जेष्ठ १५, २०८२ बुधबार

बिर्तामोडमा मरेका माछा नियन्त्रणमा कठिनाई

बिर्तामोड । बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले भारतबाट आयात हुने मरेका माछाको विक्री वितरण रोक्न कठिनाई भएको बताउनु भएको छ ।

नगरपालिकाले आयोजना गरेको माछापालन तथा व्यवस्थापन सम्बन्धी २ दिने तालिम समापन कार्यक्रममा बोल्दै उहाँले जिल्लाका अन्य पालिकाले मरेका माछाको आयात तथा विक्री वितरणलाई खुला छोडेका कारण बिर्तामोडमा नियन्त्रण गर्न समस्या भएको बताउनु भएको हो । बिर्तामोडमा २०७९ साल असोज ६ गते बसेको कार्यपालिकाको बैठकले भारतबाट आयात हुने अस्वस्थकर माछा विक्री वितरण गर्न निषेध गरेको थियो ।

बिर्तामोडमा अहिले विषादी हालिएका मरेका माछा प्रर्याप्त पाउने गरेको छ । उपभोक्ताले समेत स्वास्थ्यको कुनै ख्याल नगरी विषाक्त फर्मालिन हालिएका माछा खरिद गरेर खाने गरेका छन् । स्थानीय ताजा माछाको बजार भने खुम्चिएको छ । नगर प्रमुख प्रसाईले स्थानीय माछाको बजारीकरणमा जोड दिँदै आवश्यक अनुगमन गर्ने बताउनु भयो ।

तालिम समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले मत्स्य पालन व्यवसायमा विद्युतमा ठुलो खर्च आउने भएकाले यसमा सहुलियतका लागि सम्बन्धित निकायमा छलफल गर्ने बताउनु भयो ।

यस्तै तालिममा सहभागी वडा नम्बर ३ स्थित हरियाली कृषि फर्मका सञ्चालक हरिप्रसाद मैनालीले सरकारले सहुलियत प्रदान गरे बिर्तामोडलाई माछाको हव बनाउने बताउनु भयो । जिल्लामात्र नभइ कोशी प्रदेशलाई नै पुग्ने गरी माछा उत्पादन गर्न सकिने भन्दै उहाँले सिँचाईमा सहयोगको लागि आग्रह गर्नुभयो ।

आईतबारदेखि सञ्चालन भएको तालिममा नगरका २५ जना कृषकको सहभागिता थियो । तालिममा कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीबाट आउनु भएका सुरज कुमार सिंहले माछामा लाग्ने रोग, आवश्यक औषधी, माछाको वृद्धि विकास, गुणस्तरिय माछा उत्पादन लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो । तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य संगिता सिवा, पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख डा। नगेन्द्र खड्का, अधिकृत सावित्रा दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ १३, २०८२ सोमबार  १० : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]