लोडसेडिङको कुरा हल्ला मात्रै हो : शाक्य
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भनेर भएको हल्ला निराधार भएको दाबी गरेका छन् ।
शाक्यले पदभार ग्रहण गपछि सञ्चारकर्मीसँग बोल्दै अब घरायसी ग्राहकहरूमा लोडसेडिङ नहुने उनले बताए ।
‘केही मानिसहरूले लोडसेडिङ हुन्छ भन्ने हल्ला चलाएका छन् । त्यो निराधार हो । अब घरायसी ग्राहक कहाँ लोडसेडिङ हुँदैन,’ उनले भने, ‘उद्योगमा लोडसेडिङ छ, त्यो पनि हटाउँछु ।’
आफू ०७७ सालमा केही समय कार्यकारी निर्देशक हुँदा अहिलेभन्दा पनि विश्वासिलो बिजुली दिइएको उनले बताए । उद्योगमा त्यसबेला लोडसेडिङ नगरिएको उनको भनाइ थियो ।
‘अबको चुनौती विश्वासिलो बिजुली हो, लोडसेडिङ होइन । अब विद्युतको गुणस्तर वृद्धि हुन्छ । दिनमा एकपटकभन्दा बढी ट्रिपिङ नहुने वातावरण बनाउँछ,’ उनले भने ।
डेडिकटेड र ट्रंकलाइन विवादको समाधान प्राविधिक रुपमा यसको निकाल्नुर्ने उनले बताए । ‘त्यो निस्कन्छ पनि । यो मेरो लागि अवसर हो,’ उनले भने । विद्युत् प्राधिकरणमा कोही व्यक्ति नहुँदैमा भारतले विद्युत् दिन छोड्ने भन्ने बेकारको हाल्ला भएको उनले बताए ।
‘प्राधिकरण ०४१ सालदेखिको संस्था हो । जो व्यक्ति आए पनि फरक पर्दैन,’ उनले भने । उनले अबको एक दुई हप्ताभित्रै नतिजा देखिनेगरी काम गर्ने पनि बताए । ‘लोडसेडिङ हुँदैन । करिब एक दुई हप्ताभित्र मैले त्यो नतिजा देखाउँछु,’ उनले भने ।