एमालेले सुखानी स्मृति दिवस मनाउँदै
झापा । नेकपा (एमाले) झापाले आज सुखानी सदाहत स्थलमा स्मृति दिवस मनाउँदैछ । आज झापाको सुखानीमा नेकपा एमालेले श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै स्मृति दिवस मनाउन लागेको झापा जिल्ला अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिनुभयो ।
वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँचजना नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो । सोही दिनको सम्झनामा झापा विद्रोहबाट उदाएको एमालेले सुखानी स्मृति दिवस मनाउने गरेको छ ।
एमालेले केद्रीय उपाध्यक्ष गुरु बरालको प्रमुख आतिथ्यतामा विहान साढे ८ बजे सदाहत स्थलमा श्रद्धाञ्जलिसभा र दिउँसो २ बजे जिल्ला पार्टी कार्यालय बिर्तामोडमा जनवादी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको जिल्ला सचिव तुलसी कार्कीले जानकारी दिनुभयो ।
स्रष्टा आवाज कार्यक्रममा प्रगतिशिल साहित्यकार, अग्रज पत्रकार चन्द्र भण्डारीसँगै जनकलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।