विद्यालय आसपासमा अनुगमन गर
सम्पादकीय
झापाको बिर्तामोड नगरपालिका ३ मा रहेको महेन्द्ररत्न मावि नजिकै एक जना होटल सञ्चालकलाई प्रहरलिे नियन्त्रणमा लियो । यहि हप्ता बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको होटल व्यवसायी कुमार बस्नेतमाथि म्याद गरेरै अनुसनधान भइरहेको छ । नियन्त्रणमा लिनुको कारण थियो, विद्यार्थीहरुलाई मादक पदार्थ विक्री गर्नु । विद्यालय आउने विद्यार्थीहरुलाई मादक पदार्थ विक्री गर्ने बस्नेतलाई शिक्षकहरुको आग्रह बमोजिम प्रहरीले नियन्त्रणमा लिएको हो । विद्यार्थीहरु रक्सी गँहादै कक्षाकोठाभित्र पसेपछि शिक्षकहरुले सहन सकेनन् । वास्तवमा सहन सक्ने विषय पनि होइन ।
कति मान्छेहरुलाई पैसा नै सबै चिज हो भन्ने लाग्छ । आफ्नो व्यक्तिगत अनुशासन, सामाजिक मुल्य मान्यता समेत ख्याल नगर्ने र सामान्य चेतना नदेखाउनेहरुका कारण यस प्रकारका गतिविधि भइरहेको छ । विद्यार्थीहरुलाई रक्सी विक्री गर्नु सामान्य विषय होइन । वास्तवमा विद्यार्थीहरुलाई रक्सी विक्रि गर्नु भनेको अपराध सरह हो । विद्यालय आसपासमा रक्सी मात्र होइन, अन्य निषेधित वस्तुहरु पनि विक्री भइरहेको छ । सुर्तिजन्य वस्तु विक्री गर्न पनि पाइदैन । रक्सी त टाढाको विषय हो । विद्यार्थीहरुलाई रक्सी बेच्नेले २, ४ सय आम्दानी गर्न सक्ला । तर, विद्यार्थीको जीवनमा गलत थितिको विऊ रोप्न पाइदैन । उनीहरुलाई सचेत र सजग गराउनुपर्छ ।
यो समस्या धेरै जसो बाहिर आउन सकेको छैन । किनभने, बाहिर ल्याउँदा ल्याउने मान्छे समेत जोखिममा पर्ने डर हुन्छ । गलत कर्ममा लगाउन सजिलो नै छ । तर, सहि बाटोमा ल्याउन चुनौतिपूर्ण नै हुन्छ । सामुदायिक विद्यालय आसपासमा रहेका यस प्रकारका व्यवसायीहरुलाई बेलैमा सचेत गराउनुपर्छ । विद्यार्थीहरुलाई यस्तो क्रियाकलापबाट जोगाउनका लागि विद्यालय प्रशासनको एक्लो प्रयासबाट मात्र संभव छैन । त्यसका लागि स्थानीय सरकार, प्रहरी र नागरिक समाजले चासो दिनुपर्छ । विद्यालय आसपासको क्षेत्रलाई अति नै मर्यादित बनाउन जरुरी छ । यदि लापबारही गरियो भने त्यसले विद्यार्थीको भविष्यमाथि खेलवाड हुनेछ । तत्कालै यस मामिलामा सचेत बनौं र बनाऔं ।