शिवसताक्षीमा मेयर कप-२०८१ को सुरु, वडा नं. ४ विजयी
शिवसताक्षी । झापाको शिवसताक्षीमा मेयर कप २०८१ आजबाट सुरु भएको छ । उद्घाटन खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ४ विजयी भएको छ । वडा नं. ४ ले वडा नं. ५ लाई २–१ गोलअन्तरले हराउँदै विजयी भएको हो ।
खेलको म्यान अफदी म्याच वडा नं. ४ का ख्याम जर्सी नं. ७ ख्याम खत्री घोषित भए । उनले नगद २१ सय प्राप्त गरेका छन् । म्यान अफदी म्याचको नगद पुरस्कार प्राइम बैंक झिलझिलेले प्रदान गरेको थियो । खत्रीले वडा नं. ५ लाई लगातार २ गोल लगाएका थिए ।
खेलको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पानसमा बत्ती बालेर गरेका थिए । उद्घाटन क्रममा बोल्दै नगरप्रमुख थोप्राले राष्ट्रका लागि र खेलकुद स्वास्थ्यका लागि खेलकुद खेलाडीलाई मात्र होइन जो कोहीलाई आवश्यक रहेको बताए । शिवसताक्षी नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको छ र नगरकै खेल मैदानबाट छनौट भएका खेलाडीहरु प्रदेश तथा राष्ट्रिय खेलाडीका रुपमा पनि छनौटमा परेको जानकारी दिए ।
उद्घाटनमा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाङफे, लेखा शाखा प्रमुख प्रकाश योङहाङ्ग, नेकपा एमाले नगर अध्यक्ष मेदनी दंगाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उद्घाटनका कार्यक्रमको अवसरमा झिलझिले माविका एनसीसीका विद्यार्थीहरुले मार्च पास गरेका थिए भने, किराँत राई यायोख्या शिवसताक्षी नगरसामितिले साकेला नाच प्रस्तुत गरेका थियो । स्थानीय कलाकार आविस्न मगरले गीत प्रस्तुत गरेकी थिइन ।
प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्टन, कराँते र एथलेटिक्स खेल हुने शिक्षा तथा खेलकुद शाखा प्रमुख छवि ढकालले जानकारी दिए ।
प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै भलिबल र क्रिकेट खेल तर्फ विधागत रुपमा प्रथमले ३५ हजार र, द्वितीयले २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
भोलि दिउँसो १ बजे वडा नं. ८ र ९ बीच खेल हुने छ भने, दिउँसो ३ः३० जबे वडा नं. ६ र ११ बीच हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्रतियोगिता शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भएको छ । उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख छवि ढकालले गरेका थिए ।