ओलीमा देश र समाजको विकासप्रतिको तीब्र हुटहुटी छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेता मात्र नभएर राजनेता भएको बताउनुभएको छ ।
‘केपी शर्मा ओलीस् सपना, संघर्ष र सङ्कल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै भण्डारी ओली स्वप्नद्रष्टा नेता भएको बताउनुभयो । आफू राष्ट्रपति भएको बेला ओली प्रधानमन्त्री हुँदा निक्कै समन्वयात्मक भूमिका खेल्नु भएको भण्डारीले स्मरण गर्नुभयो ।
ओलीमा देश र समाजको विकास प्रतिको तीब्र हुटहुटी भएको भण्डारीले बताउनुभयो । ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको लगि खेल्नुभएको भूमिका, महाभूकम्पले भत्कारएका संरचना बनाउन देखाउनुभएको सक्रियता र त्यसमा प्राप्त भएको सफलता, कोरोना महामारी नियन्त्रण तथा प्रभावितहरुको उपचारमा देखिएको प्रभाकारिता एवं आर्थिक समृद्धि हाँसिल गर्न उहाँमा रहेको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु’, भण्डारीले भन्नुभयो ।
भण्डारीले ओली आर्थिक, सामाजिक अभियानको कुशल अभियन्ता भएको बताउनुभयो । ओलीमा तुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सृजनशील क्षमताका भएको भण्डारीको टिप्पणी छ । ओली एक कुशल योजनाकार, संगठक र रणनीतिकार भएको उहाँको भनाइ छ ।