बिर्तामोडका मेलमिलापकर्ताहरुलाई लेखनसीप प्रदान
बिर्तामोड, २८ बैशाख : मेलमिलापकर्ताहरुलाई न्याय सम्पादनमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालित चार दिवसीय लेखनसीप कार्यशाला बिर्तामोडमा सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा लेखनसीप सम्पन्न भएको हो । बिर्तामोड नगरपालिकाका मेलमिलापकर्ताहरु सहभागी भएको लेखनसीपमा झापा जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकेशरी पोखरेल, झापा बारका अध्यक्ष बसन्त नेपाल र अधिवक्ता कोपिला अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
वडा तहसम्म रहेका मेलमिलापकर्ताहरुलाई कार्यक्रममा लिखतका प्रकार, कानुनी व्यवस्था, मस्यौदा, निवेदनको ढाँचा, लेनदेन, कारोवार, बैनाबट्टा, जाहेरी, करारनामा, संयुक्त दरखास्त, मिलापत्र र वारेनामा लगायतका लिखतहरुमा सहजीकरण गरिएको थियो ।
गत बिहीवार नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक नगेन्द्र प्रसाद संग्रौलाले शुभारम्भ गरेको कार्यक्रमको नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले मेलमिलापकर्ताहरुको क्षमता विकासमा नगरपालिकाले जोड दिएको बताउनुभयो । वडा तहसम्म मेलमिलापलाई प्रभावकारी बनाउन मेलमिलापकर्ताहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले मेलमिलापकर्ताहरुलाई लेखनसीप समेत प्रदान गरेपछि लिखतका समस्याहरु पनि समाधान हुँदै जाने बताउनु भयो ।
न्यायिक समितिका सदस्य खडानन्द निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुको तर्फबाट लिलरुपा श्रेष्ठ, ओमभक्त सेंडाई, लक्ष्मी प्रसाद गौतम लगायतले कार्यक्रम प्रभावकारी भएको धारणा राख्नुभएको थियो । सहभागीहरुलाई प्रमुख अतिथि नगर प्रमुख प्रसाईले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।