मेची ग्यास उद्योगमा मेन्टिनेन्स जारी, ५० प्रतिशत मात्रै उत्पादन
बिर्तामोड । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको खनाल स्टोरले मेची ग्यास नदिएपछि विवाद भएको छ । उपभोक्ताले ग्यास भएर पनि व्यापारीले नदिएपछि आक्रोस पोखेका थिए । ग्यास भएर पनि नदिएपछि आज साँझ केहिबेर विवाद भएको थियो ।
विवाद लगत्तै पुगेको बिर्तामोड –३ का वडा सदस्य हरि बाँस्कोटासहित प्रहरी टोलीले विवाद साम्य बनाएको थियो । ग्यास दिने सहमतिपछि विवाद अन्त्य भएको हो । खनाल स्टोरले खातामा नाम लेखाएका उपभोक्ताहरुलाई मात्र दिने भनेपछि विवाद भएको थियो । ग्यास उद्योगमा मर्मत चलिरहेकोले पर्याप्त उत्पादन नहुँदा समस्या आएको व्यापारीहरुको भनाई छ ।
मेची ग्यास ५० प्रतिशत कम उत्पादन भइरहेको सञ्चालक मास प्रसाईले जानकारी दिए । मेची ग्यास इन्डष्ट्रिजले १५ दिनदेखि उद्योग मर्मतको काम गरिरहेकोले उत्पादन घटाइएको प्रसाईको भनाई छ । उद्योगको मेन्टिनेन्स र नयाँ मेसिन जडानको काम चलिरहेकोले पूर्ण रुपमा उत्पादन गर्न मिल्दैन, उनले भने, ‘अझै एक हप्तासम्म उत्पादन यस्तै हुन्छ । त्यसपछि मात्रै पूर्ण रुपमा उत्पादन गरेर बजार सहज बनाउन सकिन्छ ।’
मर्मत कार्य चलिरहेका कारण दैनिक १५-१६ सय सिलिण्डर मात्रै रिफिल गर्न सकिने बताए । यसअघि दैनिक ३ हजार सिलिण्डर रिफिल गरिन्थ्यो, उनले भने, ‘ग्यासका बुलेट राख्ने ठाउँ नभएर समस्या छ, ग्यास अभाव भएको होइन, रिफिल चाँही कम भएको सत्य हो ।’
बिर्तामोडमा २-२ दिनमा ७० सिलिण्डर राख्ने व्यापारीहरुलाई हप्तामा ७० सिलिण्डर पठाइरहेको बझिएको छ ।