जेष्ठ १, २०८१ मंगलबार

विकास निर्माण ठप्प पार्ने चेतावनी

भद्रपुर । नेपाल सरकारद्वारा जारी गरिएको निर्माण व्यवसायीहरूको सार्वजनिक खरिद (छैठौँ संशोधन) नियमावली २०७५ प्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
निर्माण व्यवसायीहरूको हित विपरित सरकारले ल्याएको नियमावली खारेजीको माग राख्दै देशभरका निर्माण व्यवसायीहरू आन्दोलित बन्दै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।


यसैक्रममा नेपाल निर्माण व्यवयासी संघको पूर्व घोषित कार्यक्रम अनुसार जिल्ला निर्माण व्यवसायी संघ झापाले प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । निर्माण व्यवसायी संघका अध्यक्ष मिलन बस्नेत, महासचिव ओम पौडेल र संघका सल्लाहाकार केदार गिरीले संयुक्त रुपमा विभिन्न मागसहितको सो ज्ञापनपत्र झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ दाहालले व्यवसायीको ज्ञापनपत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाइदिने आश्वासन दिए ।


सरकारद्वारा निर्माण व्यवसायीहरूको सार्वजनिक खरिद (छैठौँ संशोधन) नियमावली २०७५ राजपत्रमा प्रकाशित भएसँगै देशभरका निर्माण व्यवयासीहरुले सो नियमावली सच्याउन माग गर्दै आन्दोलित बनेको संघका अध्यक्ष बस्नेतले जानकारी दिए ।
उनका अनुसार नियम ४९ (क) मा भएको संशोधनले ऐन बमोजिम कालो सुचीमा परेको व्यक्ति, फर्म, संस्था वा कम्पनीको सञ्चालकले आफ्नो पुर्ण वा आंशिक स्वामित्वमा बोलपत्र पेश गरी कारोवार गर्न नपाइने प्रावधान व्यवसायीको हित बिपरित रहेकोले सो नियमावली सच्याउन व्यवसायीको माग हो ।

साथै सो व्यवस्था तत्काल खारेज गरि जुन फर्म र कम्पनी कालो सुचीमा परेको छ, त्यस्तालाई मात्र कारवाहीको व्यबस्था हुनुपर्ने उनको भनाई छ । संशोधन गरीएको नियमावली नियम ६५ मा निर्माण व्यवसायीहरूले साधन स्रोत बमोजिम बार्षिक टर्न बेस्ट अफ थ्रि ईयरको अनुभव समेतको २० गुणाको हुनुपर्ने मागमा उल्लेख गरिएको संघका सल्लाहाकार केदार गिरीले जानकारी दिए ।
संशोधित नियमावलीमा केहि बुदाँहरु सात दिन भित्र संशोधन वा खारेज नगरिए झापासहित देशभरका व्यवसायी आन्दोलित हुने उनले चेतावनी समेत दिए ।

व्यवसायीको माग सम्बोधन नभए संघको आन्दोलनका कार्यक्रम अनुसार निर्माण व्यवसायीहरूको इजाजत पत्र समेत सरकारलाई बुझाउने, सम्पूर्ण कार्यालयबाट प्रकाशित भएका बोलपत्रहरू बहिष्कार गर्ने, हाल सञ्चालनमा रहेका विकास निर्माण कार्य ठप्प पार्ने र हेबी यन्त्र उपकरण सडकमा राख्ने लगायतका विरोध कार्यक्रम रहेको संघका महासचिव पौडेलले बताए ।

प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार  ६ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]