जेष्ठ ६, २०८२ सोमबार

रामचोक सामुदायिक वनलाई पर्यटकीय क्षेत्र बनाउन समुदाय सक्रिय

बिर्तामोड । झापाको क्षेत्रफलका आधारमा सबैभन्दा दोस्रो सानो मानिएको रामचोक सामुदायिक वन क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्न स्थानीय समुदाय सक्रिय भएर लागेको छ ।

झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडस्थित रामचोकमा रहेको सो सामुदायिक वनमा सालका रुखहरु मात्र रहेका छन् । स्थानीय समुदायले सो वन क्षेत्रलाई सालघारी पनि भन्ने गरेका छन् । स्थानीय युवाहरुको सक्रियता र सामुदायिक वनको पहलमा अहिले सो वन क्षेत्रलाई हरियाली पार्क बनाउने योजना बनाइएको सो सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला धितालले जानकारी दिए । सोही योजना अनुसार वन परिसरभित्र एउटा सुन्दर पार्क र बहुउपयोगी कार्यक्रम हल पनि निर्माणधिन रहेको छ । यसका लागि हाल वन क्षेत्रभित्र रहेको पातपतिंगर र झाडी फाँड्ने काम साप्ताहिकरुपमा भइरहेको स्थानीय युवा पंकज सिग्देलले बताए ।

सो वन उपभोक्ता समूहकोे हालै सम्पन्न २५ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट भोला धितालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि समुदायमा नयाँ जागरण पैदा भएको छ । सो उपभोक्ता समूहकोे उपाध्यक्षमा रमा घिमिरे, सचिवमा लेखनाथ खनाल, कोषाध्यक्षमा पर्शुराम बराल र सदस्यहरुमा बद्री भट्टराई, सुरेन्द्र खरेल, रुपा कोइलारा सिग्देल, बिमला निरौला खनाल, दिपक भट्टराई चयन भएका थिए ।

२ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्र २०५१ सालमा समुदायलाई हस्तान्तरण भएको थियो । सो वन क्षेत्रमा ३५ घर उपभोक्ता रहेका छन् । वनभित्र हाल एक सामुदायिक भवन सञ्चालनमा रहेको छ भने थप एक बहुउपयोगी हल निर्माण भइरहेको छ । जसका लागि सहारा नेपाल साकोस र बिताृमोड नगरपालिकाले आर्थिक सहयोग गरेको छ । सहारा नेपाल साकोसले जेष्ठ नागरिक चौतारी निर्माण अभियान अन्तर्गत बजेट उपलब्ध गराएको छ भने नगरपालिकाले भवन निर्माणका लागि रकम उपलब्ध गराएको समितिका अध्यक्ष धितालले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ६, २०८२ सोमबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]