जेष्ठ २, २०८२ बिहीबार

गौरीगञ्जबाट लागुऔषधका ठुला कारोवारी कारसहित पक्राउ

बिर्तामोड । झापाको गौरीगञ्जबाट प्रहरीले लागुऔषधको ठुलो कारोवार गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्लाष्टिक बाहेक १००.०९० ग्राम ब्राउनसुगर, एउटा कार र २ लाख ४३ हजार ५ सय रुपैयाँ नगद बरामद गरिएको झापा प्रहरीले जनाएको छ ।

बुधबार साढे ५ बजे भारतीय मोटरसाइकलमा गौरीगञ्ज आएका किसनगञ्ज जिल्ला खनियाबा ७ फुलबरियाका १९ वर्षीय मोनाजिर आलमलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो । उनको साथमा रहेको मोवाइल चेक गर्ने क्रममा लागुऔषध पठाएको भिडियो प्रहरीले भेटेपछि खोजतलासको क्रममा किसनगञ्ज जिल्ला खननियाबाद ५ फत्तेपुर बस्ने ५८ वर्षीय भोला ठाकुरसँग रहेको भन्ने सूचना पाएको थियो । प्रहरीले ठाकुरलाई खोजतालास गर्ने क्रममा झापा गौरीगञ्ज ३ बाट लागुऔषध ब्राउन सुगरसहित नित्राजेपाम १०० ट्याब्लेट, कमोडिनफोस्फेट नाम सिरप २ बोतल बरामत गरेको थियो ।

उक्त लागुऔषध खरिद गर्न आउने दमक नगरपालिका वडा नं.५ बस्ने संजय भन्ने भुपेन्द्र राईलाई गौरीगञ्ज गाउँपालिका वडा नं. ०३ मा ना १ च ९१६२ नं को कारभित्र बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ ।

उनले लागुऔषध खरिद गर्न बोकेको २ लाख ४३ हजार ५ सय रुपैयाँ र साथमा भएको आईफोन मोवाईल २ थान, कारभित्र लागुऔषध नापतौल गर्न प्रयोग गर्ने डिजिटल तराजु १ थान सहित फेला पारी लागुऔषध नगद, तराजु उक्त नम्वरको कार, मोटरसाईकल र मोवाईल समेत बरामद गरी तिनै जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २, २०८२ बिहीबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]