बैशाख १३, २०८१ बिहीबार

अर्जुनधारा सेरोफेरो : कृषि क्षेत्रमा व्यापक उत्साह

जननिर्वाचित प्रतिनिधि आएपछि झापाको उत्तरी भेगको अर्जुनधाारा नगरपालिका कृषि पकेट क्षेत्र बन्दै गएको छ । स्थानीय तह पुनःसंरचना पछि जनप्रतिनिधिहरुले कृषिलाई विशेष जोड दिएका कारण नगरपालिका कृषि पकेट क्षेत्र बन्दै गएको हो ।

नरपालिकाले नगरक्षेत्रमा बिभिन्न कार्यक्रम गरिरहेको र किसानलाई परम्परागत खेतीबाट आधुनिकतामा लैजान बिभिन्न आधुनिक कृषि समग्री समेत बितरण गरे पछि पछिल्लो समय यहाँ उत्पादनमा समेत बृद्धि भएको किसानहरु बताउँछन् ।

नगरपालिकाले नगर क्षेत्रमा रहेका कृषि समूह कृषि फार्महरुलाई भौतिक तथा प्राविधिक सहयोग गरे पछि कतिपय कृषि फार्मका संचालकहरु खुसी समेत भएका छन् । नगरपालिकाले नगर भित्र आयत भन्दा निर्यात बढाउने उदेश्यका साथ काम गरिरहेको र हरेक वडामा जनप्रतिनिधिहरुले नै कृषिमा जोड दिएका कारण पछिल्लो समय नगरपालिकाले कृषिमा फड्को मार्ने संकेत देखिएको छ ।

बजेटभन्दा ५ गुणा बढी माग

अर्जुनधारा नगरपालिकामा विनियोजित रकमभन्दा ५ गुणा बढी रकमको सिँचाइ र उपकरण माग भएको छ । नगरपालिकाले आह्वान गरेको समयमा विभिन्न समूह, ब्यक्ति र सहकारीका ५५ वटा निवेदन परेको कृषि शाखा प्रमुख दिपक गिरीले बताए ।

नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेर सार्वजनिक गरेको सूचनाका आधारमा ७२ लाख ५४ हजार ८ सय २५ रुपैयाँ बराबरको आवेदन परेका थिए । आवेदन गर्नेमा अधिकांश कृषक समूह रहेको उनको भनाई छ । केही ब्यवसायिक कृषि फर्मले पैनी मर्मत र मोटर खरिदका लागि माग गरेको भए पनि कृषि सहकारीको उपस्थिति नगन्य मात्रामा रहेको पाइएको छ । गिरीले लाभान्वित हुने जनसंख्या, उत्पादन र प्रभावकारिताका आधारमा परियोजना छनौट गरिने बताए । ब्यवसायिक तरकारी खेती र फलफूल उत्पादनलाई प्राथमिकता दिएर सिँचाइको सुविधा उपलब्ध गराउने उनको भनाइ छ ।

अनुदान लिने र सदुपयोग नगर्ने परिपाटी विकास भएपछि नगरपालिकाले अनुगमन गरेर मात्र अनुदान उपलव्ध गराउन थालिएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानामगरले बताए । किसानको कार्यक्षेत्रमै पुगी आवश्यकताको अध्ययन गरेर सिँचाइको आवश्यकता अध्ययन गरेपछि अन्य श्रोतबाट बजेट जुटाउन पहल गर्ने र किसानलाई अनुदान दिने उनको भनाइ छ । नगरपालिकाको मुख्य ध्यान कृषि विकास गर्नका लागि भएकोले वास्तविक किसानसम्म राज्यको पहुँच पु¥याउन आफैँ अनुगमनमा पुगी काम थालनी गरेको रानामगरले बताए ।

कृषिमा पनि खासगरी मासु, दूध, धान, मकै, तरकारी र फलफूलको लागि पकेट क्षेत्र घोषणा गरेर तीव्र गतिमा कार्यान्वयन गरिरहेको नगरपालिकामा कार्यरत कृषि प्राविधिक मिना अधिकारीले बताईन् । प्राथमिकताको आधारमा क्षेत्रअनुसार किसानलाई अनुदान उपलब्ध गराएको उनको भनाई छ ।

प्रविधि मैत्री बन्दै किसान

पछिल्लो समय किसानहरु प्रविधिमैत्री बन्न थालेका छन् । किसानहरु प्रविधि मैत्री बनेपछि कृषिमा पनि आधुनिकताको प्रयोग बढेको छ । नगरपालिकाले गरेको बिभिन्न खाले सहयोगका बिभिन्न गैर सरकारी संघसंस्थाको आर्थिक तथा प्राविधिक र भौतिक सहयोग हुन थाले पछि किसानहरु प्रविधि मैत्रि बन्न थालेका हुन् ।

किसानहरु परम्परागत खेती छाडेर आधुनिक व्यवसायिक खेती गर्न थालेका छन् । स्थानिय सरकारले कृषिलाई आधुनिकतामा लैजान बिभिन्न आधुनिक कृषि समाग्री समेत वितरण गरी रहेको छ । सरकारी तथा गैरसरकारी सहयोग पाएपछि उत्पादनमा समेत बृद्धि भएको किसानहरु बताउँछन् । नगरपालिकाले नगर क्षेत्रमा रहेका कृषि समुह कृषि फार्महरुलाई भौतिक तथा प्रविधि सहयोग गरे पछि कतिपय कृषि फार्मका संचालकहरु खुसी समेत भएका छन् ।

पकेट विकास कार्यक्रम

अर्जुनधारा नगरपालिकाको वडा नं. १, २ र ३ लाई पशुपकेट क्षेत्र घोषणा गरेको छ भने वडा नं. ७, ८ र ९ लाई मकै पकेट घोषणा गरेर काम गरिरहेको छ । नगरपालिकाले वडा नं. १ र २ लाई पशु पकेटको दुध जन्य पशु पकेट घोषणा गरेको छ भने वडा नं. ३ लाई मासु तथा बाख्रा पकेटको घोषणा गरेको छ ।

विपन्न समुदायको बसोबास रहेको वडा नं. ३ को भित्री गाउँमा बाख्रा पकेट क्षेत्रको रुपमा प्याकेज कार्यक्रम सञ्चालनको तयारी गरेको छ । चालु आर्थिक वर्ष ०७६÷०७७ बाट बाख्रा पकेट प्याकेज कार्यक्रम सञ्चालन सुरु गरिएको कृषि प्राविधिक मिना अधिकारीले बताईन् । नगरपालिकाको दुर्गम ठाउँमा रहेको विपन्नहरुको बसोबास रहेको वडा नं. ३ को भित्री गाउँका बासिन्दाको आर्थिक स्तर उकास्ने उद्देश्यले बाख्रा पकेट क्षेत्र घोषणा गरी कार्यक्रम ल्याइएको नगरप्रमुख हरीकुमार रानागरले बताएका छन् ।

व्यवसायिक बाख्रापालनको माध्यमबाट उनीहरुको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखा मार्फत कार्यक्रम सञ्चालन हुने शाखा प्रमुख पदमलाल राईको भनाई छ ।

नगरपालिकाको यो कार्यक्रमअन्र्तगत वडा नं. ३ मा अनुपा मंग्रातीको अध्यक्षतामा नौ सदस्यीय भित्री गाँउ नयाँ बाख्रा पालक कृषक समूह समेत गठन गरेकोे छ । २० घरधुरीलाई लक्षित गर्दै सुरु गरिएको भए पनि २८ घरधुरीका बाख्रापालक कृषक प्रत्यक्ष लाभान्वित हुने बताईएको छ ।

कार्यक्रम सञ्चालन गर्न नगरपालिकाबाट ११ लाख ७५ हजार बजेट विनियोजन भएको छ । कार्यक्रम अन्र्तगत शाखाले समूहलाई बाख्रापालन सम्बन्धी तालिम, खोर निर्माण र घाँसको बीऊ वितरण, न्यूनतम ३ देखि ४ वटा बाख्रा वितरण, जुका नाम्लेको औषधि तथा पीपीआर रोगविरुद्धको खोप वितरण, पोषण तत्व वितरण, अन्तरक्रियासँगै अनुगमन तथा मूल्याङ्कनलगायत सञ्चालन गरिने बताइएको छ ।

कार्यक्रमको पहिलो चरणमा तालिम समापन भएको छ । व्यावसासियक कृषि र पशुपालनको माध्यमबाट गरीवीको रेखामुनी रहेका आँफू जस्ता निमुखाहरुको आर्थिक समृद्धि सम्भव हुने हुँदा नगरको उद्देश्य अनुरुप आँफूहरुले पनि परम्परागतरुपमा गरिँदै आएको बाख्रापालन भन्दा फरक तरिकाले लागि पर्नुपर्ने समूहकी अध्यक्ष मंग्रातीले बताइन् ।

त्यस्तै गरी वडा नं. ७ ले पनि कृषिमा ध्यान राखेर काम गरेको देखिन्छ । वडाले आफ्नै कार्यक्रम बनाएर कृषिजन्य विउविजन वितरण गरेको छ । युवा लक्षित कार्यक्रम गरी युवाहरुलाई स्वरोजगार उन्मुख बनाएको छ ।

अर्जुनधारा–७ मा विशेष गरी किसानहरुकोे बसोवास रहेका कारण कृषिलाई प्राथमिकतामा राखि कृषिजन्य कार्यक्रमहरु संचालन गरिएको वडा अध्यक्ष नवराम ढुंगानाले बताए । वडाका युवाहरुलाई स्वरोजगार वनाउन ४० भन्दा बढी युवाहरुलाई बाख्रा वितरण गरिएको र जनप्रतिनिधि स्वंयमले पनि व्यवसाय गर्नुपर्र्छ भन्ने सन्देश प्रवाह गर्न सोही कार्यक्रम अन्तरगत बाख्रापालन गरिरहेको उनको भनाई छ । आफ्नो वडामा नगरपालिकाले मकैको पकेट घोषणा गरेको भए पनि पशुपालनले पनि जनताको आर्थिक समृद्धि हुनेकुरामा आफु विश्वस्त भएर यो कार्यक्रम संचालन गरेकोे ढुंगानाले बताए ।

कृषि फारमको उत्पादन बजारले धान्दैन

शहर र विदेश पलायन हुने क्रम बढी रहँदा युवाहरुलाई कृषिमा लाग्न प्रेरणा जगाउने बिशेष नीति बनाउने लक्ष्य रहेको नगर प्रमुख रानामगरले बताए । पछिल्लो समय नगरपालिकाबाट युवाहरु रोजगारीका लागि शहर र विदेश पलायन हुने क्रम बढी रहेको अवस्थामा कृषिमा बिशेष योजना ल्याई काम गर्न लागिएको भए पनि नगरपालिकाको यो कार्यक्रम खासै प्रभावकारी भएको भने देखिन्न । नगरपलिकाले युवालाई विदेश पलायन हुनका लागि रोक्ने यी विविध कार्यक्रम बनाई रहेको भए पनि दैनिक अर्जुनधाराका मात्रै युवाहरु वैदेशिक रोजगारका लागि राहदानी बनाई रहेको देखिन्छ ।

नगरपालिकाले बैदेशिक रोजगारीमा जानेलाई गरे आफ्नै माटोमा सुन फल्छ भन्ने योजनाका साथ काम गर्न लागेको नगर प्रमुख मगरले बताए । बिषादि रहित तरकारीलाई प्राथमिता दिई उत्पादनमा बृद्धि गर्ने लक्ष्य लिएर कृषि विकास शाखा प्रमुख दिपक गिरीले बताए । शुद्ध अर्गानिक खेती र उत्पादनमा बृद्धि गरी अर्जुनधाराका तरकारी अन्य स्थानमा निर्यात बढाउने उनको भनाई छ ।

हरेक योजनाहरु कागज मै बनेर कागज मै सकिने प्रावधानले हरेक स्थानीय तहको बद्नामी भई रहेको बेला जनताको अभिमत पाएका जनप्रतिनिधिहरु लागि परे अर्जुनधारा नगरपालिका एक नं. प्रदेशकै नमुना बनाउन सकिने वडा नं. ७ का वडाअध्यक्ष नवराम ढुंगानाको भनाई छ । नगरपालिकाले सामुहिक खेती, उत्पादनमा अनुदान, सहितका लक्ष्य लिएर काम गर्न सके यहाँ सबैको जीवन शैली नै परिवर्तन हुने देखिन्छ ।

संघीय सरकारले प्रधानमन्त्री आधुनिकीकरण परियोजना चलाई रहेको बेला नगरपालिकाले आफ्नै पहलमा वडा नं. ८ लाई धान तथा मकैको पकेट क्षेत्र घोषणा गरेको छ । नगरपालिकामा उत्पादन बढाउन यो योजना चलाईएको नगरपालिकाको कृषिविकास शाखाले बताएको छ ।

गत आर्थिक वर्षमा नगरपालिकाले ६० लाख बजेट विनियोजन गरेर पकेट क्षेत्र घोषणा गरेको थियोे । वडा नं. ८ मा बनाईएको धान तथा मकै पकेटमा पछिल्लो समय उत्पादन समेत बढेको किसानहरु बताउँछन् । पकेट क्षेत्र घोषणा गरे पछि नगरपालिकाले माटो परीक्षण देखी प्रविधि हस्तान्तरण गरेका कारण पनि उत्पादन बढी हुने गरेको किसानहरुको भनाई छ ।

नगरपालिकाले टिपिएस बियाँबाट आलु उत्पादन प्रदर्शन, उन्नत वाली उत्पादन प्रदर्शन, माटो सुधार प्रदर्शन, कृषि चुन अनुदान, महिला सहभागिता बढाउन व्यवसायिक च्याउ खेती प्रवर्धन कार्यक्रम तालिम संचालन गरी किसानलाई सक्षम बनाई रहेको छ । बिरुवा उत्पादन नर्सरी व्यवस्थापन तालिम, बिद्यालयहरुमा कृषि शिक्षा प्रशिक्षण लगाएतका काम गरी रहेको छ ।

नगरले गत वर्ष बर्षे फलफूलका ४ हजार बढी विरुवा खरिद गरी किसानलाई वितरण गरेको थियो । कागती, आँप र लिचिका बिरुवा यो वर्ष पनि वितरण गरीने कृषिविकास शाखाले जनाएको छ । एक घर एक करेसा वारी कार्यक्रम संचालन रहेका बेला एक घर एक बिरुवा एक कुडार एक अनार जस्ता कार्यक्रम ल्याई समृद्ध नगर बनाउन लागी परेको जनप्रतिनिधिहरुको भनाई छ । तरकारीको उन्नत वीउ अनुदान तथा किट वितरण समेत गर्दा निशुल्क बिउ पाउँदा किसान हर्षित देखिन्छन् ।

नगरपालिकाको कृषि तथ्यांक संकलन प्रकाशन गरी कृषि सहकारी, एग्रोभेट, सरोकारवाला संस्थाको सुचिकृत समेत गरेको छ । यसरी सुचिकृत भएका समुह तथा उत्कृष्ट तिन कृषकलाई पुरस्कार समेत गरीने लक्ष्य राखेको छ । नगरपालिकाले मिनिटिलर धानझार्ने थे्रसर, मल्चिङ प्रविधि तथा थोपा सिंचाई कार्यक्रम, जैविक विषादि उत्पादन तालिम तथा ड्रम अनुदान प्राङ्गारिक मल (गड्यौला अनुदान) उत्पादन केन्द्र स्थापना, प्राङ्गारिक मल उत्पादन तथा अनुदान, प्लाष्टिक टनेल अनुदान गरी किसानहरुको समास्यालाई सामधान गरी रहेको छ । बिशेष गरी महिलाहरुको बिशेष पर्व तिजका बेलामा प्राङारिक कृषिमा आधारित तिज गित प्रतियोगिता गरेर सचेतना जगाउने उदेश्यले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी प्राङारिक खेतीमा लाग्न आग्रह समेत गरेको छ ।

तरकारीबाटै समृद्धि

अर्जुनधारा नगरपालिकाले नगरलाई तरकारीबाट नैै समृद्ध बनाउन खोजे पनि तरकारी आयात भन्दा निर्यात कमी भएको पाईन्छ । नगरपालिकाले कृषिलाई प्रथमिकतामा राखेको भए पनि नगरपालिकाको योजना र नारालाई सर्वसाधरणले साथ नदिदा भनेजस्तो उपलव्धि भएको देखिदैन ।

पछिल्लो समय युवाहरु पुख्यौली खेती छाडेर व्यवसाहिक तरकारी खेती गर्न थालेको देखिएको नगरपालिकाले बजार क्षेत्रमा घरका छतमा तरकारी खेती गर्नलाई किसानहरुलाई विभिन्न समयमा विउ विजन बाँडिएको भएपनि सर्वसाधरणले चासो नदेखाएका कारण कार्यक्रम सफल हुुन नसकेको कृषि प्रविधिक अधिकारीले बताईन् ।

नगरपानलिकाले कृषि सम्वन्धि विभिन्न कार्यक्रम लिई रहेको अवस्थामा साथ नदिएका कारण कार्यक्रम नभए पनि भए पनि नगरपालिकामा रहेका उर्वरभुमी बाँझै रहेको देखिन्छ ।

बजार अभाव

कृषि फर्म खोलेर तरकारी उत्पादन गरे पनि बजार नपाउँदा कुनै बेला आफुले उत्पादन गरेका तरकारीहरु सढेर जाने गरेका कारण समस्यामा परेको कृषिफर्म संचालकहरु बताउँछन् । हिजोका दिनमा सिंचाई सुबिधा नहुँदा आफुहरुलाई समस्या रहेको तर अहिले सिंचाईका लगि नगरपालिकाले अनुदान दिए पनि उत्पादन भएको तरकारीले बजार नपाउँदा कुनै बेला त पेशाबाट नै पलायन हुन पर्छ की जस्तो लाग्ने मामा भान्जा कृषि फर्मका संचालक मध्य एक निर्मल अधिकारीले बताए ।

भारतबाट आयात गरिएका तरकारी सस्तो हुने भएका कारण अर्गानिक उत्पादनमा कसैको ध्यान नजाने गरेका कारण पनि कृषिफर्मबाट उत्पादन भएका तरकारी सड्ने गरेको संचालकहरुको भनाई छ ।

अर्जुनधारामा शनिबार शनिश्चरे, आईतबार खुदुनाबारी, मंगलबार सिस्ने बिहीबार अर्जुनधारा–९ मा लाग्ने बिहिबारे हटियामा मात्रै बिक्रि नभएर बुद्धशान्तिको जयपुरमा लाग्ने सोमबारे, बुधबारेमा लाग्ने बुधबारे र ईलामको गरुवामा लाग्ने शुक्रबारे हटिया र बिर्तामोड तरकारी बजारमा समेत अर्जुनधारामा उत्पादित तरकारी खपत नहुने हुँदा अन्यत्र लानु पर्ने बाध्यता रहेको मामाभान्जा कृषि फर्मका संचालक भक्त भुजेललको भनाई छ ।

स्थानीय तहबाट किसानलाई लक्षित गरि आउने कार्यक्रमहरु कार्यकर्ता पालनपोषण नगरी सबै किसानको हित हुनेगरी गर्दा र प्याकेजमा सहयोग गरे किसानहरुका समस्या समाधान हुने यहाँका किसानहरु बताउँछन् । हिजोका दिनमा सिंचाई सुबिधा नहँुदा र सिप भए पनि प्रविधि आफुसँग नहँदा समस्या हुने गरेको तर अहिले नगरपालिकाले सिंचाईका लागि प्रविधि हस्तान्तरण गरे पछि उत्पादनमा दोब्वर भएको किसानहरुको भनाई छ । तरकारी खेती गर्नाले जीवनस्तर माथि उकास्न पनि सहज हुने उनीहरुको बताउँछन् ।

बजार अभाव हुन नदिने

नगरपालिकामा उत्पादन भएका कृषि उत्पादनहरु बजार नहुँदा कतिपय खेह्र गई रहेका छन् । बजार अभाव हुन नदिनका लागि पछिल्लो समय नगरपालिका पनि जुटेको छ । नगरपालिकाले जिल्लाकै एकसय पच्चीस वर्ष पुरानो इतिहास बोकेको शनिश्चरे बजारलाई व्यवस्थित गर्न स्थानीय सरकार जुटिरहेको छ । शनिश्चरे बजारलाई विस्तार गरी बजार व्यवस्थित र पर्यटकमैत्री बनाउने कार्यमा नगरपालिका लागिपरेको छ । नगरपालिकाले कृषि आधारित नगरपालिका भएकै कारण नगरपालिकामा कृषि उपजकोे उत्पादन बढाउन विभिन्न शिविर संचालन गरी माटो परीक्षण तथा पशु स्वस्थ्य परीक्षण समेत गरेको छ ।

नगरपालिकाको कुल क्षेत्रफलमध्य ३ सय ३० हेक्टरमा हिउँदे तरकारी तथा ४ सय २५ हेक्टरमा वर्षे तरकारी लगाउने गरिएको छ । जसमा हिउँदे ६ हजार ५ सय ३४ मेट र ७ हजार ८ सय ६३ मेट्रीक टन उत्पादन हुने तथ्याङ्क कृषि विकास शाखाको तथ्याङ्कमा रहेको छ ।

प्रत्येक हप्ताको शनिबार लाग्ने साप्ताहिक हाट अर्जुनधारा–८ सातपत्रेमा व्यवस्थित बनाउन कृषिथोक र पशु बधशाला निर्माण कार्य धमाधम भई रहेको छ । नगरपालिकालाई काफल इन्भेष्टमेन्टका सञ्चालक दव्य रवि पोद्धार र विनोद पोखरेलबाट १० कट्ठा ४ धुर उपलब्ध जमिनमा निर्माण व्यवस्थित बनाउन निर्माण थालिएको हो ।

ढेड वर्षमा सम्पन्न गनुृपर्ने उक्त भवनमा प्रदेश सरकारको १ करोड ३० लाख रुपैयाँ र नगरको १ करोड १० लाख रुपैयाँ गरी २ कसोड ४० लाखको लागतमा सुबिधा सम्पन्न तरकारी बजार बनाईने नगरपालिकाले जनाएको छ । व्यापारिक भवनका ब्लकहरुमा कृषिजन्य उत्पादनलाई भिन्दै र मासुका लागि भिन्दै भवन निर्माण हुने नगरपालिकाको योजना शाखाले जनाएको छ । शनिश्चरेको सब्जी बजारलाई विर्तामोडको कृषिथोक जस्तै व्यवस्थित गरिने र भवन निर्माण पछि इलामका कृषिजन्य वस्तुलाई आयात गर्न सहज हुनुका साथै स्थानीय कृषिजन्य वस्तुको पनि थप बजारीकरण हुने विश्वास गरिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा अर्जुनधारा नगरपालिकाले किसानका पक्षमा धेरै राम्र काम गरेको देखिन्छ । माटो शिविर सञ्चालन माटो सुधार प्रदर्शन तथा एकघर एक करेसावरी जस्ता नगरपालिकाका कार्यक्रम उदाहरणीय रहेका छन् । नगरपालिकाले यो वर्र्ष पनि बृहत नगर महोत्सव तयारी कार्यक्रममा हरेक वडामा कृषि शिविर संचालन गरेको थियो । यो आर्थिक वर्षमा पनि माटो परीक्षण, विउविजन बितरण, कृषि प्राविधिक परामर्श लगायतको कार्यक्रम संचालन गरेको थियो । नगरपालिकाले आफ्नै पहलमा दुईवटा वडालाई पकेट क्षेत्र बनाई किसानलाई प्रोत्साहन गरेको छ । नगरपालिकाले वडा नं. ८ लाई मकै तथा धान र वडा नं. २ र्लाइ पशु पकेट क्षेत्र बनाए पछि किसानहरु हर्षित समेत भएका छन् । नगरपालिकाले किसानहरुलाई प्रत्यक्ष सेवा प्रदान गरेको छ ।

बिभिन्न कृषि फार्म र किसानहरुलाई सिंचाइका लागि बिभिन्न कार्यक्रम गरी रहेको छ । सिंचाईका लागि नगरपलिका भित्र १५ लाख रुपैँया बजेटमा २६ वटा कृषि समुहहरु छनौट भएको शाखा प्रमुख गिरीको भनाई छ । नगरपलिकामा मेसीनरी अनुदानका लागि १० लाख रुपैँया बजेट रहे पनि यसका लागि ४७ वटा निवेदन परेका उनले बताए । पछिल्लो समय नगरभित्र भकारो सुधार कार्यक्रम अन्तर्गत नगरभित्रका कृषि समुहबाट ९६ जना किसानलाई सहयोग गरिएको छ । नगरपालिकामा उत्पादित तरकारी बजारीकरणका लागि भण्डारण केन्द्र स्थापनाका लागि नगरपालिकामा २२ लाख बजेट रहेको र यो कार्य छिट्टै गरिने नगरपालिकाले जनाएको छ ।

प्रस्तुति : सुष्मा तिखत्री

प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]