३९ सय विद्यार्थीलाई पोसाक बाढ्दै बिर्तामोड नगरपालिका
बिर्तामोड । बिर्तामोड नगरपालिकाले सामुदायिक तथा धार्मिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई यस वर्षको पोसाक वितरण सुरु गरेको छ ।
वडा नम्बर ९ को शहीद लक्ष्मी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले २ जना छात्र र २ जना छात्रालाई पोसाक लगाईदिएर वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७८-७९ देखि हरेक वर्ष पोषाक वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष १८ वटा सामुदायिक र २ वटा धार्मिक गरि २० वटा विद्यालयका ३ हजार ९२५ जना विद्यार्थीलाई पोषाक वितरण गरिने नगर प्रमुख प्रसाईले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै उहाँले अभिभावकलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उदेशयले हरेक वर्ष विद्यालय पोषाक वितरण गर्दै आएको बताउनु भयो । विद्यार्थीहरुमा एकरुपता ल्याउन पोसाक महत्वपुर्ण रहेको भन्दै नगर प्रमुख प्रसाईले विद्यालयको गुणस्तर सुधारमा ध्यान दिन शिक्षक र अभिभावकलाई सुझाव दिनु भयो ।
यस्तै वडा नम्बर ९ का वडाअध्यक्ष हरिप्रसाद चौलागाईले अंग्रेजी माध्यमबाट पढाई हुने भएकोले सामुदायिक विद्यालय पनि नीजि विद्यालय भन्दा कम नभएको धारणा राख्नुभयो । यस्तै नगरका शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले नगरपालिकाले प्रदान गरेको पोसाकको सदुपयोगसंगै बालबालिकाको सरसफाईमा ध्यान दिन अभिभावकलाई आग्रह गर्नु भयो ।
पोसाक वितरण कार्यक्रममा कार्यपालिका सदस्य संगिता सिवा, शिक्षा शाखा अधिकृत लासाङ तामाङ, विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम भण्डारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यपक ः गुरु प्रसाद घिमिरेले गर्नु भएको थियो ।