बैशाख २२, २०८२ सोमबार

अनन्तादर्श संस्कृत वेद विद्यालयमा १२ वर्षीय बालकको रहस्यमय मृत्यु, छानविन गर्न माग

टिकाराम बास्तोला

झापा । झापाको कनकाई नगरपालिका–७ निवासी १२ वर्षीय उत्सव गौतम गत चैत २७ गते शिवसताक्षीस्थित एक गुरुकुलको स्टोरमा मृत अवस्थामा फेला परेका थिए । शिवसताक्षी १० अनन्तादर्श संस्कृत वेद विद्यालय . माईधारमा कक्षा ५ मा अध्ययनरत गौतमले ‘आत्महत्या’ गरेको भनिएपनि हालसम्म परिवारले घटना रहस्यमय भनिरहेको छ । मृतक विधार्थीको परिवारले उक्त घटना शंकास्पद भएको दावी गर्दै आएको छ ।

गुरुकुल परिसर मै रहेको स्टोर कक्षमा झुन्डिएको अवस्थामा फेला परेका गौतमको मृत्युलाई प्रारम्भमा ‘आत्महत्या’ भनिए पनि परिवारले हत्या भएको आशंका गर्दै आएको छ । बाबुमाथि केरकार गर्दा यो दुर्घटना भएको हुन सक्छ, उनका बुबा बोधराज गौतम भन्छन् – घटना गम्भीर भएकाले सत्यतथ्य छानबिन होस् ।

“छोराले आत्महत्या गर्नुपर्ने कुनै कारण थिएन । गुरुकुल प्रशासन र घटनापछि प्रहरीको व्यवहारले हामी झनै शंका गर्न बाध्य भएका छौं,” उनले भने । १ वर्षअघि खुदुनावारीस्थित साधुटारबाट अनन्तादर्श संस्कृत वेद विद्यालय ल्याइएका छोरालाई फागु पूर्णिमाको एक दिनअघि बुबाले भेटेका थिए । गुरुहरुसँग समेत घण्टौंसम्म कुराकानी गरेर फर्किएका गौतम परिवारलाई छोराको मृत्युको घटना विश्वास गर्न सकेका छैनन् ।

फागु पूर्णिमामा भेट्न जाँदा ओखर, चकलेट र विष्कुट लिएर भेट्न पुगेका बुबाले छोराको मृत्युको घटनाबारे छानविन गर्न उजुरी दिन सकेका छैनन् । बोर्डिङ हाल्ने सोचले घर ल्याइए पनि छोराले नै संस्कृत पढ्न भनेपछि भर्ना गरिदिएको बुबा बोधराजको भनाई छ ।

प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेपछि न्याय नपाउने चिन्ता परिवारमा बढेको छ । बैशाख १६ गते पुनः जाहेरी दिन गएको भए पनि प्रहरी प्रशासनले उजुरी नलिएको र पोस्टमार्टम रिपोर्टको प्रतिलिपिसमेत नदिएको गौतम परिवारको गुनासो छ । उल्टै अनुसन्धान खोज्दा धम्क्याउने प्रवृत्ति देखिएको पीडित परिवारको गुनासो छ । “छोराको लाश त देखियो, तर सत्य के हो ? हामी न्याय नपाएसम्म चुप लाग्दैनौं,” गौतमका बुबाले भने ।

गुरुकुलका शिक्षक देवेन्द्र भण्डारीले अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । संस्थाको तर्फबाट कुनै अवरोध हुने छैन, यदि कसैले कर्तव्य गर्न चुक्यो भने कानुनी कारबाहीका लागि पूर्ण रूपमा सहयोग हुने उनको भनाई छ । भण्डारीले भने, ‘हामी न त डाक्टर हौं, न प्रहरी । तर सत्यको पक्षमा उभिन हामी जो कसै प्रहरी अधिकारीलाई समेत सहयोग गर्न तयार छौं ।”

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनास्थल नजिक रहेको झिलझिले प्रहरी चौकीले प्रारम्भिक जानकारी संकलन गरिरहेको छ । घटनालाई सूक्ष्म रूपमा बुझ्न इलाका प्रहरी इकाइसँग समन्वय गरी थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २२, २०८२ सोमबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]