बैशाख २३, २०८२ मंगलबार

झिलझिलेमा बृहत उभौली साकेला पर्व मनाइने

शिवसताक्षी । झापा शिवसताक्षीको झिलझिलेमा बृहत उभौली साकेला पर्व मनाइने भएको छ । किराँत राई यायोख्या शिवसताक्षी नगर कार्यसमितिको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमसहित यही जेष्ठ १० गते उभौली साकेला पर्व मनाइने भएको हो ।

आज शिवसताक्षीको झिलझिलेमा पत्रकार सम्मेलन गर्दै किराँत राई यायोख्या शिवसताक्षी नगर कार्यसमितिले शिवसताक्षीको झिलझिलेमा उभौली पर्व मनाउने जानकारी गराएको हो ।

उभौली पर्व विगत वर्षहरु भन्दा फरक ढंगबाट मनाइने किराँत राई यायोख्या शिवसताक्षीका सचिव मिलन राईले जानकारी दिए । उभौली पर्व नगर स्तरीय कार्यक्रम भएपनि झापामा रहेका किराँत राई समुदाय र अन्य समुदायहरुलाई कार्यक्रममा उपस्थित गराइने भएको छ । कार्यक्रममा राष्ट्रिय कलाकार मेलिना राई र गायिका इन्द्रकला राईले बेजोड प्रस्तुती दिइने आयोजकले जनाएको छ । त्यस्तै कार्यक्रममा मुन्दुमी गीत, च्याब्रुङ नाच, साकेला नाचहरु प्रस्तुत हुनेछन् ।

कार्यक्रमा संस्थाका सदस्य पवन राईलाई मरणोपरान्त सम्मान गरिने भएको छ भने, किराँत राई यायोख्या शिवसताक्षीलाई विभिन्न समयमा सहयोग गर्ने विना राईलाई सम्मान गरिने सचिव मिलन राईले जानकारी दिए ।

बृहत सांस्कृतिक सहितको उभौली पर्व सम्पन्न गर्न १० लाख लागतको अनुमान गरिएको उभौली साकेला पर्वका संयोजक पदम राईले बताए । उनले शिवसताक्षी नगरपालिका, संस्थाको कोषमा रहेको रकम र साथीभाईको सहयोगबाट कार्यक्रम सपन्न गरिने जानकारी दिए ।

कार्यक्रममा किराँत राई यायोख्या जिल्ला सदस्य साने राईले बहुजाती, बहुधार्मिक र बहुसाँस्कृतिक रहेको समाजमा बसकेको किराँत राई जातिले यस पर्वलाई आफ्नो पर्वको रुपमा नलिई सबै जाति, धर्म र संस्कृति रहेका समुदाय रहेको बताए । उभौली पर्व मनाउने उनले सबैलाई निमन्त्रणा गरेका थिए ।

कार्यक्रम दुई चरणमा गरिने भएको छ । विहान १० बजेदेखि मुन्दुमी पुजा, साकेला नाच लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ भने, दिउँसो २ बजे पछि राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलन किराँत राई यायोख्या शिवसताक्षीका अध्यक्ष पर्शुराम राईको अध्यक्षतामा भएको थियो ।

उभौली पर्व प्रत्येक वर्ष बैशाख पूर्णिमा देखि किराँती रितीअनुसार भूमीको पूजा गरी मनाउने प्रचलन रहेको छ । किराँत समुदायले साकेला शिलि नाच्दै १ महिना सम्म मनाउने गर्छन। किरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समय बुद्धजयन्ती अर्थात बैशाख पुर्णिामा उभौली र अन्न वाली पाकिसकेपछि खुसीयाली मनाउदै उधौली (मंसिरे पूर्णिमा) विशेषरूपले खुसीयाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेका छन् ।

प्रकाशित मिति : बैशाख २३, २०८२ मंगलबार  ६ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]