झापाबाट बैशाखमा ७ जनालाई गैरआवासीय नागरिकता, ९५ लाख राजश्व संकलन
बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले बैशाख महिनामा ११ सय ३८ जनालाई वंशजको आधारमा नयाँ नागरिकता वितरण गरेको छ । वैवाहिक अंगिकृत नागरिकता ३९ र गैर आवासीय नागरिकता ७ जनालाई वितरण गरेको हो ।
एक महिनामा १ हजार ६० जनालाई नागरिकताको प्रतिलिपि लिएका छन् भने ७३ जना नावालकको परिपत्र वितरण गरिएको छ । प्रशासन कार्यालयले १७३३ वटा राहदानी वितरण गरेको छ भने १७६३ वटा राहदानी आवेदन संकलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।
३८१३ जनाको राष्ट्रिय परिचय पत्र संकलन गरिएको छ भने ४७४९ जनालाई वितरण गरिएको जनाइएको छ । प्रशासन कार्यालयका अनुसार बैशाख महिनामा ९५ लाख २४ हजार ३२० रुपैयाँ राजश्व संकलन भएको छ । त्यसमध्ये राहदानी शुल्क मात्रै ९२ लाख ८० हजार रुपैयाँ रहेको जनाइएको छ ।