुहार देखाउनुपर्छ । दोहोरो चरित्र देखाउन बन्द गर्नुपर्छ ।