केपी ओली कप : मछिन्द्रलाई एक गोलको अग्रता
काठमाडौँ । तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल साविक विजेता मछिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच भइरहेको छ ।
जारी खेलको पहिलो हाफ सकिँदा मछिन्द्र फुटबल क्लबले त्रिभुवन आर्मीलाई एक गोलले पछि पारेको छ । पहिलो हाफको खेल सकिँदा गोलको स्थिति १–० को छ । आर्मीको गोल पोस्टमा अन्तरघाती गोल भएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा जारी उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा सहभागी हुनुभएको छ ।
फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्छ । रङ्गशाला दर्शकले खचाखच भरिएको छ । खेल सुरु हुनुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुति समेत पस्किएका थिए ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।