बैशाख ८, २०८१ शनिबार

अर्जुनधारा सेरोफेरो : पूर्वाधार निर्माणले बद्लिदैछ अर्जुनधारा

झापाको अर्जुनधारा नगरपालिका पूर्वाधार विकासमा सक्रिय छ । स्थानीय तह पुन : संरचानापछि नगरपालिकाले पूर्वाधार विकासमा फड्को मारेको यहाँ निर्मित संरचनाले स्पष्ट छ ।
नेपाली राजनीतिमा २०५२ फागुन १ देखिको दीर्घकालिन जनयुद्ध र २०६२/०६३ को १९ दिने जनआन्दोलन पछि भएको राजनीतिक परिवर्तनका कारण यहाँ भएका पुराना भौतिक संरचना पुननिर्माणका साथै नयाँ संरचनाहरु निर्माणकार्य धमाधम भईरहेका छन् । राजनीतिक परिवर्तनसँंगै विकासका पूर्वाधार निर्माणमा पनि नगरपालिकाले उल्लेख्य प्रगति गरिरहेको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक, विजुली, खानेपानी तथा भवन निर्माणमा विशेष योजना सहित लागेको पाइन्छ ।

के–के भए निर्वाचनपछि

अर्जुनधारा नगरपालिकामा निर्वाचनका बेलामा जनतासँग गरेका प्रतिबद्धता जनप्रतिनिधिहरुले पुरा गरी रहेका छन् । जनताको रगत र पसिनाले स्थापित गणतन्त्र र संघीयतालाई संस्थागत विकासका लागि जनप्रतिनिधिहरु जनताको अतिआवश्यक पूर्वाधार विकास गरेर नै जनता सामु लोकप्रिय बन्दै गएका छन् । जनताको मनमटुमा बस्न नगरपालिकामा जनतालाई आवश्यक शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विजुलीको माग पुरा हुँदै गएको छ ।

निर्वाचन पछि नगरपालिको अति विकट वडा नं. २ को सहकालेमा सडक तथा विजुलीको माग पुरा गरेको नगरपालिका उपप्रमुख कमला आचार्य खतिवडाले बताईन् । अति विपन्न परिवारलाई घर समेत निर्माण गरिएको उनको भनाई छ । नगरपालिकाले हालसम्म आर्थिक वर्ष २०७४÷०७५ मा कालो पत्रे ३ किमी, झोलुङगे पुल १, कल्भर्ट ५४, सडक ग्राभेल ५० किमी, बिद्युत बिस्तार ३०० थान, सिंचाई १०० बिगाहमा र ७ वटा भवन तथा मठमन्दिर निर्माण गरेका थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा कालो पत्रे २.७ किमी, झोलुङ्गे पुल २, कल्भर्ट २७ वटा, सडक ग्राभेल १०० किमी, बिद्युत बिस्तार ४८० थान, सिंचाई ५० बिगाहमा र ३२ वटा भवन तथा मठमन्दिर निर्माण गरेका थियो । यसैगरी १२ किमी खानेपानी पाईप विस्तार, २८ वटा ट्युवेल, २५० वटा हिम पाईप, २ किमी ढल तथा २ किमी माटोको ड्याम निर्माण गरेको थियो ।

नगरपालिकाले जनता मावि, सिंहदेवी मावि, गणेश मावि, शशंकाराचार्य वेद विद्यापिठ, सरस्वती मावि, शनिश्चरे क्याम्पस लगायतका शैक्षिक संस्थाहरुमा भौतिक निर्माण गरेको छ । यी शैक्षिक संस्थाहरुमा भवन निर्माण भएपछि भौतिक रुपमा विद्यालयमा सहज भएको छ । त्यस्तै गरी नगरपालिकामा रहेका तिनवटा स्वास्थ्य संस्थाबाहेक ८ वटा वडामा खोप केन्द्र्र स्थापना गरेको छ ।

स्थानीय तह पुनःसंरचना पछि वडा नं.१, २, ४, ५, ६ ९, १० र ११ मा स्वास्थ्य संस्था स्थापना पछि आफ्नै भवन निर्माण सम्पन्न गरी राख्न सफल भएको उपप्रमुख आचार्यको भनाई छ । त्यस्तै गरी वडा नं. ८, ४, ५, १० र ११ मा सामुदायिक भवन समेत निर्माण गरिएको छ ।

नगरपालिकाले सिस्ने साधुटार खानेपानी, सहकाले–खुदुनाबारी खानेपानी, कैदले डिप वोरीङ र शनिश्चरे खानेपानी मर्मत संहार गरेर जनताका घरघरमा खानेपानी पुर्याउन सफल भएको छ । नगरपालिकाको अर्को ढठुलोे खानेपानी आयोजनामा कालिकास्थान खानेपानी निर्माणाधिन रहेको नगरपालिकाको योजना शाखाले जनाएको छ । पछिल्लो समय शनिश्चरे खानपानीमा वर्षको समयमा समस्या आउने गरेका कारण यो वर्षबाट मर्मत गरेर समस्या सामधान गर्न लागिएको नगर उपप्रमुख आचार्यको भनाई छ ।

नगरपालिकाका अधिकांस वडा कार्यालयहरु भाडामा चलाईएका कारण समस्या रहि रहेका अवस्थामा केही वडा कार्यलयहरु आगामी वर्षदेखी आफ्नै भवनमा सर्ने बताईएको छ । हालसम्म वडा नं. १, २, ४, ५, ६, ९, १० र ११ का कार्यलयहरु भाडामा संचालन भर्ई रहेका छन् । वडा नं. २, ६ र ११ मा निर्माण धमाधम भई रहेका कारण यो आर्थिक वर्ष देखि आफनै भवनमा कार्यलय सार्ने गरी काम अघि बढाइएको छ । जनताको चासो र विकासको मुलढोका नै पूर्वाधार विकास भएका कारण नगरपालिकाका विभिन्न स्थानमा सडक, पुल, खानेपानी तथा अन्य विकासका पूर्वाधार तयार गरी निर्माण गर्नका लागि आफुहरु अग्रसर रहेको उनको भनाई छ ।

पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले एक वर्षमा दुई लाख आन्तरिक पर्यटक भित्राउने सोच बनाएको छ । पूर्वको पशुपतिका नामले परिचित अर्जुनधारा जलेश्वर धाम, बौद्ध गुम्वा, शंकराचार्य बेदविद्यापिठ, सिंह वाहिनी अर्जुनधाराका धार्मिक पर्यटकीय स्थान हुन भने हलुवागढ सिमसार क्षेत्र, सालबारी सिमसारक्षेत्र, भुटानी शरणार्थी स्मृतिपार्क नगरका पर्यटकीय गन्तब्य हुन् ।

नगरपालिका भित्र रहेको तर आज सम्म गुमनाम रहेको सहकाले झरनालाई नगरले पर्यटकीय क्षेत्र बनाउनका लागि पूर्वाधार निर्माणका लागि योजना बनाएको नगरपालिकाले जनाएको छ । सहकालेमा पर्यटक भित्राउन वडा नं. २ मा रहेको साठिमुरेमा बुद्धमुर्ति स्थापनाका लागि डिपिआर तयार भएको र अबको केही समयमा काम सुरु हुने बर्ताइएको छ ।

संघीय तथा प्रदेश सरकारको योजना कार्यान्वयनमा नगरपालिकाले जनता आवास कार्यक्रम अन्तरगत गत वर्ष २७ वटा घर निर्माण गरेको थियो । यो वर्ष नगरपालिका भित्र रहेका विपन्न तथा गरीबहरुको ३० वटा घर सोही कार्यक्रम अनुरुप निर्माण थालेको छ ।

नेपाल सरकारकोे तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत वडा नं. १ र ३ मा सामुहिक भवन समेत निर्माण हँुदै गरेको छ । नगरपालिका भित्र पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि अर्जुनधारा जलेश्वर धाम प्रवेशका लागि शनिश्चरे चोक देखी मन्दिरसम्म सडकमा विभिन्न धार्मिक प्रतिविम्व सहितका मुर्तिहरु स्थापना गरेर सडकमा ईटा विछ्याउने काम सम्पन्न भएको छ । अझै केही मुर्तिहरु स्थापना हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको महत्वपूर्ण योजनाका रुपमा रहेका भित्रि तथा बाहिरी चक्रपथ छन् । कुल ५२ किमी सडक बनाउनु पर्ने बाहिरी चक्रपथ आगामी वर्षमा निर्माण सुरु गरिने छ । बाहिरी चक्रपथ झापाकै एउटा उदाहरणीय चक्रपथ बन्ने बताइन्छ । त्यस्तै गरी वडा नं. ५, ६, ७, ८ र ९ मा भित्रि रिङरोडको निर्माण कार्य केही किमी मात्र बाँकी रहेको जनप्रतिनिधिहरु बताउँछन् ।

नगरपालिकाले विभिन्न खोला तथा खोल्साहरुमा कल्भर्ट निर्माण गरी सवसाधरणको आवागमनमा सहज बनाएको छ । वडा नं. ३ स्थित पग्ला पुलको उद्घाटन गरिएको छ । प्रदेश सांसद कोषबाट ११ लाख, अर्जुनधारा नगरपालिकाबाट २१ लाख र स्थानीय जनश्रमदानबाट ४ लाख ६ हजार ७६६ गरी कुल ३६ लाख ६ हजार ७६६ रुपैयाँको कुल लागतमा पुल निर्माण गरिएको छ । कतिपय स्थानमा झोलुङ्गे पुल निर्माण गरी सर्वसाधरणलाई सहज बनाइएको छ ।

यो वर्ष नगरपालिकामा ३४१ वटा योजनाहरु वडास्तरीय सिफारिस भएका थिए भने ६२ वटा नगर स्तरीय योेजनाहरु रहेका छन् । हालसम्म वडा स्तरीय ७५ वटा सम्पन्न भई सकेका छन् भने ५१ वटा नगरस्तरीय सम्पन्न भई सकेका छन् ।

बजार व्यवस्थित गर्दै अर्जुनधारा

अर्जुनधारा नगरपालिकाले शनिश्चरे बजारलाई व्यवस्थित बनाउन लागि परेको छ । नगरपालिकाको सौन्दर्यता बढाउनका लागि अस्तब्यस्त शनिश्चरे बजारलाइ ब्यवस्ति गर्न नगरले काम गर्दै आएको छ ।

शनिश्चरे बजारको ब्यस्त देखिने चोकदेखि अर्जुनधारा मन्दिर परिसरसम्म र नगरपालिकाको कार्यलयसम्म पुग्ने सडकलाई बजार सौदर्यीकरण अन्तर्गत सडकमा टायल विच्छयाउने कार्य धमाधम भई रहेको छ । नेपाल सरकारको ५० लाख अनुदानमा बजारको सौदर्यता बढाउने कार्य धमाधम भई रहेको छ ।

यो कार्यका लागि जलेश्वरधामसम्म पुग्ने मुल सडकमा धार्मिक तथा ऐतिहासिक रथ तथा मुर्तिहरु निर्माण गर्ने कार्य समेत भई रहेको छ । हालसम्म अर्जुनले वाण प्रहार गर्न लागेको एउटा रथको निर्माण कार्र्य सम्पन्न भई सकेको छ । झापाकै सबै भन्दा पुरानो शनिश्चरे बजार र यहाँभित्र रहेको अब्यवस्थित सब्जी बजारलाई नगरपालिकाले बाह्रदशी खोला छेउमा स्थानान्तरण गरी ब्यवस्थित बनाउन तयारी गरिरहेको छ ।

शनिश्चरे बजारभित्र रहेको तरकारी बजारलाई स्थानान्तरण गर्नका लागि प्रदेश सरकारको २ करोड ४० लाख आर्थिक अनुदानमा भौतिक संरचना धमाधम निर्माण भई गरिदैछ । २०७५ सालमा निर्माण कम्पनीले दुई वर्षमा काम सम्पन्न गर्ने गरी निर्माण सुरु भएको भौतिक संरचनाको हाल सम्मको प्रगति हेर्दा समयमै सम्पन्न हुने देखिएको वडा नं. ८ का वडा अध्यक्ष गोपी चन्द गौतमले बताए । अब स्थानान्तरण गरेपछि तरकारी बजार सुविधा सम्पन्न हुने उनको भनाई छ । समयमै भौतिक संरचना निर्माण भएर बजार स्थानान्तरण भएमा शनिश्चरे बजारको स्वरुप नै बदलिनेछ ।

बजार व्यवस्थित गर्नका लागि बजार आसपासका सडकहरुलाई ढल सहितको निर्माण कार्य भई रहेको र वडा नं. ८ को शनिश्चरे देखि खुदुनाबारी, जयपुर, विर्तामोड र भाङबारी जाने सडकहरु धमाधम निर्माण कार्य समेत भएको वडा अध्यक्ष गौतमको भनाई छ । उनले शनिश्चरे–खुदुनाबारी र शनिश्चरे–विर्तामोड सडक ठेकेदारले निर्माण गर्देै गरेको, अर्जुनधारा जलेश्वरधामसम्म बजार सौन्दर्य कार्यक्रम अन्तर्गत सडकमा टायल विच्छ्याईएको र शनिश्चरे–जयपुर बुधबारे सडकमा केही समस्या आएका कारण निर्माणको चरणमा रहेको बताए ।

नगरपालिकाले सुन्दर अर्जुनधारा र समृद्ध अर्जुनधारावासी भन्ने मुल नारालाई सार्थक बनाउन अन्यत्र रहेका तरकारी बजारलाई समेत ब्यवस्थित बनाई रहेको छ । अर्जुनधारा १ मा रहेको मंगलबारे बजार, वडा नं. ३ खुदुनाबारीमा रहेको आईतबारे बजार लगायतका बजारहरुलाई ब्यवस्थित बनाउन नगर सक्रिय भएको छ ।

नगरपालिकाले नगरपालिकाको प्रमुख ब्यापारीक केन्द्रका रुपमा रहेको शनिश्चरे बजारलाई विगतमा भन्दा निर्वाचित जनप्रतिनिधि आई सकेपछि विकासको अनुभुति गर्न पाएको स्थानीयहरु बताउँछन् । अर्जुनधारामा रहेका ९५ प्रतिशत नागरिक कृषिमा आत्मनिर्भर रहेका कारण यहाँ उत्पादन गरिएको कृषि उपज अन्यत्र पुर्याउनका पनि बिभिन्न स्थामा चिस्यान केन्द्र्र स्थापना गरी उत्पादन सड्नबाट जोगाउनु पर्ने देखिन्छ ।

समृद्ध अर्जुनधारा

कसरी बन्छ त समृद्ध अर्जुनधारा ? चर्चा सुरु गरौ समृद्ध नगरपालिकाको कसरी बनाउन सकिन्छ भनेर । पूर्वको पशुपति भनेर चिनिने अर्जुनधारा जलेश्वरधामलाई धार्मिक पर्यटकीय स्थान बनाई पर्यटन प्रवर्धन सकिन्छ । अर्जुनधारा नगरपालिकामा अवस्थित यो धाममा शिव, विष्णु र अन्य देवताको पूजाआजा गर्नेको जहिल्यै भीडभाड भइरहन्छ ।

खासगरी महाशिवरात्रि, बालाचतुर्दशी, कृष्णजन्माष्टमी, माघे सङ्क्रान्ति आदि अनेक पर्वमा अत्यन्त घुइँचो हुनका साथै साउन महिना भरी मेला लाग्ने पनि गर्दछ । जाँड रक्सी र धुम्रपान समेत निषेधित गरिएको अर्जुनधारा क्षेत्र परिसर भित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी छ भने यसको बीचमा अर्जुनले गाईलाई पानी ख्वाईरहेको मूर्ति स्थापित गरिएको छ । सात कुने उक्त पोखरीको दक्षिण तर्फ पञ्चधातुबाट निर्मित ५ वटा धाराहरू छन् जसबाट निरन्तर चिसो पानी बगिरहन्छ भने पोखरीभित्र विभिन्न जातका माछाहरू पाइन्छन् ।

२०५५ सालको हुलाक टिकटमा समेत चित्रांकित अर्जुनधारा क्षेत्रमा प्रत्येक वर्ष लाखौं स्वदेशी तथा भारतीय तीर्थ यात्रीहरूले भ्रमण गर्ने गरेको पाइन्छ । यो धाम पूर्वीय दर्शनमा आधारित एवं संस्कृत शिक्षाबाट प्रभावित रहेको हँुदा हिन्दुहरुको बिशेष महत्वको स्थान मानिन्छ । यसलाई प्रचार प्रसार गरेर यहाँ आन्तरीक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सके अर्जुनधारालाई समृद्ध नगर बनाउन टेवा पुग्ने देखिन्छ ।

अर्जुनधारा नगरपालिकाबाट ईलामको रोङ गाउँपालिका निस्कने सडक लगाएतका नगरपालिका भरीका सडकहरुलाई ग्राभेल तथा कालो पत्रे गरे यहाँ आउने सर्वसधरण सहज र सरल तरिकाले यात्रा गर्न पाउने थिए ।

नगरपालिकाले नगरभित्रै भएका सडक र नगर बाहिर जानका लागि निर्माण गरिएका सडकहरु स्तरउन्नति गर्न पहल गरे जनप्रतिनिधिहरुको जनविश्वास समेत बढ्ने देखिन्छ । जनप्रतिनिधिहरुले जनताको गुनासो सुनेर बर्षमा हिलो हुने र हिँउदमा धुलाम्यै हुने सडकमा ध्यान दिन सक्नुपर्छ ।

सुखानी शहिदपार्क यही नगरपालिकाभित्र पर्छ । यतिबेला शहिद स्तम्भ भएको सहिद पार्क निर्माणसँगै नगरपालिकाले कछुवा संरक्षण समेत थालेको छ । नेपाली क्रान्तिका अग्रज बीर योद्धाहरुको सालिक र आसपासका क्षेत्रमा बिशेष योजनाका साथ काम गर्न थाले पनि नगरपालिकाले शहिद स्तम्भसम्म पुग्ने सर्वसाधरण तथा नेपली क्रान्तिको चासोका साथ त्यहाँ पुग्नेहरुले सुखानीका शहिदहरुको बिषयमा केही बुझ्न समेत पाउँदैनन् । यदी नगरपालिकाले पार्कस्थलमा जनक्रान्तिका योद्धाहरु सुखानी हत्या काण्डमा हत्या गरिएका रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंसी, कृष्ण कुईकेल, नारायण श्रेष्ठको परिचय खुल्ने गरी परिचय र यो पार्कका महत्वका बिषयमा लिखित दस्ताबेज राखिदिए सबैको चासोको भोक मेटिने थियो ।

कछुवा संरक्षणमा नगरपालिकाले नै चासो दिएका कारण लोपोन्मुख कछुवाहरुलाई सालबारी पार्कमा राखिएको छ । स्थानीय किसानहरुलाई समेत कछुवा संरक्षणमा लगाउने उदेश्यका साथ किसान केन्द्रित कछुवा संरक्षण कार्यक्रम थालिएको छ । सरकारी स्वास्थ्य संस्थाहरुलाई ब्यवस्थित र विश्वासिलो बनाउँदै लैजान स्वास्थ्य संस्थाहरुलाई अनुगमन गरिने र हरेक सरकारी स्वास्थ्य संस्थाहरुलाई विश्वासिले बनाउनका लागि परिरहे पनि सरकारी स्वास्थ्य संस्थाले विशेषज्ञ सेवा उपलब्ध नगराउँदा समस्या रहिरहे पनि स्वास्थ्यमा सुधारको काम भने नभएको हैन । नगर कै पहलमा केही स्वास्थ्य संस्थामा बिशेषज्ञ सेवा उपलब्ध गराउन सके निजी अस्पतालमा जाने बिरामीलाई सरकारी स्वास्थ्य संस्थामा आकर्सित गर्न सकिन्थ्यो ।

नगर क्षेत्रमा अहिले पनि बिभिन्न स्थानमा बिद्यालय उमेरका बालबालिका बिद्यालय बाहिर रहेका छन् । बिशेष गरी बिपन्न, गरिव र दलितका छोराछोरीहरु बिद्यालय बाहिर रहेका छन् । सरकारी कामको औपचारिकता पुरा गरेर साक्षर तथा विद्यालयमा पुर्ण रुपमा बालबालिका भर्ना भएको देखिए पनि कतिपय बिद्यालय उमेरका बालबालिका बिद्यालय बाहिर नै छन् । सरकारी बिद्यालयमा अध्यापन गराउने सबै शिक्षकहरुले आफ्ना बालबालिकालाई निजी बिद्यालयमा पढाएको पाईन्छ ।

त्यस कारण सरकारी कर्मचारी र जनप्रतिनिधिका छोरा छोरीलाई सरकारी शैक्षिक संस्था अनिवार्य गराउनु पर्छ । बिपन्न, दलित तथा गरिवहरुलाई बिशेष प्राथमिकतामा राखि सबै बालबालिकालाई बिद्यालय पुर्याउन सके साँच्चै शिक्षामा समेत अर्जुनधारा समृद्ध बन्ने छ ।

किसानको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाको दुई स्थानमा तरकारी संकलन केन्द्र स्थापना गर्ने पहल भईरहेको छ । तरकारी संकलन केन्द्र स्थापना पछि नगरवासी किसानहले आफ्ना तरकारी खेतमै गाड्नुपर्ने, गाई भैसिलाई दिनपर्ने र अन्यत्रका बजारमा लगेर बेच्नुपर्ने अवस्थाबाट मुक्त हुनेछन् ।

नगरपालिकाको बिभिन्न स्थानलाई बिभिन्न पकेट क्षेत्र निर्माण गरी नगरपालिकालाई कृषिमुखी बनाउने लक्ष्य राखे यो नगर कृषिप्रधान नगर बन्ने छ । नगरपालिकाले वडा नं. २ पशु पकेट, वडा न.८ लाई कृषि पकेट क्षेत्र, वडा नं. ५ शिक्षा सुधार तथा समग्र नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लागि परिरहेका कारण आफ्नै कार्यकालमा नगरपालिकालाई समृद्ध नगर बनाउने योजनाका साथ जनप्रतिनिधि लागि परे अर्जुनधारा समृद्ध नगर पक्कै बन्नेछ ।

प्रस्तुति : सुष्मा तिखत्री

प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार  १० : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]