राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनमा २ हजार प्रतिनिधि
काठमाडौं, १ जेठ । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको १० औँ केन्द्रीय महाअधिवेशन जेठ ९ देखि ११ गतेसम्म पर्यटकीय नगरी पोखरामा हुँदै छ । महाधिवेशनको पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
संगठनको नयाँ नीति र नेतृत्व चयन गर्ने यो महाधिवेशनलाई महत्वको साथ हेरिएको छ । राजनीतिक अधिकार र लोकतन्त्र प्राप्तिका आन्दोलनमा लडेका सो संगठनको अबको लडाई देशको आर्थिक विकास र समृद्धिमा केन्द्रित हुने संगठनका उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसी बताउनुहुन्छ ।
संगठनको दशौँ महाधिवेशनले यसमा नै केन्द्रित भएर छलफल र निर्णय गर्ने उहाँले बताउनुभयो । ‘अब देशमा कसैले खोस्न नसक्ने लोकतन्त्र स्थापित भएको छ, अब गणतन्त्रलाई सुदृढ गर्ने र लोकतन्त्रलाई परिपूर्ण बनाउने अभियानमा हामी लाग्छौँ’,उहाँले भन्नुभयो ।
हिजो अधिकारको लागि कुर्बानी गर्न तयार भएका राष्ट्रिय युवा संघका नेता कार्यकर्ता अब नवनिर्माणको काममा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘अबको युग कुर्वानको होइन, अबको युग राष्ट्र निर्माणको हो, अबको युग नवनिर्माणको हो भन्ने सन्देश हामी दिन्छौँ’, केसीले भन्नुभयो ।
समृद्ध नेपाल, सुखी नेपाली निर्माणको लागि नव नेपाल निर्माणको अभियानमा युवालाई जुट्ने सन्देश दिन महाधिवेशन सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । हिजो स्वतन्त्रता सेनानीको रूपमा लडेका राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ता अब राष्ट्र निर्माताका रूपमा अघि बढ्ने उहाँको भनाइ छ । ‘अब हामी समाजवादको कर्मी मौरीको रूपमा स्थापित हुन्छौँ, राष्ट्रिय युवा संघ नेपाल समाजवादको प्रचारक मात्र होइन, समाजवादको निर्माताको रूपमा स्थापित हुन्छ, संगठनलाई उत्पादनसँग जोड्न सिपयुक्त कार्यकर्ता बनाउने अभियानमा हामी लाग्छौँ’, केसीले भन्नुभयो ।
उहाँले राष्ट्रिय युवा संघ नेपाललाई एउटा सिप घरको रूपमा विकसित गर्ने योजना महाधिवेशनले बनाउने उहाँले जानकारी दिनुभयो । ‘राष्ट्रिय युवा संघ नेपाललाई आफैँमा एउटा कोसेली घरको रूपमा स्थापित गर्दै सबै युवालाई उद्यममा जोड्ने गरी हामी कार्यक्रम बनाउँछौँ, चन्दा उठाउने युवा होइन, सबैभन्दा धेरै राजश्व तिर्ने युवा, उद्यमी युवा बनाउने अभियानको नेतृत्व राष्ट्रिय युवा संघ नेपालले गर्ने उहाँले बताउनुभयो’, केसीले भन्नुभयो ।
महाधिवेशनको व्यवस्थाको काम तीव्र गतिमा अघि बढेको उहाँले जानकारी दिनुभयो । महाधिवेशनमा जानेको लागि खानाको व्यवस्थापन संगठनको गण्डकी प्रदेश कमिटी र कास्की जिल्ला कमिटीले गर्ने उहाँले बताउनुभयो । देश भरिका करिब २ हजार प्रतिनिधिले महाधिवेशनमा भाग लिने केसीले जानकारी दिनुभयो । सबै प्रतिनिधिलाई क्युआर सिस्टमको प्रतिनिधि कार्ड वितरण गरिने केसीले बताउनुभयो ।
महाधिवेशन पूर्व नै सबै जिल्लाका अधिवेशन गर्ने निर्णय भएकोमा केही जिल्लामा अधिवेशन गर्न बाँकी रहेकाले ती जिल्लामा कार्यकारी पदमा बसेका जिल्ला अध्यक्ष बाहेक सबै जिल्लामा जिल्ला अधिवेशन आयोजक कमिटी बनाइएको उहाँले बताउनुभयो । अध्यक्ष कार्यकारी वा दोहोरो जिम्मेवारीमा रहेका जिल्लामा सबैभन्दा वरिष्ठलाई संयोजक बनाएर जिम्मेवारी तोकिएको केसीले जानकारी दिनुभयो । प्रतिनिधि छनोट कार्य पनि निर्विवाद रूपमा करिब सबै जिल्लामा सकिएको केसीले बताउनुभयो ।
महाधिवेशनको लागि प्रचारको काम पनि सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । ७७ वटै जिल्लामा ब्यानर राख्ने, सामाजिक सञ्जाल मार्फत प्रचार गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
जनपरिचालक लागि पार्टीका महासचिव शंकर पोखरेलको उपस्थितिमा पोखरामा बैठक भएको र त्यसले विभिन्न निर्णय गरेको उहाँले बताउनुभयो । अधिवेशनलाई भव्य रूपमा सफल बनाउन विभिन्न उपसमिति बनाएर काम भइरहेको उहाँले जानकारी दिनुभयो । ‘हामी महाधिवेशनको करिब अन्तिम तयारीमा पुगेका छौँ’, उहाँले भन्नुभयो ।
अधिवेशनमा विभिन्न देशबाट पनि विदेशी पाहुनाहरू आउने उहाँले जानकारी दिनुभयो । २२ वटा देशका युवा संगठनका नेताहरूलाई उद्घाटन कार्यक्रममा पाहुनाका रूपमा आमन्त्रण गरिएको केसीले बताउनुभयो ।