महाभारामा साकेलाथान निर्माण धमाधम
बिर्तामोड । झापाको गौरीगञ्ज – १ महाभारामा साकेलाथान निर्माण भइरहेको छ । हरेक वर्ष साकेला नृत्य गर्दै आएका महाभाराका किरात समुदायले साकेलाथान निर्माण गरिरहेका हुन् ।
स्थानीय डम्बर बहादुर राईको परिवारले १५ धुर जग्गा उपलब्ध गराएपछि गत वर्षदेखि खेलमैदान नजिकै साकेला नाच प्रस्तुत गर्न थालिएको प्रकाश राईले जानकारी दिए । ०५२ सालमा कमल खोला नजिकै स्थानीय कालिबहादुर राईको अगुवाईमा साकेलाथान निर्माण गरिएको थियो । गत वर्षदेखि खेलमैदान नजिकै स्थापना गरिएको साकेला थानमा पुजा गर्न थालिएको प्रकाश राई बताउँछन् । जेठको दोस्रो साता साकेला थानमा किरात समुदायले साकेला नृत्यसहित पुजा गर्ने बताइएको छ ।
कोशी प्रदेश सरकारको ५ लाख र वडा कार्यालयको १ लाख रुपैयाँ सहयोगमा साकेला थान, घेरावाराको निर्माण भइरहेको छ । सोकला थान निर्माणमा स्थानीय युवाहरुले श्रमदान गरिरहेका छन् ।