जरा अभियान प्रभावकारी भएको एमाले उदयपुरको निष्कर्ष
तुलसी कोईराला
गाईघाट । नेकपा एमाले उदयपुर जिल्ला कमिटी सचिवालयको बैठकले पार्टीको ३ महिने “जरा केन्द्रित अभियान“ को समीक्षा गर्दै महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ ।
शनिबार पार्टी कार्यालयमा सम्पन्न सचिवालय बैठकले अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।
बैठकले झापाको दमकमा चैत ३० गते आयोजना हुने जागरण सभामा सहभागी हुन पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थक र सर्वसाधारणलाई आह्वान गरेको छ ।
साथै, चैत १५ गते राजावादीको आन्दोलनमा उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का वडा सदस्य तथा नगर कमिटी सचिवालय सदस्य कमरेड तुलसी खनाल खत्रीका भतिज र छोरी गोली लागेर घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घाइतेको उपचारका लागि सरकारसँग जोडदार माग पनि गरिएको छ ।
यसैगरी, बैठकले पार्टीका केशव घिमिरे, टंक तामाङ र योगेन्द्र दाहाललाई जिल्ला कमिटी सदस्यमा मनोनयन गरेको प्रचार विभाग प्रमुख गंगा राईले यी निर्णयहरूबारे जानकारी दिएकी छिन् ।
पार्टी जिल्ला अध्यक्ष भागवत राउतको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम उदयपुर इन्चार्ज मन्जुकुमारी चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, कोशी प्रदेश सचिवालय सदस्य इश्वरमणी राउत र अम्बर बहादुर रायमाझी, जिल्ला उपाध्यक्ष कालुमान लामा, सचिव टेक बहादुर राउत, उपसचिव गंगा राई र हेम खड्का लगाएतको उपस्थिती रहेको थियो ।